आइसीसी विश्वकप लिग दुई आज सकिंदै, घरेलु मैदानमा सुखद अन्त्यको खोजीमा नेपाल


२९ माघ २०७६, बुधबार
cricket 1 1

काठमाडौं, २९ माघ । आइसीसी विश्वकप क्रिकेट लिग दुई अन्तर्गतको त्रिकोणात्मक सिरिज आज सकिंदैछ । सिरिजको अन्तिम खेलमा नेपाल र अमेरिका भिड्दैछन् । नेपाल घरेलु मैदानमा सुखद अन्त्यको खोजीमा छ ।

जुनसकै खेलमा पनि दर्शकको स्थान महत्वपूर्ण हुन्छ । नेपालका क्रिकेट प्रशंसक विश्वमै परिचित छन् । अन्य देशका क्रिकेट खेलाडी यहाँका दर्शकबाट निकै प्रभावित हुँदै आएका छन् । उनीहरुले यहाँका दर्शकलाई जितमा मुख्य बाधकका रूपमा लिने गर्छन् ।

घरेलु मैदानमा लिग दुईको प्रारम्भ गरेको नेपाली क्रिकेट टोलीले आफ्ना दर्शकलाई निराश पारेको छ । अमेरिकासँगको खेलमा नेपाली क्रिकेट खेलाडीको ध्यान उक्त कुरामा केन्द्रित हुनेछ । त्यसैले अमेरिकासँगको आजको खेलमा विजयी हुँदै नेपाली क्रिकेट टोली घरेलु मैदानमा सुखद अन्त्यको खोजीमा छ ।

त्रिकोणात्मक सिरिजमा नेपाल ओमानसित निरीह बने पनि अमेरिकासँगको खेलमा भने आफूलाई अब्बल सावित गर्न लालायित छ । नेपाल अमेरिकामाथि हावी छ । यसअघि पहिलो खेलमा नेपालले अमेरिकालाई ३५ रनले पराजित गरेको थियो । नेपालको ओपनिङ खासै जम्न सकेको छैन । ओमानसितको पहिलो खेलमा कप्तान ज्ञानेन्द्र मल्ल र पारस खड्काले ओपनिङ गरेका थिए । दुवै जनाबीच मात्र चार रनको साझेदारी भयो । यसले नेपालको ओपनिङको व्यापक आलोचना भएको थियो ।

ओमानसँगको खेलमा शरद भेषवाकर घाइते बनेपछि सुवास खकुरेलले ओपनिङ गर्दै आएका छन् । उनलाई कप्तान ज्ञानेन्द्रले साथ दिइरहेका छन् । सुवासले पनि आशा गरेअनुरुपको ओपनिङ गर्न सकेका छैनन् । उनले अमेरिकासँगको पहिलो खेलमा तीन रन बनाएका थिए ।

ओमानसँगको दोस्रो खेलमा भने ब्याटिङमा सुधार गर्दै उनले २२ रन बनाए । सुवासको तुलनामा ज्ञानेन्द्रको ब्याटिङबाट नेपालले आस गर्ने ठाउँ छ । उनले अमेरिकासँगको पहिलो खेलमा २१ रन बनाएका थिए भने ओमानसितको दोस्रो खेलमा ५६ रनको अर्धशतकीय पारी खेले ।

अमेरिकासँगको अन्तिम खेलमा नेपालको ध्यान सुदृढ ओपनिङमा हुनेछ । ब्याटिङमा नेपाल अघिल्ला खेलहरुमा जस्तै ज्ञानेन्द्र, पारस खड्का दीपेन्द्रसिंह ऐरी, कुशल मल्ल, विनोद भण्डारी र आरिफ शेखमाथि निर्भर रहनेछ ।

नेपालका तर्फबाट शरद, ज्ञानेन्द्र, कुशल गौतम र विनोदले अर्धशतकीय पारी खेलेका छन् । यीमध्ये शरद चोटका कारण अहिले विश्राम गरिरहेका छन् । त्यसैले आजको खेलमा बाँकी तीनै जनामाथि नेपाल निर्भर रहनेछ । यसबाहेक ब्याटिङमा नेपालको ध्यान पारस, आरिफ र उपकप्तान दीपेन्द्रमाथि हुनेछ ।

दीपेन्द्र ओमानसँगको पहिलो खेलमा मात्र चल्न सके । बाँकी दुई खेलमा उनी बिनारन पभेलियन फर्केका थिए । पारसले अमेरिकासँगको पहिलो खेलमा १९ तथा ओमानसँगको दोस्रो खेलमा ३८ रन बनाए । आरिफले ओमानसँगको दोस्रो खेलमा मात्र २८ रन बनाउन सकेका थिए । अन्य खेलमा उनको ब्याटिङ राम्रो रहेन । नेपाली टोलीको ब्याटिङभन्दा पनि बलिङ नै राम्रो देखिन्छ । ओमानसँगको दोस्रो खेलमा बलरले राम्रो प्रदर्शन गर्न सकेनन् । नेपाल उक्त खेलमा आठ विकेटले पराजित हुन पुग्यो ।

नेपालका लागि सन्दीप लामिछाने, करन केसी र सुशन भारी नै जितका मुख्य आधार हुन् । करनले हालसम्म तीन खेलमा आठ विकेट लिएका छन् । यस्तै सुशन भारीले सात विकेट तथा सन्दीपले दुई विकेट मात्र लिएका छन् । कुशल मल्ल पनि किफायती बलरका रूपमा देखिएका छन् । उनको ब्याटिङसँगै बलिङ पनि राम्रो छ ।

जारी सिरजिमा तीन वटै खेल हारिसकेको अमेरिका ब्याटिङका लागि इयान होल्याण्ड, अक्षय होमराज, मोनाङ्क पटेल, जेभियर मार्शल र आरोन जोन्समाथि निर्भर रहनेछ । अमेरिकाको ओपनिङ अहिलेसम्म खासै जम्न सकेको छैन । ओमानसँगको पहिलो खेलमा प्रारम्भिक ब्याटस्म्यान मार्शल र आरोनले २५ रनको साझेदारी निभाएका थिए ।

सो खेलमा मार्शलले १३ रन तथा आरोनले १२ रन बनाए । नेपालसँगको पहिलो खेलमा पनि उनीहरु सफल हुन सकेका थिएनन् । उक्त खेलमा मार्शलले मात्र दुई रन बनाएका थिए । आरोनले पाँच रन हानेका थिए । मार्शलले ओमानसँगको दोस्रो खेलमा २३ रन बनाए भने आरोनले अविजित ४७ रनको योगदान दिए ।

अमेरिकाका लागि सबैभन्दा भरपर्दा ब्याटस्म्यान अहिलेसम्म इयान होल्याण्ड देखिएका छन् । उनले ओमानसँगको पहिलो खेलमा ६५ रन, नेपालसँगको पहिलो खेलमा ७५ रन तथा ओमानसँगको दोस्रो खेलमा २८ रन बनाएका थिए । यस्तै निसर्ग पटेलले ओमानसँगको दोस्रो खेलमा ५२ रन बनाए । यसबाहेक अक्षय होमराजले ओमानसँगको पहिलो खेलमा ४४ रन बनाउनु बाहेक अन्य ब्याटस्म्यानले उल्लेख्य रन बनाउन सकेका छैनन् ।

यस्तै बलिङतर्फ अमेरिका कप्तान सौरभ नेत्रावाल्कर, केमरुन स्टभेन्सन, स्टेभन टेलर, रुस्टी थेरेन, इयान होल्याण्ड र एलमोर हुचिन्सनमाथि भर पर्नेछ । हालसम्म खेलेका तीन खेलमा सौरभले छ विकेट लिएका छन् । थेरनले चार तथा केमरुनले तीन विकेट लिएका छन् । अन्यले एक–एक विकेट मात्र लिएका छन् । केमरुनले नेपालसँगको खेलमा तीन विकेट लिएका थिए भने सौरभले दुई विकेट लिएका थिए । सौरभ र थेरनले ओमानसँगको दोस्रो खेलमा तीन–तीन विकेट लिएका छन् ।

समग्रमा नेपाल र अमेरिकाले अन्तिम खेलमा जित हासिल गर्नका लागि ब्याटिङ, बलिङ र फिल्डिङमा नै ध्यान दिनुपर्नेछ । अमेरिकाले ओमानसँगको दुवै खेल हारेपछि लिग दुईको शीर्षस्थान गुमाइसकेको छ । अमेरिका हालसम्म खेलेका ११ खेलमध्ये छ मा जित तथा पाँचमा हारसहित १२ अङ्कका साथ लिगको दोस्रो स्थानमा छ । नेपालले हालसम्म खेलेको तीन खेलमध्ये दुईमा हार तथा एकमा जित निकालेको छ । नेपालले दुई अङ्क बटुलेको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७