ओमानको अकीब इलियासको शतकीय पारीसँगै नेपालको दोस्रो हार


२६ माघ २०७६, आईतवार
gayanedra malla

काठमाडौं, २६ माघ । ओमानको अकीब इलियासको शतकीय अलराउन्ड प्रर्दशनसँगै नेपालले ८ विकेटले पराजित भएको छ । आईसीसी विश्वकप लिग–२ त्रिकोणात्मक सिरिज अन्तर्गत तेस्रो खेलमा नेपालले ओमानसँग दोस्रो पटक पराजित भएको हो ।

नेपालले प्रस्तुत गरेको २ सय ५० रनको लक्ष्य ओमानले ४७.२ ओभरमा २ विकेट गुमाउँदै पुरा गर्यो । नेपालले कीर्तिमानी लक्ष्य दिए पनि नेपालको बलिङ नचल्दा पराजित भयो । नेपाललाई पहिलो खेलमा पनि ओमानसँग १८ रनले पराजित गरेका थियो । यो जितसँगै ओमान ९ खेलमा ७ मा जित र २ मा हार सहित १४ अंक जोड्दै शीर्ष स्थानमा उक्लिएको छ ।

Aqib Ilyas
अकीब इलियास ।

ओमानका लागि शतकीय पारी खेलका अकीब इलियास १ सय ८ बलमा १२ चौका र १ छक्का सहित १ सय ९ रनमा अविजित रहे । १ सय २ बलमा अकीबले आफ्नो ओडीआई करिअरको पहिलो शतक पुरा गरेका थिए । त्यसअघि करणको २५ औं ओभरको पाँचौ बलमा प्वाइन्टमा आरिफ शेखले ३७ रनमा क्याच छोड्दै अकीबलाई जीवनदान दिएका थिए । जुन जीवनदान नेपाललाई घातक बन्यो ।


यस्तै ओमानका लागि कप्तान जिशान मकसुद ७९ बलमा ८ चौका सहित ६८ रनमा अविजित रहे । तेस्रो विकेटका लागि अकीब इलियास र कप्तान जिशान मकसुदले १ सय ६७ रनको अविजित शतकीय साझेदारी गरेपछि नेपालले लज्जास्पद हार बेहोरेको हो । ओमानको ओपनर जतिन्दर सिंहलाई २३ रन र खावर अलीलाई ४१ रन बनाए ।

नेपालको लागि कुशल मल्ल र सुसन भारी एक–एक विकेट लिए । पहिलो सफलता कुशल मल्लले १२ औ ओभरको दोस्रो बलमा ओपनर जतिन्दर सिंहलाई २३ रनमा बोल्ड आउट गर्दै दिलाएका थिए । जतिन्दरले ४१ बलमा ३ चौका प्रहार गरेका थिए । शुशन भारी १९ औं ओभरको पाँचौ बलमा खावर अलीलाई ४१ रनमा बोल्ड आउट गरेका थिए । अलीले ५६ बलमा ६ चौका प्रहार गरे ।


नेपालद्धारा ओमानलाई कीर्तिमानी लक्ष्य


त्यसअघि आइतबार बिहान टीयू मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको नेपालले कीर्तिमानी लक्ष्य प्रस्तुत गरेको थियो । नेपालले ओडीआईमा विपक्ष्यलाई दिएको सर्वाधिक ठूलो लक्ष्य हो । नेपालले गतवर्ष यूएईलाई दोस्रो खेलमा २ सय ४३ रनको लक्ष्य दिएको थियो । नेपालले ओडीआई बनाएको यो दोस्रो उच्च योगफल हो । यसअघि यूएईविरुद्ध तेस्रो खेलमा नेपालले २ सय ५५ रनको लक्ष्य पुरा गर्दै ऐतिहासिक ओडीआई सिरिज जितेको थियाे ।


टस हारेर ब्याटिङ गरेको नेपालले निर्धारित ५० ओभरमा ८ विकेटको क्षतिमा २ सय ४९ रनको योगफल तयार पारेको हो । सिरिजको पहिलो खेलमा ओमानसँग १८ रनले पराजित भएको घरेलु टोली त्यसको बदला लिने योजनामा छ ।


नेपालका लागि कप्तान ज्ञानेन्द्र मल्लले सर्वाधिक ५६ रनको अर्ध शतकीय इनिङ खेले । २९ औं ओभरको पहिलो बलमा पार्टटाइम बलर अकीब इलियासले मोहम्मद नदीमबाट क्याच गराउनु अघि ज्ञानेन्द्रले ७६ बलमा ६ चौका र १ छक्का प्रहार गरे । ज्ञानेन्द्रले ७० बलमा आफ्नो ओडीआई करिअरको दोस्रो अर्ध शतक पुरा गर्ने क्रममा २५ औं ओभरको चौथो बलमा मोहम्मद नदीमलाई चौका प्रहार गरेका थिए ।

 


दोस्रो विकेटका लागि पारस र ज्ञानेन्द्रले ५९ रनको महत्वूर्ण साझेदारी गर्दै इनिङ उकासेका थिए । नदीमको २४ औं ओभरको पहिलो बलमा सट खेल्नेक्रममा पारस मिडअफमा सन्दीप गौडबाट ३८ रनमा क्याच आउट भए । पारसले ३४ बलमा ६ चौका र १ छक्का प्रहार गरे । पारस आउट भएको दुईबल पछि दीपेन्द्र सिंह ऐरी खराब सट खेल्दै विलाल खानबाट शून्यमा क्याच आउट हुन पुगे ।


दीपेन्द्र अमेरिकासँगको खेलमा पनि शून्यमा आउट हुन पुगे । पहिलो विकेटका लागि ओपनर सुवास खकुरेल र ज्ञानेन्द्र मल्लले पहिलो विकेटका लागि १४.१ ओभरमा ४८ रनको साझेदारी गरेका थिए । १५ औं ओभरको पहिलो बलमा अलराउन्डर मोहम्मद नदीमले सुवासलाई २२ रनमा एलबिडब्लू आउट गर्दै साझेदारी तोडेका थिए । सुवासले ४२ बलमा १ चौका प्रहार गरे ।


यस्तै युवा अलराउण्डर कुशल मल्लले २४ बलमा २ चौका र २ छक्का सहित २८ रनको आक्रामक इनिङ खेले । कुशललाई अकीबले ३५ औं ओभरको दोस्रो बलमा स्लिपमा खावर अलीबाट क्याच गराएका थिए । कुशलले ३२ औं ओभरको पाँचौ र छैटौ बलमा मोहम्मद सनुथलाई लगातार छक्का प्रहार गरेका थिए । छैटौं विकेट लागि आरिफ शेख र विनोद भण्डारीले ३२ रनको साझेदारी गर्दै नेपाललाई बलियो योगफल सम्म पुर्याए ।


अकीबले ४३ औं ओभरको पहिलो बलमा एलबिडब्लू आउट गर्नुअघि आरिफ शेखले ४५ बलमा १ चौका सहित २८ रन जोडे । तल्लोक्रममा विनोद भण्डारीले ४७ बलमा ५ चौका सहित ३५ रनमा रन आउट हुन पुग्गे । करण केसी १० रनमा क्याच आउट भए । सन्दीप लामिछानेले १० र कमल सिंह ऐरीले ९ रनमा अविजित रहे । ओमानका अलराउन्डर अकीब इलियासले १० ओभरमा ३६ रन खर्चेर ४ विकेट लिए । मध्य गतिका बलर मोहम्मद नदीमले ८ ओभरमा १ मेडन सहित ४४ रन खर्चेर ३ विकेट लिए । ओमानले नेपालविरुद्ध ७ बलर प्रयोग गरेको थियो ।


राष्ट्रिय टोलीमा कमलको डेब्यु
तीव्रगतिका बलर कमल सिहं ऐरीले नेपाली राष्ट्रिय टोलीमा डेब्यु गरेका छन् । कमलले आइसीसी विश्वकप लिग २ अन्तर्गत ओमान विरुद्धको खेलमा आइतबार डेब्यु गर्नेछन्। राष्ट्रिय टोलीबाट कुनै पनि प्रतियोगिता नखेली ओडआइ मार्फत डेब्यु गर्ने उनी पहिलो खेलाडी हुन्। कमललाई नेपालको २३ औं ओडीआई क्याप कप्तान ज्ञानेन्द्र मल्लले दिएका हुन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७