पूर्व सचिव पत्नी हत्या प्रकरण : ‘६ वर्षदेखि तलब विना कार्कीको घरमा थिए विजय’


२९ माघ २०७६, बुधबार
Bijaya chadari

दाङ, २९ माघ । पूर्व सचिव अर्जुन कार्कीको श्रीमती मुना कार्कीको हत्या गरेर आत्महत्या गरेको भनिएका विजय चौधरी दाङ लमहीका हुन् । विजयको गाउँमा सन्नाटा छ, छोराको शव बुझ्न ५० वर्षीय बाबु मंगलबार बिहानै काठमाडौं हिंडेका छन् भने ४५ वर्षीया बिरामी आमालाई घटनाबारे जानकारी नै छैन ।

पूर्व सचिव कार्की दाङको लमहीस्थित प्रगन्ना सिँचाइ आयोजनाको कार्यालय प्रमुख भएकाले विजय काठमाडौं आउने संयोग जुरेको हो । कार्कीले पहिले लममहीका आसिवन चौधरीलाई घरेलु कामदार बनाएर काठमाडौं ल्याएका थिए । ६ वर्षअघि कार्की नेपाल विद्युत् प्राधिकरणको प्रमुख बनेको वेला आसिवनलाई प्राधिकरणको लमहीस्थित शाखामा जागिर लगाई दिए  । आसिवनले पनि गुन तिर्न विजय चौधरीलाई कार्कीको घरमा घरेलु कामदार बनाई दिएका हुन् ।

‘मैले पनि पहिले कार्की सरको घरमा काम गरेको थिएँ । मैले जागिर गर्ने भएपछि कार्की सरको घरमा मान्छे चाहियो । मैले नै विजयको घर परिवारसँग सल्लाह गरेर काममा लगाई दिएको हो ।’ आफन्तहरूका अनुुसार ६ कक्षासम्म पढेर छाडेका विजय कामदारको रूपमा कार्की निवासमा प्रवेश गर्दा विजय १६ वर्षका थिए ।

विजयलाई कार्कीको घरमा सरसफाइलगायत काम लगाइएको थियो । तर, कति पैसा पाउने भन्ने निर्धारण गरिएको थिएन । ‘छोराको पढाइ थिएन, कार्की सरले राम्रो जागिर लगाई दिने भनेपछि कार्कीको केही समय घरमा काम गर्न पठाएको हुँ’ विजयका बाबु जानकी चौधरीले भने, ‘छोराले घरमा काम गरे वापत केही पैसा पाइएला भन्ने आशा त थियो, तर ६ वर्षसम्म छोराले एक पैसा पनि पठाएन । तलबबारे कुनै सल्लाह नै नभएकोले हामीले माग्न पनि सकेनौं ।’ जागिर अथवा पैसा केही नपाए पनि छोराले आफूहरूसँग कुनै गुनासो नगरेको पनि उनले बताए ।

काम मिलाई दिएका आसिवनले पनि विजयको पारीश्रमिक निर्धारण नगरिएको बताए । ‘ तलब पक्का गरिएको थिएन । तर, ६ वर्षसम्म कार्की परिवारसँग विजय र उनको परिवारको कुनै मनमुटाव भएको पनि सुनिएन,’ आसिवनले भने, ‘किन यस्तो घटना भयो अचम्म परेको छु ।’

चौधरी परिवारका अनुसार विजय अघिल्लो वर्ष तिहारयता घर आएका थिएनन् । तर, बाबु आमासँग फोनमा कुराकानी भइरहन्थ्यो । साता दिनअघि मात्रै उनले बुबा जानकीलाई फोन गरेर कार्की परिवारका लागि तोरीको तेल र मसुरोको दाल पठाइदिन भनेका थिए ।

‘उसले काम गर्ने घरको लागि तोरीको पाँच लिटर तेल र पाँच किलो मसुरोको दाल पठाइदिन भनेको थियो,’ जानकीले भने, ‘छोरासँगको अन्तिम कुराकानी नै त्यही थियो ।’ कार्की सरले ड्राइभिङ लाइसेन्स निकालिदिन लागेको खबर पनि त्यतिवेला छोराले सुनाएको जानकीले बताए ।

विजयले हत्या गरेर आत्महत्या गरेको पत्याउन अप्ठ्यारो परिरहेको आफन्त र छिमेकीहरू बताउँछन् । बोल्न समेत लजाउने विजयले यत्रो अपराध गरेको भनेर पत्याउन नसकेको ठूलीआमा अनारकली चौधरीले बताइन् । ‘कहिल्यै झगडा गरेको थाहा पाइएन । ऊ त धेरै बोल्दा पनि बोल्दैनथ्यो,’ अनारकलीले भनिन् ‘यत्रो घटना गरायो भनेर कसरी पत्याउनू ? तर प्रमाण जे बोल्छ, हामीले मान्नै पर्‍यो’

लमही–२ का वडासचिव समेत रहेका स्थानीय रामभजन चौधरीले पनि गाउँमा छँदा विजय शान्त स्वभावको भएको बताए । ‘म पनि छिमेकी नै हुँ । उसले कहिल्यै झगडा गरेको थाहा पाइएन । तर, त्यति ठूलो घटना गरायो भन्ने सुन्दा पत्याउन गाह्रो भइरहेको छ,’ उनले भने । विजयका २० र १८ वर्षका दुई भाइ छन । नयाँ पत्रिका दैनिकबाट

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७