कोरोना भाइरस नियन्त्रणमा विश्वका नेताले चीनलाई सघाउने, कसले के भने ?

चीनको उहानबाट कोरियालीको उद्धार, ६ जनामा भाइरसको लक्षण


२९ माघ २०७६, बुधबार
korona 8

बेइजिङ, २९ माघ । चीनमा प्राणघातक सङ्क्रमणका रुपमा फैलिएको कोरोना भाइरसको प्रकोप नियन्त्रणका विश्वका नेताहरुले सहयोग गर्ने आश्वासन चीनलाई दिएका छन् ।

चीनलाई मङ्गलबार मात्र पनि ग्रुप–७७ समूह, संयुक्त राष्ट्रसंघ तथा संयुक्त राज्य अमेरिकाले पनि सहयोग गर्ने जनाएका थिए । संयुक्त राष्ट्रसङ्घले चीनलाई आवश्यक पर्ने सहयोग उपलब्ध गराउने आवश्वासन दिदै यस भाइरसको सङ्क्रमण रोक्न गरेका प्रयासको सराहना पनि गरेको छ ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले हालसम्म चीनले यो भाइरसको नियन्त्रणका लागि गरेका प्रयासको सराहना गरेका छन् । उनले चीनले आगामी दिनमा गर्नुपर्ने कार्यका लागि आवश्यक सहयोग उपलब्ध गराउने प्रतिबद्धता पनि व्यक्त गरेका छन् । बेलायती प्रधानमन्त्री बोरिस जोनसनले पनि चीनलाई यो सङ्क्रमणविरुद्धको लडाईंमा आवश्यक सहयोग गर्ने बताए ।

उनले अहिलेसम्म चीनले अघि सारेका नियन्त्रणका उपायहरुको प्रसंशा गरेको समाचारमा जनाइएको छ । चीनले यस भाइरसको सङ्क्रमण रोक्न हालसम्म ४० हजार भन्दा बढी सामुदायिक स्वास्थ्य कार्यकर्ता तथा स्वास्थ्यकर्मी परिचालन गरिएको जनाएको छ ।

चीनका विभिन्न प्रदेशमा रहेका छ लाख ५० हजार समुदायमा उनीहरु परिचालित भएको नागरिक मामिला अधिकारीहरुले जानकारी दिएका थिए । नागरिक मामिला मन्त्रालयका अधिकृत चेन येलिङका अनुसार हरेक समूदायका लागि औसतमा छ जना सामुदायिक कार्यकर्ता परिचालित भएका छन् ।

उनले हरेक सामुदायिक कार्यकर्ताले औसतमा ३५० स्थानीय बासिन्दालाई हेर्ने गरेको जानकारी दिँदै यो संख्याले स्थानीय नागरिकलाई प्रत्यक्ष रुपमा हेर्न सकेको छ या छैन भनेर पनि निरीक्षण भइरहेको र आवश्यकताअनुसार स्वास्थ्यकर्मीहरुको संख्या बढाइने बताए ।

पोर्चुगलका राष्ट्रपति मार्सेलो रेबेलो डि सोउसाले पनि चीनलाई सान्त्वना दिएका छन् । उनले पनि चिनियाँ प्रयासहरुको सराहना गर्दै यो समस्याबाट चीनले छिट्टै नै मुक्ति पाउने पनि बताएका छन् ।
ग्रिक राष्ट्रपति प्रोकोपिस पाभ्लोपाउलसले यस भाइरसबाट ज्यान गुमाउने चिनियाँ नागरिकप्रति दुःख व्यक्त गरे । यस महामारीको नियन्त्रणका लागि आफ्नो देशले पनि सक्दो सहयोग चीनलाई गर्ने आशवासन उनले दिएको समाचारमा जनाइएको छ ।

टर्कीका राष्ट्रपति रिसेप तयिप एर्डाेगानले चीनका राष्ट्रपति सि चिनफिङको कुशल नेतृत्वबाट यो भाइरस निवारणको काम चीनले छिट्टै गर्ने धारणा राखेका छन् । यसैगरी अल्जेरिया, इथियोपिया तथा अइरिस प्रधानमन्त्रीहरुले पनि चीनलाई सान्त्वता दिँदै यस सङ्क्रमणको नियन्त्रण एवं निवारणका लागि आफ्नो तर्फबाट सबै प्रकारका सहयोग गर्ने बताएका छन् ।

उनीहरुले कोरोना भाइरस रोकथाम तथा नियन्त्रण कार्यका लागि आ–आफ्नो देशबाट आवश्यक प्राविधि तथा आर्थिक सहयोग दिने बताएको समाचारमा जनाइएको छ ।

हाल चीनले यो सङ्क्रमणका विरुद्धमा निकै नै कडा मेहनत गरेर काम गरिरहेको बताइएको छ । गत वर्षको अन्त्यतिरबाट चीनमा देखिएको यो नयाँ भाइरस द्रुतरूपमा फैलिएपछि चीनको मुख्य भूमिमै एक हजार जनाभन्दा बढी मानिसको मृत्यु भइसकेको छ ।

बुधबार प्राप्त एक समाचारअनुसार यस भाइरसबाट चीनभरी १ हजार १०० व्यक्ति मृत्यु भईसकेको छ । भाइरसको शुरुवात भएको प्रमुख स्थानका रूपमा रहेको हुबेई प्रान्तमा यस भाइरसबाट बढी सङ्क्रमित भएका अधिकारीले जनाएका छन् ।

चीनको उहानबाट कोरियालीको उद्धार, ६ जनामा भाइरसको लक्षण
कोरोना भाइरसबाट प्रभावित चिनियाँ शहर उहानबाट १४७ जना दक्षिण कोरियालीलाई बिमानबाट उद्धार गरिएको छ । बुधबार सियोल आइपुगेकाहरुमा १४७ जना कोरियाली नागरिक, उनीहरुका चिनियाँ पति वा पत्नी तथा परिवारका सदस्यहरू रहेका छन् । तीमध्ये ६ जनामा कोरोना भाइरसको लक्षण देखिएको स्वास्थ्य अधिकारीहरुले बताएका छन् ।

korona 1 3

उद्धार गरिएका व्यक्तिहरु चढेको चार्टर्ड बिमान बिहान ६ बजे पश्चिमी सियोलको गिम्पो अन्तर्रा्ष्ट्रिय विमानस्थलमा अवतरण भएको थियो । कोरोना भाइरसको लक्षण देखिएका यात्रुहरूलाई थप मेडिकल जाँच र उपचारका लागि नजिकको अस्पतालमा पठाइएको थियो । बाँकी यात्रुहरुलाई सियोलको बाहिरी इलाकामा बनाइएको अस्थायी शिविरमा राखिएको छ ।

दक्षिण कोरियामा एक दर्जनभन्दा बढीमा कोरोना भाइरस देखिएको पुष्टि भइसकेको छ । चीनको उहानमा घातक कोरोना भाइरसका कारण मानिसहरु बिरामी हुनेक्रम जारी रहेपछि १५ दिनभित्रै दुई उडानबाट ७०१ जनाको उद्धार गरिएको छ ।

तेस्रो उडानका यात्रुहरूमध्ये करिब ६० जना चिनियाँ नागरिक छन् । उनीहरु दक्षिण कोरियाली परिवारका सदस्य रहेको र उनीहरुलाई चिनियाँ अधिकारीहरूको स्वीकृति लिएर उडानमा समावेश गरिएको हो । सियोलले पछिल्लो उडानमा ७० जना चिनियाँ सहित १७० जनालाई कोरिया ल्याउने योजना बनाएको थियो । तर सबै व्यक्ति बिमानमा किन आएनन् भन्ने अन्यौल नै छ ।

उद्धार गरिएका व्यक्तिहरुलाई सियोलबाट करिब ८० किलोमिटर टाढाको इन्चोनमा १४ दिनसम्म अस्थायी शिविरमा राखिने अधिकारीहरुले बताएका छन् । अझै पनि उहानमा कबिर १०० जना दक्षिण कोरियालीहरू रहेको विश्वास गरिएको छ ।

दक्षिण कोरियामा दुई दर्जन भन्दा बढी व्यक्तिमा कोरोना भाइरस रहेको पत्ता लागिसकेको छ यद्यपी कुनै पनि व्यक्तिको आजसम्म मृत्यु भएको छैन । रासस–सिन्ह्वा

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७