एमससी सम्झौता नेपालको लागि खतरा : विजुक्छे


१ फाल्गुन २०७६, बिहीबार
narayanman bijukchhe

भक्तपुर, १ फागुन । नेपाल मजदूर किसान पार्टीका अध्यक्ष नारायणमान विजुक्छेले विश्व स्वास्थ्य सङ्गठनसँग सहकार्य गरी ‘कोरोला भाइरस’ नेपाल भित्रिन नदिन सरकारले विशेष ध्यान दिनुपर्छ बताएका छन् ।

भक्तपुर नगरपालिकाको छैटौं नगरसभालाई बुधबार सम्बोधन गर्दै चीनबाट फर्काइने नेपालीलाई भक्तपुरको खरिपाटीस्थित राख्न भने नहुने र मानव बस्तीभन्दा टाढा लगेर स्वास्थ्य परीक्षण गर्नुपर्ने बताए । अध्यक्ष विजुक्छेले एमसिसी सम्झौता नेपालको लागि खतराको विषय भएको औंल्याउँदै पार्टीले एमसीसीको खुलेर विरोध गर्दै आएको उल्लेख गरे ।

कार्यक्रममा भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले आर्थिक वर्ष २०७६–७७ को लागि विनियोजित रकमको समीक्षा तथा नगरपालिकाका लागि आवश्यक ऐन, नियम, विनियम र कार्य्विधिबारे जानकारी दिए । उनले आव २०७६–०७७ मा रु ९९ करोड ८० लाख विनियोजन गरिएकोमा २०७६ पुस मसान्तसम्ममा ३६.२४ प्रतिशत अर्थात रु ३६ करोड १७ लाख २२ हजार मात्र खर्च भएको जानकारी दिए ।

त्यसैगरी चालु आव २०७६–०७७ मा पूँजीगततर्फ रु एक अर्ब १३ करोड ३० लाख विनियोजन गरिएकोमा २०७६ पुस मसान्तसम्म २२.१६ प्रतिशत अर्थात रु २५ करोड १० लाख ९५ हजार खर्च भएको प्रमुख प्रजापतिले जानकारी दिए ।

चालु आवमा कूल रु दुई अर्ब १३ करोड १० लाख बजेट पारित भएकोमा चालु तथा पूँजीगततर्फ गरी कूल रु ६१ करोड २८ लाख १७ हजार अर्थात कूल बजेटको २८.७६ प्रतिशत मात्रै खर्च भएको कार्यक्रममा जानकारी दिइएको थियो । नगरपालिकाले आन्तरिक आयतर्फ बितेको छ महिनामा रु २० करोड ३५ लाख ८४ हजार कर असुली गरेको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७