एनआरटीलाई हराउँदै मनाङ तेस्रो स्थानमा उक्लियो


२६ माघ २०७६, आईतवार
Manang Marshyangdi Club play Sheikh Kamal International Club Cup

काठमाडौं, २६ माघ । न्युरोड टिम एनआरटीलाई हराउँदै मनाङ मस्र्याङ्दी क्लब सहिद स्मारक ए डिभिजन लिगको तेस्रो स्थानमा उक्लिएको छ ।

आईतबार ललितपुरस्थित एन्फा कम्प्लेक्समा भएको खेलमा मनाङले एनआरटीलाई ४–१ गोल अन्तरले हराएको हो ।

पहिलो हाफमा दुई गोल गरेको मनाङले दोस्रो हाफमा थप दुई गोल गर्यो । एनआरटीले दोस्रो हाफको अन्तिम समयमा एक गोल फर्कायो । विमल रानाले ३५ औ मिनेटमा गोल गर्दै मनाङलाई सुरुवाती अग्रता दिलाएका थिए ।

अन्जन विष्टले ४३ औं मिनेटमा मनाङको अग्रता दोब्बर बनाए । ६५ औ मिनेटमा अन्जनले ब्यक्तिगत दोस्रो गोल गर्दै मनाङलाई ३–० ले अघि बढाए । खेल सकिन एक मिनेट बाँकी छदाँ सकुल रेग्मीले एनआरटीका लागि गोल गर्दै अन्तर घटाउने काम गरे । तर ईन्जुरी समयमा दया नन्द सिंहले गोल गर्दै मनाङलाई ४–१ को फराकिलो जित दिलाए ।

जित सहित मनाङ २२ अंक जोड्दै तालिकाको तेस्रो स्थानमा उक्लिएको छ । मनाङले दुई खेल अगावै आफुलाई शीर्ष ६ मा सुरक्षित गरेको छ ।

एनआरटी १५ अंक सहित तालिकाको आठौं स्थानमा छ । पछिल्लो नतिजाले एनआरटीको शीर्ष ६ मा पर्ने सम्भावना कमजोर बनेको छ ।

प्रतियोगीता अन्तर्गत सोमबार तीन खेल हुने छ । बिहान पौने नौ बजे हुने खेलमा एपीएफ र फ्रेन्ड्स क्लव भिड्नेछन् भने सवा १२ बजे सरस्वती र च्यासल भिडने छन् । त्यस्तै संकटा र मच्छिन्द्र भिड्ने छन् । सबै खेल सातदोवाटोस्थीत एन्फा ग्राउन्डमा हुनेछन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७