१४ औं पटक अनसनमा डा. केसी, के छन् केसीका माग ?


२४ पुष २०७४, सोमबार
kc
?????????????????????????????????????????????????????????

काठमाण्डौं : चिकित्सा शिक्षा सुधारको माग राख्दै १३ पटकसम्म आमरण अनसन बसिसकेका डा. गोविन्द केसी फेरि अनसन बसेका छन् । यस पटक डा. केसीको अनसन प्रधानन्यायाधीश गोपाल पराजुलीविरुद्ध लक्षित छ ।

kc
बर्खास्तीमा परेका आइओएमका डीन डा. शशी शर्मालाई सर्वोच्च अदालतले पुनर्वहालीको आदेश दिएपछि डा. केसी अनसन बसेका हुन् । डा. केसी त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा अपराह्न ४ बजेदेखि सत्याग्रह थालेका हुन् । यसअघि आजै उनले मुख्य पाँचबुँदे माग अघि सार्दै अनसन घोषणा गरेका थिए । न्यायालयमा न्याय किनबेच भएको आरोप लगाउँदै डा. केसीले प्रधानन्यायाधीश पराजुलीले राजीनामा गरी उनले गरेका कामहरुबारे छानबिन गर्नुपर्ने मुख्य माग गरेका छन् । 

‘पदीय मर्यादाविपरीत न्यायालयमा भ्रष्टाचार संस्थागत गर्ने तथा न्यायलाई बिक्रीको विषय बनाउने भ्रष्ट प्रधानन्यायाधीश गोपाल पराजुलीद्वारा पदबाट तत्काल राजीनामा गरियोस् । तत्पश्चात उनका भ्रष्ट क्रियाकलापहरुमाथि छानबिन र कार्बाही गरियोस्’ सत्याग्रहका पाँच बुँदे मागको पहिलो बुँदामा डा केसीले उल्लेख गरेका छन्।

के छन् केसीका मागहरु:-

१) पदीय मर्यादाविपरीत न्यायालयमा भ्रष्टाचार संस्थागत गर्ने तथा न्यायलाई बिक्रीको विषय बनाउने भ्रष्ट प्रधान न्यायाधीश गोपाल पराजुलीद्वारा पदबाट तत्काल राजीनामा गरियोस्। तत्पश्चात उनका भ्रष्ट क्रियाकलापहरुमाथि छानबिन र कारबाही गरियोस् ।
२) चिकित्सा शिक्षा आयोग तत्काल गठन गरियोस् ।
३) आइओएमका डीनमा विधिवत रुपमा वरिष्ठताका आधारमा नियुक्त भएका व्यक्तिलाई कायम गरियोस्। माफिया डीनको पुनर्वहाली तुरुन्त खारेज गरियोस् ।
४) मेडिकल माफियासितको मिलेमतोमा अवैध रुपमा खाली भवनलाई सम्बन्धन दिने, आइओएमको अधिकार नाजायज रुपमा खोसेर दुरुपयोग गर्ने तथा दलीय भागबन्डाबाट नियुक्त भएका त्रिवि पदाधिकारीहरुलाई बर्खास्त गरियोस् ।
५) त्रिवि शिक्षण अस्पताल सुधार सम्बन्धी हामीले राखेका मागहरु पूरा गरियोस् ।
१) सरकारी संस्था भएकाले त्रिवि शिक्षण अस्पतालको शैक्षिक कार्यक्रम र सेवा प्रवाहको सम्पूर्ण आर्थिक भार राज्यले व्यहोर्ने व्यवस्था गर्ने । हाल १० प्रतिशत मात्र शय्याहरु निःशुल्क भएकोमा त्यसलाई बढाएर ५० प्रतिशत र्पुयाइनुपर्ने। आम नागरिकहरुका लागि उपचार सस्तो र सुलभ बनाउने तथा अस्पतालका विद्यार्थी, चिकित्सक र कर्मचारीलाई विगतमा जस्तै सम्पूर्ण उपचारको व्यवस्था गर्ने ।
२) कार्यरत नर्स तथा विद्यार्थीहरुका लागि नयाँ आवास तथा छात्रवासको व्यवस्था गर्ने, अडिटोरियम हल र परीक्षाहलसहित उपयुक्त क्षमताका क्याम्पस भवनहरुको निर्माण गर्ने। पुस्तकालय वर्षभर चौबिसै घन्टा र सातै दिन खुला राख्ने व्यवस्था गर्ने ।
३) अस्पतालको औषधि पसल विस्तार र सही व्यवस्थापन गरेर अस्पतालमा आएका सबै बिरामीलाई सस्तो र गुणस्तरीय औषधि उपलब्ध गराउने व्यवस्था गर्ने ।
४) इमर्जेन्सी विभागमा आउने सबै बिरामीका लागि सुविधाजनक उपचारकालागिसेवा बिस्तार तथा वृद्धि गर्ने, बिरामी दलालहरु तथा तिनलाई प्रयोग गर्ने निजी अस्पतालहरुलाई कारबाही गर्ने। आइसियू, एनआइसियू, अपरेसन थिएटर लगायतका संरचना र क्षमता बिस्तार गरेर अधिकतम बिरामीलाई सेवादिने र अपरेशनको ’क्यू’ घटाउने। साथै संविधानमा लेखिए बमोजिम सबै खालको इमर्जेन्सी सेवा पूर्णरुपमा निःशुल्क गर्ने ।
५) चिकित्सक, नर्स र कर्मचारीहरुलाई वरिष्ठता र योग्यताअनुसार समयमा स्थायी र बढुवा गर्ने व्यवस्था गर्ने। नियम तथा मान्यता मिचेर नेता (नर्स, कर्मचारी, चिकित्सक र प्राविधिकहरु) र पदाधिकारीहरुको नातागोता तथा पार्टीका कार्यकर्ताहरुलाई नियमविपरीत पदस्थापना, स्थायी र बढुवा नगर्ने तथा गरेकालाई खारेज गर्ने ।
६) थप शुल्क लिएर दिइने इएचएस सेवाअन्तर्गत शल्यक्रिया लगायतका सेवालाई तुरुन्त कार्यान्वयन गर्ने ।
७) शौचालयहरु थप्ने, सरसफाइका लागि आवश्यक सामग्रीको व्यवस्था गर्ने तथा अस्पतालका बिरामीहरुलाई असर नपर्ने गरी इन्सीनरेटरको व्यवस्थापन गर्ने ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७