ललिता निवास प्रकरणका आरोपी ढकालको घरमा विष्फोट गराउने सात विप्लव कार्यकर्ता पक्राउ


२७ माघ २०७६, सोमबार
Biplab

काठमाडौं, २७ माघ । प्रहरीले बालुवाटारस्थित ललिता निवास जग्गा हिनामिना प्रकरणका प्रमुख आरोपी शोभाकान्त ढकालको काठमाडौं जिल्ला, नागार्जुन नगरपालिका–१ स्थित ढुङ्गेधारा नर्सरी चोकमा रहेको घरमा बम विष्फोटमा संलग्न सात जना विप्लवका कार्यकर्तालाई पक्राउ गरेको छ ।

नेत्र विक्रम चन्द ‘विप्लव’ नेतृत्व नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले माघ १० गते ढकालको निवासमा बम विष्फोट गराउनुको साथै बालुवाटारमा रहेको ललिता निवासको जग्गामा बम राखेको थियो । यसै घटनामा संलग्न भएको आरोपमा उनीहरूलाई महानगरीय अपराध महाशाखाको टोलीले पक्राउ गरेको हो ।

महाशाखाका प्रमुख एसएसपी सहकुल बहादुर थापाले उनीहरुलाई यही माघ २३, २४ र २६ गते राजधानीका विभिन्न स्थानबाट पक्राउ गरेको जानकारी दिए । पक्राउ पर्नेहरूमा दैलेख जिल्ला, नारायण नगरपालिका–११ का भिम अधिकारी (रक्षक), जिल्ला कास्की पोखरा महानगरपालिकाका विष्णु प्रसाद अधिकारी (विजय), रामेछाप, खाँडादेवी गाउँपालिका वडा नम्बर १ घर भएका हरी चन्द्र खड्का छन् ।

यसैगरी घटनामा संलग्न भएको आरोपमा पक्राउ पर्ने अन्य चार जनाहरुमा गोरखा, भीमसेन थापा गाउँपालिकाका कपिल भट्ट (प्रतिक), काठमाडौं गोकर्णेश्वर नगरपालिकाका दिनेश नगरकोटी (बवी), गोरखा जिल्ला सुलिकोट गाउँपालिकाका किकाश थापा तथा सिन्धूपाल्चोक जिल्ला जुग गाउँपालिकाका राज कुमार मगर छन् ।

उनीहरू सबै विपल्व नेतृत्वको अखिल नेपाल क्रान्तिकारी ट्रेड युनियन महासंघका कार्यकर्ता हुन् । उनीहरू मध्ये रक्षक, विजय, सुवास महासंघ सदस्य हुन् भने प्रतिक, बवी र थापा क्रमशः गण्डक ब्यूरो सदस्य, गोकर्णेश्वर नगरपालिका नगर अध्यक्ष तथा नेपाल मजदुर संगठन सदस्य, हाइड्रो तथा खानी उपाध्यक्ष हुन् । यस्तै राजकुमार मगर ट्रेड युनियन महासंघ ललितपुरका जिल्ला अध्यक्ष हुन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७