पतञ्जली योगपिठको यस्तो पेलाई, अर्काको घर भत्काई दिएर उल्टै ‘धम्की’


२७ माघ २०७६, सोमबार
patanjali pidit scaled

काठमाडौं, २७ माघ । ‘योग, साधना, आयुर्वेद पद्दतिमा उपचार र विश्व वन्धुत्व’ पतञ्जली योगपिठको नारा रहेको छ । यहि विश्व बन्धुत्वको सुन्दर नारा बोकेको पतञ्जली योगपिठका कारण काठमाडौं मण्डिखाटार–८ का एक परिवार भने ठूलो अन्यायमा परेका छन् ।

काठमाडौं मण्डिखाटार–८ मा पतञ्जली योगपिठको शाखा भवन निर्माणका क्रममा सँगैको घरमा ठूलो क्षति पुर्‍याइएको छ । बिना जानकारी डोजर लगाएर घडेरी खारिंदा छेउमै रहेको शोभा पौडेलको घरको ठेसवाल पूर्ण रुपमा भत्किएको छ । यस्तै डोजरको कम्पनका कारण पक्की घर समेत चिराचिरा परेको छ । लक्ष्मण पौडेलको परिवार बस्दै आएको उक्त घरको ढल निकास समेत बिना जानकारी भत्काइएको छ । सरकारी लगानीमा निर्माण गरिएको ढल पतञ्जलीले आफखुशी भत्काएको हो ।

patanjali pidit

पतञ्जली योगपिठले भवन निर्माणका क्रममा घरको ठेसवाल, ढलको ह्युमपाइप भत्काउनुका साथै घर नै चिराचिरा भएपछि अहिले जोखिममा बस्नु परिरहेको लक्ष्मण पौडेल बताउँछन् । उक्त जग्गामा योगपिठले घर बनाउने कुरा आफूहरुलाई कुनै जानकारी नदिइएको पौडेल बताउँछन् ।  अहिले योगपिठले नयाँ बनाउँदै गरेको जग्गामा रहेको  पूरानो घर भत्काउने बेला आफूलगायत अन्य छिमेकीको घरमा समेत असर पुग्ने गरी योगपिठले काम गरेको पौडेल बताउँछन् । सामान्य आँखाले हेर्दा पनि योगपिठका कारण पौडेल परिवारको घरमा क्षति पुगेको स्पष्ट रुपमा देख्न सकिन्छ ।

दुःखले बनाएको घर पतञ्जली योगपिठले बस्न नहुने गरी क्षति पुर्‍याई दिएपछि पौडेल परिवारले आफ्नो घरमा पुगेको क्षतिबारे योगपिठ सञ्जालकहरुलाई जानकारी गराए पनि पाँच महिना बितिसक्दा समेत आफूहरुको समस्या समाधानका लागि कुनै पहल नगरिएको लक्ष्मण पौडेल बताउँछन् । अहिले पतञ्जलीले आफ्नो समस्या समाधान गरिदिनुको सट्टा उल्टै धम्की दिने गरेको पौडेल बताउँछन् ।

Patanjali pidit 2

पटक–पटक योगपिठका सम्बन्धित व्यक्तिहरुलाई योगपिठको भवन निर्माणका क्रममा आफ्नो घरमा पुगेको क्षतिबारे जानकारी गराउँदा पनि वेवास्ता भएपछि पौडेलले मण्डिखाटार वडा नम्बर–८ का वडाध्यक्ष सुमन तामाङलाई समस्याबारे जानकारी गराए । वडाध्यक्ष तामाङले उक्त समय तत्काल निवेदन नदिन भन्दै आफूले पतञ्जली योगपिठसँग कुरा गरेर समस्या हल गरिदिने आश्वास दिएका थिए ।

तर, अहिले वडाध्यक्ष तामाङ्ग समेत आफ्नो वडाको नागरिकको समस्या हल गरिदिने भन्दा तर्किन थालेका छन् । पौडेल भन्छन्, ‘पतञ्जलीले पुर्‍याएको क्षतिबारे निवेदन दिन खोज्दा वडाध्यक्षले म आफै समस्या हल गरिदिन्छु भन्दै निवेदन हाल्न दिनु भएन । अहिले उहाँ पनि मेरो समस्या हल गरिदिनेमा भन्दा पतञ्जलीको पक्षमा बोल्न थाल्नु भएको छ ।’

पतञ्जलीले घरमा क्षति पुर्‍याएपछि लक्ष्मण पौडेलले पतञ्जलीका सबैलाई पटक–पटक आफ्नो समस्या राखें तर, पौडेल परिवारको समस्या ज्यूँकात्यूँ छ । पौडेल भन्छन्, ‘पतञ्जलीले भत्काएको घरका धनीसँग हामीले गरेको पुरानो सम्झौताका कागजातहरु हामीसँग छ, तर उहाँहरुले छिमेकीलाई एक वचन नसोधी डोजर चलाउँदा हाम्रो घर बस्नै नहुने भयो, डिपिसी वाल भत्काइएपछि घर भासिएको छ, ह्युम पाइप बन्द भएको छ ।’

Patanjali pidit 3

पौडेल थप्छन्, ‘यत्रो सामाजिक संस्थाले अरुको पीर मर्का बुझिदिनुको सट्टा अहिले भारतीय राजदूतले शिलान्यायस गरेको भवन हो, तपाई के गर्न सक्नु हुन्छ भन्दै उल्टै धम्कीको भाषा प्रयोग गर्नुहुन्छ ।’

कर, राजश्व तिरिरहेको वडाका अध्यक्षले समेत पटक–पटक आग्रह गर्दा पनि समस्या हल गरिदिनुको सट्टा अलमलमा पारेपछि पौडेलले नगरपालिका कार्यालयको न्यायिक समितिमा पतञ्जलीविरुद्ध उजुरी दिए ।  नगर प्रमुख उद्धव खरेल, वडाध्यक्ष सुमन तामाङ्ग र पतञ्जलीकातर्फबाट प्रशासकीय अधिकृत नारायणराज तिमिल्सिना र लेखापाल हरि भण्डारी बसेर छलफल गर्न खोजियो । तर, उक्त भेला निकास दिनेभन्दा पनि नगर प्रमुख र वडाध्यक्ष तामाङ्गबीच भनाभनमै सकियो ।

Patanjali pidit 4

तर, यति हुँदा समेत पतञ्जलीले समस्या हल गर्नुको सट्टा आफ्नो भवन निर्माणको काम भने बलमिच्याई गर्दै अगाडि बढाइ रह्यो । यसबीचमा पौडेल परिवारले पतञ्जलीको काम रोक्न लगायो । यसपछि पौडेल परिवार र पतञ्जलीबीच महाराजगञ्ज प्रहरी वृतमा एक सहमति पत्र तयार भयो ।

अन्य सबैले सहमति पत्रमा हस्ताक्षर गरे पनि पतञ्जलीका तर्फबाट भने हस्ताक्षर भएन । वडाध्यक्ष, प्रहरी प्रशासनमै भएको भेलामा छलफल गर्ने तर सहमति पत्रमा हस्ताक्षर गर्न नमान्नु र सो अनुसारको व्यवहार नगर्नु पतञ्जलीको बेइमानी भएको पौडेल बताउँछन् । 

आफ्नो घरको समस्या बारे पटक–पटक कुरा राख्दा योगपिठका अध्यक्ष शालिकराम सिंहले तपाईको समस्या समाधान हुन्छ भन्ने गरेको तर, अहिलेसम्म कुनै ठोस पहल नगरिएको पौडेल बताउँछन् ।

Patanjali pidit 5

आफूहरुको घर बस्नै नहुने गरी क्षति पुर्‍याइनु अनि प्रहरी प्रशासनले समेत आफूहरुको मर्का बुझेर पतञ्जलीलाई कारवाहीका लागि थप चासो नदिंदा आफू न्याय पाउनु पर्ने ठाउँबाट तिरस्कृत बन्नु परेको लक्षमण बताउँछन् । उनले भने, ‘पतञ्जलीले यत्रो क्षति पुर्‍याएको छ तर, पतञ्जली भवनको भुई ढलानका बेला प्रहरी नै तैनाथ गरेर काम गरियो ।’

नगरपालिकाका इन्जिनियरले पौडेल परिवारको घर र घर परिसरमा पुगेको क्षतिबारे स्थलगत अवलोकन समेत गरेको छ ।  त्यसपछि पतञ्जलीले भवन विभागका इन्जिनियरलाई समेत स्थलगत अवलोकन गरायो । तर, भवन विभागका इन्जिनियर ल्याउँदा समेत आफूलाई कुनै जानकारी नदिई सुटुक्क ल्याइएको पौडेलको भनाई छ । उनले भने, ‘भवन विभागका इन्जिनियरले पनि भवन पर्खाल नियाले, ढल हेरे र चर्किएको घर अवलोकन गरी समस्या नै औंल्याए । तर, अझै पतञ्जलीले घरमा पुगेको क्षति के गर्ने भन्नेबारे कुनै निर्णय दिएको छैन ।’

अहिले पतञ्जलीको जग हालेर ढलानको अवस्थामा काम पुगेको छ । तर, आफ्नो भवन बनाउँदा अर्काको भवन भत्काउने पतञ्जली पौडेल परिवारको समस्या र दुःख बुझने भन्दा उनीहरुलाई अलमलाउने र आफ्नो काम भने पूरा गर्ने शैलीमा अगाडि बढिरहेको छ ।

Patanjali pidit 1

पतञ्जलीले भवनको काम अगाडि बढाउँदा छिमेकका घरलाई जानकारी नै नदिई काम थाल्नु नै ठूलो गल्ती भएको बताउँदै पौडेल भन्छन्, ‘मेरो कुनै ठूलो माग होइन, मेरो घर पहिला जस्तो अवस्थामा थियो त्यस्तै भए पुग्यो । शक्तिको आडमा अब पनि पतञ्जलीले झुलाउने मात्र काम गरे आफू न्याय खोज्नका लागि सम्बन्धित ठाउँमा जाने लक्ष्मण पौडेल बताउँछन् । उनी भन्छन्, ‘सम्बन्धित नगरले न्याय दिन नसकेपछि कानूनी प्रक्रिया अनुसार अगाडि बढ्नु मेरो वाध्यता हो ।’

यता पतञ्जली योगपिठका प्रशासकीय अधिकृत नारायणराज तिमिल्सिनाले भवन संरचनामा पुगेको क्षतिलाई नै समाधान गर्न नयाँ डिजाइन तयार भइसकेको जानकारी दिएका छन् । नयाँ डिजाइनको नक्साको विषयमा औपचारिक छलफल हुन बाँकी नै रहेको बताउँदै तिमिल्सिनाले भने, ‘ मत प्रशासक मात्र भएँ धेरै कुरा थाहा हुँदैन । तर, समस्या हल गर्ने कुरामा योगपिठ गम्भिर नै छ ।’

नगरपालिकाले दिने आदेश अनुसार काम गर्न आफूहरु तयार रहेको बताउँदै तिमिल्सिनाले भने, ‘कसले क भन्यो भन्नेतिर लाग्ने भन्दा पनि आपसी समझदारीमा समस्या समाधान गर्नेतर्फ हामी सबै लाग्नु पर्छ ।’ पतञ्जलीले मण्डिखाटारमा ५० कोठाको भवन निर्माण गरिरहेको छ । नेपालका लागि भारतीय राजदूत मञ्जीबसिंह पुरीले मण्डिखाटारको उक्त योगपिठ भवनको शिलान्यास गरेका थिए । 

 

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७