त्रिदेशीय क्रिकेट श्रृखंलामा नेपालको शानदार जित, अमेरिका आठ विकेटले पराजित


२९ माघ २०७६, बुधबार
cricket 8

काठमाडौं, २९ माघ । विश्वकप क्रिकेट लिग–२ अन्तर्गत काठमाडौंमा जारी त्रिदेशीय श्रृंखलाको अन्तिम खेलमा नेपालले शानदार प्रदर्शन गरेको छ ।

नेपालले अमेरिकालाई ३५ रनमै अलआउट गरेको छ । कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदानमा बुधबार भएको खेलमा नेपालले अमेरिकालाई आठ विकेटले पराजित गरेको हो ।

अमेरिकाले दिएको ३६ रनको लक्ष्य नेपालले ५ ओभर २ बलमा मात्र दुई विकेट गुमाएर पूरा गर्‍यो । नेपालको जितमा पारस खड्काले अविजित २० रन जोडे । दिपेन्द्र सिंह ऐरीले अविजित १५ रन बनाए ।

ओपनर तथा कप्तान ज्ञानेन्द्र मल्ल एक रनमा आउट हुँदा अर्का ओपनर सुवास खकुरेल सुन्य रनमा पेभेलियन फर्किए । अमेरिकाका केन्जिगेले दुई विकेट लिए ।

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको अमेरिका १२ ओभरमा ३५ रन जोड्दा अलआउट भयो । एक दिवसीय अन्तर्राष्ट्रिय क्रिकेट यो सर्वाधिक कम स्कोरको बराबर हो । सन् २००४ मा जिम्बावेले श्रीलंकाविरुद्ध ३५ रन बनाएर सर्वाधिक कम स्कोर बनाउने कीर्तिमान बनाएको थियो ।

अमेरिकाका लागि जाभियर मार्सलले सर्वाधिक १६ रन जोडे । अन्य ब्याट्सम्यानले दोहोरो अंक जोड्न सकेनन् । नेपालका सन्दीप लामिछानेले ६ विकेट लिए । सन्दीपले ६ ओभरमा १ मेडनसहित १६ रन खर्चिएर ६ विकेट लिएका हुन् ।

एक दिवसीय अन्तर्राष्ट्रिय सन्दीपको उत्कृष्ट बलिङ प्रदर्शन हो । यस्तै सुशन भारीले ४ विकेट लिए । उनले ३ ओभरमा एक मेडनसहित ५ रन खर्चिए । अमेरिकामाथिको सानदार जितसँगै सिरिजको चार खेलमा नेपालले दुई जित निकाल्न सफल भएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७