माओत्सेतुङका अनौठा ७ शैली : दिनभन्दा रातमा सक्रिय
चीनमा सफल जनवादी क्रान्ति गरी आर्थिक उन्नतिको ढोका खोलिदिने राजनेता हुन्, माओत्सेतुङ । त्यसैले त माओलाई आधुनिक चीनका क्रान्तिनायकका रूपमा विश्वले चिन्छ । माओकै नेतृत्वमा सन् १९४९ मा जनवादी क्रान्ति सफल भएपछि चीन शान्ति र विकासको गतिमा लम्किएको हो । आधुनिक चीनका ती कमान्डर माओको जीवनशैली खासमा कस्तो थियो ? यस्ता छन् केही रोचक पक्ष :
सुत्ने खाटभरि किताब
जंग च्याङले माओको जीवनी लेखेकी छिन् । ‘माओ स् द अन्नोन स्टोरी’मा उनले माओको स्मरणशक्ति निकै राम्रो भएको लेखेकी छिन् । पढाइ र लेखाइमा उनी निकै सौखिन थिए । उनी सुत्ने कोठाको खाटको आधा भागमा करिब एक फिटको उचाइसम्म किताब हुन्थे, प्रायः चिनियाँ सहित्यका । च्याङका अनुसार उनी आफ्नो भाषण र लेखमा तिनै किताबबाट लिइएका उदाहरण प्रयोग गर्थे ।
रातभर काम गर्ने
माओ महत्वपूर्ण काम रातको समयमा गर्थे । उनी दिनमा भन्दा रातमा बढी सक्रिय हुन्थे । लगभग पूरै रात काममै व्यस्त हुन्थे र बिहान भएपछि मात्रै सुत्थे । चीनस्थित भारतीय तत्कालीन जुनियर अफिसर नटवर सिंहले विभिन्न अन्तर्वार्तामा माओको यस्तो बानीबारे खुलासा गरेका छन् । उनका अनुसार सन् १९५६मा चीन गएको भारतीय संसदीय प्रतिनिधि मण्डलसँग माओले मध्यराति १२ बजे मात्रै भेटेका थिए । राति १० बजे भेट्न पुगेको टोलीलाई उनले १२ बजेपछि मात्रै भेट्ने सन्देश दिएका थिए । उनी भेट्न जाने जो–कोहीलाई आफ्नै खुसीमा मात्रै भेट्थे ।
चुरोटका अम्मली
माओ चुरोटका अम्मली थिए । नटवरका अनुसार संसदीय प्रतिनिधि मण्डलको सो भेटमा माओले एकपछि अर्को चुरोट सल्काइरहेका थिए । जब त्यहाँ उपस्थित भारतीय राजदूत आरके नेहरूले आफ्नो मुखमा चुरोट राखे तब माओले नै चुरोट सल्काइदिएका थिए ।
ओछ्यान नछाड्ने
माओ पढ्नेदेखि योजना बनाउने काम आफ्नै ओछ्यानमा बसेर गर्थे । अझ रोचक पाटो के भने उनी उनी खानासमेत ओछ्यानमै बसेर खान्थे । उनका लागि आफ्नो खाट कतिसम्म प्यारो थियो भने जहाँ जाँदा पनि सँगै लिएरै जान्थे । ट्रेन यात्रामा पनि उनका लागि त्यही खाट पुर्याइएको हुन्थ्यो । आफ्नोबाहेक अरू खाटमा नसुत्ने उनको अनौठो बानी थियो । सन् १९५७ मा मस्को जाँदा पनि उनको खाट जहाजमै राखेर त्यहाँ पुर्याइएको थियो ।
दाँत ब्रस नगर्ने
माओका डाक्टरसमेत रहेका जी सी लीले ‘द प्राइभेट लाइफ अफ चेयरम्यान माओ’ किताबमा माओका व्यक्तिगत जीवनबारे धेरै लेखेका छन् । माओले कहिल्यै पनि दाँत नमाझेको, बरु दाँत सफा गर्न बिहानै उठेर चियाले कुल्ला गर्ने गरेको लेखेका छन् । एक समय त उनको दाँतमा हरियो रंग लगाएजस्तो देखिन्थ्यो रे ।
नुहाउँदा रिस उठ्ने
लीका अनुसार माओलाई नुहाउनुपर्दा रिस उठ्थ्यो । उनी आफूलाई सफा र स्फूर्त राख्न हरेक दिन तातो तौलियाले स्पन्ज गर्थे । माओकी नर्स फ्यु मिङले दारी मिलाइदिने तथा कपाल काटिदिने गर्थिन् ।
गाउन लगाएर बस्ने
माओ प्रायः कहिल्यै पनि जुत्ता लगाउँदैनथे, खाली खुट्टा हिँड्थे । लगाउनै परे कपडाको जुत्ता मात्र लगाउँथे । तर, औपचारिक कार्यक्रममा छालाकै जुत्ता लगाउनुपर्ने भएकाले पहिला उक्त जुत्ता खुकुलो बनाउन सुरक्षा गार्डलाई लगाउन दिन्थे । उनी प्रायः फाटेर सिलाएको लुगा लगाउने गर्थे भने मोजा जहिल्यै प्वाल परेकै लगाएको देखिन्थ्यो ।
माओ घरमा रहँदा नुहाउँदा प्रयोग गर्ने गाउन मात्रै लगाउँथे । यो कुरा पनि लीको पुस्तकमै लेखिएको छ । १९७१ मा अमेरिकी राष्ट्रपति रिचर्ड निक्सनसँग आफ्नै निवासमा भएको भेटको प्रसंगलाई पनि डा। लीले पुस्तकमा उतारेका छन् । त्यो भेटमा माओले सुट लगाएका थिए । ६५ मिनेटको भेटवार्ता सकिएर निक्सन कोठाबाट बाहिरिनेबित्तिकै माओले उक्त सुट फुकालेर पुरानो बाथ रोब लगाएका थिए ।