इन्स्पेक्टरमा वैकल्पिक सूचीमा समेटिंदा ठाकुरलाई खुल्यो आइजिपी बन्ने भाग्य


२९ माघ २०७६, बुधबार
igp

काठमाडौं, २९ माघ । नेपाल प्रहरीको ९० औं टोलीअन्तर्गत ०४६ मा ५२ जना प्रहरी निरीक्षक भर्ना भएका थिए । ठाकुर ज्ञवाली पनि त्यही ५२ जनामा पर्न चाहन्थे, तर उनको नाम १६ जनाको वैकल्पिक सूचीमा पर्‍यो ।

त्यतिवेला वैकल्पिकमा नाम निस्किँदा खिन्न भएका ज्ञवालीलाई अहिले त्यही अवसरले प्रहरीको सर्वोच्च पद महानिरीक्षकसम्म पुर्‍याएको छ । वैकल्पिक सूचीमार्फत पाँच महिनापछि भर्ना भएका उनी २७ औं महानिरीक्षक बनेका छन् ।

नियमित सूचीमै नाम निस्किएको भए उनले मंगलबार अरूसँगै ३० वर्षे सेवाहदका कारण अवकाश पाउँथे । वैकल्पिक सूचीमा नाम निस्किएर पाँच महिनापछि भर्ना भएकै कारण पाँच महिनाका लागि ८० हजार प्रहरीको नेतृत्व सम्हाल्ने अवसर उनले पाएका हुन् ।

मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले ज्ञवालीलाई महानिरीक्षकमा नियुक्तिको निर्णय गरेको हो । उनी आफ्नो ब्याचमा पहिलो नम्बरमा थिए । यसपटकको महानिरीक्षक नियुक्तिमा विगतमा जस्तो विवाद भएन । प्रदेश १ का प्रहरी प्रमुख रहेका ज्ञवाली मंगलबार मात्र विराटनगरबाट काठमाडौं आएका थिए ।

उनले बुधबार बिहान गृहसचिव महेश्वर न्यौपानेबाट फुली लगाएपछि कार्यभार सम्हाल्ने छन् । अहिलेको प्रहरी नियमावलीअनुसार ज्ञवालीले २५ असार ०७७ सम्म प्रहरीको नेतृत्व गर्न पाउने छन् । साढे २९ वर्र्षे करिअरमा कुनै ठूलो विवादमा परेका छैनन् । उनी इमानदार र लो प्रोफाइलमा बसेर काम गर्ने अधिकारी भएको प्रहरी अधिकारीहरू बताउँछन् ।

तेस्रो पटक डिआइजीबाटै आइजिपी
नेपाल प्रहरीमा लगातार तेस्रोपटक डिआइजीबाट सीधै आइजिपीमा बढुवा गरिएको छ । यसअघिका महानिरीक्षकहरू सर्वेन्द्र खनाल र प्रकाश अर्याल पनि सीधै डिआइजीबाट आइजिपीमा बढुवा भएका थिए । एआइजी भएर नीतिगत तहमा बसेर काम गरेको अनुभव नभई आइजिपी हुँदा नेतृत्वमा कमजोरी देखिँदै आएको प्रहरी अधिकारीहरू बताउँछन् । सरकारले संगठनमा करिअर योजनाको नीति बनाउन नसक्दा यस्तो समस्या बढेको हो ।

छोटो अवधि, महत्वपूर्ण जिम्मेवारी
छोटो अवधिका लागि महानिरीक्षक भए पनि ज्ञवालीमाथि जिम्मेवारी भने ठूलो छ । किनभने प्रहरीमा संक्रमणकाल सुरु भएको छ । केही महिनाभित्रै प्रहरीको समायोजन सुरु हुँदैछ । सफल समायोजन नै ज्ञवालीका लागि सबैभन्दा ठूलो चुनौती हुनेछ ।

त्यस्तै, तीनै एआइजीसहित १८ डिआइजीका पद रिक्त भइसकेका छन् । त्यसमा बढुवाका लागि ठूलो संघर्ष छ । अहिले जो एआइजी बढुवा हुन्छ ऊ नै असारपछि आइजिपीको दाबेदार हुने भएकाले प्रतिस्पर्धा छ । जसमा जुनियर डिआइजी समेत चलखेलमा लागेका छन् । निष्पक्ष बढुवाका लागि महानिरीक्षकको महत्वपूर्ण भूमिका हुनेछ ।

त्यस्तै, लामो समयदेखि नटुंगिएको निर्मला पन्त बलात्कारपछि हत्या घटनाको अनुसन्धान, सरुवामा निष्पक्षता उनका लागि अरू चुनौती हुनेछन् । विगतमा प्रतिस्पर्धीबीच चर्काे गुटबन्दी हुने गरेकोमा उच्च प्रहरी अधिकारीलाई विश्वासमा लिएर अघि बढे उनले छोटो अवधिमा संगठनलाई महत्वपूर्ण योगदान दिन सक्ने प्रहरी अधिकारीहरू बताउँछन् ।

प्रहरीका उच्च पदहरू रिक्त ३० वर्षे सेवा हदका आधारमा आइजिपी खनाल, तीन एआइजी र १८ डिआइजीले मंगलबारदेखि एकै पटक अवकाश पाएका छन् । जसअनुसार प्रहरीका उच्च पदहरू एकैपटक रिक्त भएका छन् ।

एआइजी पुष्कर कार्की, ठुले राई र धिरु बस्नेतले पनि अवकाश पाए । पाँचवटा प्रदेशहरू मंगलबारदेखि इन्चाजस्विहीन बनेका छन् । त्यस्तै, प्रहरी मुख्यालयका विभाग र प्रहरी एकेडेमी समेत निमित्तको भरमा पुगेका छन् । तत्काल बढुवा नभए समस्या हुन सक्ने प्रहरी अधिकारीहरू बताउँछन् ।

डिआइजीहरू मनोज नेउपाने, दीपककुमार थापा, सुरज केसी, विनोद शर्मा घिमिरे, महेन्द्र पोखरेल, नारायणसिंह खड्का, दिनेश अमात्य, केदार रिजाल, कमल जिटी, शेरबहादुर बस्नेत, दानसिंह बोहरा, पीताम्बर अधिकारी, पूर्णचन्द्र जोशी, विकास श्रेष्ठ, हरिभक्त प्रजापति र सुरेशविक्रम शाहले पनि अवकाश पाएका छन् । त्यस्तै गम्भीर बिरामी भएर दुई वर्षदेखि अस्पतालमा रहँदै आएका डिआइजी राजेन्द्रमान श्रेष्ठले पनि अवकाश पाएका छन् । नयाँ पत्रिका दैनिकबाट

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७