दिल्ली सरकारको नेतृत्वमा ‘आप’ आउने निश्चित, ७० सिटमध्ये ‘भाजपा’ २० सिटले पछि


२८ माघ २०७६, मंगलवार
arvind kejariwal

नयाँदिल्ली, २८ माघ । भारतको दिल्ली सरकारको नेतृत्वमा पुनः आम आदमी पार्टी (आप) आउने पक्का भएको छ । प्रारम्भिक मत परिणामअनुसार आपले स्पष्ट बहुमत प्राप्त गर्ने पक्का भएको हो । ७० सिट रहेको दिल्ली विधानसभाको चुनाव यही फेब्रुअरी ८ मा भएको थियो ।

हालसम्मको मतपरिणाम अनुसार ७० सिटमध्ये आपले ५० सिटमा अग्रता लिएको छ । केन्द्र सरकारको नेतृत्वमा रहेको भारतीय जनता पार्टी (भाजपा) आपभन्दा धेरै पछाडि छ । अहिलेसम्मको मत परिणामअनुसार भापजा २० सिटमा मात्र अगाडि छ ।

भारतीय कांग्रेस पार्टी भने सबै सिटमा पछाडि छ । दिल्लीमा फेरि पनि केजरिवाल मुख्यमन्त्री बन्ने निश्चित जस्तै देखिएको भारतीय सञ्चार माध्यमले उल्लेख गरेका छन् । सन् २०१५ मा सम्मपन्न दिल्ली विधानसभा चुनावमा आम आदमी पार्टीले ७० सिटमध्ये ६७ वटा हात पार्दै ऐतिहासिक विजय हासिल गरेको थियो । भाजपाले तीन सिट जित्दा कांग्रेस भने रित्तो हात भएको थियो ।

७० सिट रहेको दिल्लीमा सरकार बनाउन ३६ सिटको आवश्यकता हुन्छ । सन् २०१५ को निर्वाचनमा केजरीवालको पार्टी ६७ सिट जितेको थियो । नयाँदिल्ली क्षेत्रबाट उम्मेदवार बनेका मुख्यमन्त्री अरविन्द केजरीवालले २०१५ मा भाजपाकी उम्मेदवार नुपुर शर्मालाई झण्डै ३१ हजार मतले हराएका थिए ।

सन् २०१३ मा भएको विधानसभा चुनावमा केजरीवालले दिल्लीकी तीन पटककी मुख्यमन्त्री शीला दीक्षितलाई २५ हजार मतले हराएका थिए । पछिल्ला पाँच वर्षमा मुख्यमन्त्री अरविन्द केजरीवाल नेतृत्वको सरकारले दिल्लीमा खानेपानी, बिजुली, शिक्षा र स्वास्थ्य क्षेत्रमा उल्लेखनीय काम गरेको छ । एजेन्सी

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७