नदुःखेको कपालमा डोरी लगाएपछि


२ फाल्गुन २०७६, शुक्रबार
Jhalak Subedi

काठमाडौं, २ फागुन ।  गएको आम निर्वाचनका समयमा तत्कालिन नेकपा एमाले र माओवादी केन्द्रका विच गठबन्धन भयो । वाम गठबन्धन बनेपछि त्यसले अरु वामपन्थी मतदातालाई जस्तै मलाई पनि उत्साहित गर्यो । जिन्दगीमा एकपटक कम्युनिष्ट पार्टीको बहुमत प्राप्त सरकार बनोस भन्ने पुरानै चाहनाले आकार लिने बेला आएको थियो । मन त्यसै चौ चौ भयो । उमेद्वारी दर्ता भएर निर्वाचन सुरु भएको पहिलो साता नै म कास्की प्रदेश नम्बर एकको निर्वाचन प्रचारमा सहभागि हुन पुगें । पहिलो दिन माझठानामा उमेद्वारहरुसंगै प्रचारमा जाँदै थिएँ मित्र हरी रोकाको फोन आयो । हरी जिले भन्नु भयो लौ वाम गठबन्धनको पक्षमा मतदान गर्न अपिल गर्दै हामीहरुले एउटा वक्तव्य दिने भयौं त्यसमा तपाईको पनि नाम राखौं है ? मैले त्यसमा कुनै आपत्ती गर्नुपर्ने देखिन ।


निर्वाचनमा मत माग्न भाषणै गर्न जान लागेको मान्छेले वक्तव्यमा हस्ताक्षर गर्नु कुनै ठुलो कुरो पनि भएन । अलिअलि चर्चामा आउने रहरपनि जाग्यो होला । हुन्छ भनिदिएँ । सौरेको बजार र रत्नशोभा स्कुलनिरको सभामा भाषण गरेर हिँड्न लाग्दा काठमाण्डौबाट पत्रकार मित्रहरुले फोन गर्न थाले । ए तैंले त बाबुराम भट्टराईका विरुद्ध वक्तव्य दिएर नारायणकाजीलाई मत मागिछस नि ? हैैट !


कता वाम गठबन्धनका लागि मत माग्न हिँडेको म एकजना बाबुराम भट्टराईकोे विरोध र नारायणकाजीको समर्थनमा वक्तव्य दिने निम्छरो हैसीयतमा झरेछु भन्ने लाग्यो । त्यो रात राम्रोसंग निदाउन पनि सकिन । यस्तो वक्तव्य दिन थाल्यो भने गठबन्धनका नेताहरु केपी ओली, प्रचण्ड, माधव, वामदेव या भुषाल भट्टराई खनालहरुको समर्थनमा तत्तत् क्षेत्रका अरु दलका उमेद्वार विरुद्ध वक्तव्य दिदै हिँड्नुपर्ने खातीर आइलाग्ला ।  आईसकेको वक्तव्यको विरुद्ध खण्डन गर्नुपनि शोभनीय हुँदैनथ्यो । भोलीपल्ट साँझ  ब्लगमा गएर खण्डन लेखें र ट्विट गरेर हिँडें । एउटा बद्नामीजस्तो अनुभुती भै नै रह्यो ।

कता वाम गठबन्धनका लागि मत माग्न हिँडेको म एकजना बाबुराम भट्टराईकोे विरोध र नारायणकाजीको समर्थनमा वक्तव्य दिने निम्छरो हैसीयतमा झरेछु भन्ने लाग्यो । त्यो रात राम्रोसंग निदाउन पनि सकिन ।

 

यता काठमाण्डौमा आएर अखबारहरुमा स्तम्भ या टिप्पणी लेख्न थालेको लगभग २० बर्ष भयो । पहिलो लेख जन आस्थाका लागि लेखेको थिएँ । पाँचबर्ष जति लगातार जनआस्थामा लेखें । त्यसका सम्पादक शिर्षक भाँचकुच पार्न र आफ्नो शैलीमा ढाल्न खप्पिस थिए । कहिले कहिँ त लेखेको आर्टिकल सम्पादकीय छापिने कोलममा विना नाम पनि आउँथ्यो । टोकन स्वरुप केही पैसा दिन्थे । आफ्नो लेख्ने सोख पुरा हुन्थ्यो । पाठकहरु बन्दै गएका थिए । त्यसैमा चित्त बुझाईन्थ्यो । पछि काठमाण्डौको बेरोजगारीसंग संघर्ष गर्नैैका लागि पनि दैनिक पत्रिकामा लेख्न थालियो । यहि एउटा पहिचान र व्यसन पनि बन्दै गयो । जीविकाको स्रोत पनि । मलाई कहिल्यै लागेको थिएन यहि लेख लेख्ने आफ्नो रुची र वाध्यताका कारण पछि गएर टिभी या रेडियो अथवा पत्रपत्रिकामा टक सोमा जाने अथवा टिप्पणी र कोट दिने अवस्था आईलाग्छ । तर भयो त्यस्तै र अहिले त्यसको मार खेपीरहेको छु ।

पछिल्ला तिनवटा घटना छन जसले नेपालको आम सञ्चार गृहहरु कसरी पक्षपात पूर्ण व्यबहार गर्छन, आफ्नो स्वार्थ या मतलाई विश्वसनीय बनाउन कसरी अरुको हुर्मत लिन्छन भन्ने देखाउँछन । पुसको १९ गतेतिर हुनुपर्छ म आफ्नो गाउँपालिकाको ताङतिङमा आयोजित एउटा कार्यक्रममा सहभागि भएर फर्कदै थिएँ । नेपाल साप्ताहिकका गोकर्ण भन्ने एकजना पत्रकारले फोन गरे । उनले मन्त्री योगेश भट्टराईको कामको मुल्याँकन गर्ने क्रममा मसँग एकाध प्रश्न सोधेका थिए । आफु पहिले काम गरेको पत्रिका यसै पनि त्यसप्रति लोयल्टी हुन्छ । मैले उनलाई पन्छाउन चाहिन । सारमा मैले योगेश भट्टराईको परफर्मेन्स अरु मन्त्रीको तुलनामा राम्रै रहेको तर केही विषयमा अध्ययन नगरि नबोल्दा या गर्न सकिने कुरा मात्रै बोल्ने गर्दा राम्रो हुन्थ्यो भनेर आफ्नो भनाइ राखेको थिएँ । कुरा भयो मैले विर्सें । माघ पाँच गते एउटा कार्यक्रममा योगेश भट्टराई भेट भए । यी दाई पनि मलाई सहयोग गर्छु भन्नु छैन अनेक वलि सुझाव मात्र दिदा रहेछन भनेर ठट्यौली शैलीमा गुनासो गरे । म अलमलमा परें ।

माघ पाँच गते एउटा कार्यक्रममा योगेश भट्टराई भेट भए । यी दाई पनि मलाई सहयोग गर्छु भन्नु छैन अनेक वलि सुझाव मात्र दिदा रहेछन भनेर ठट्यौली शैलीमा गुनासो गरे । म अलमलमा परें ।

 

सम्झदै जाँदा मलाई गोकर्णसँगको कुराकानी याद आयो । घरमा पुगेर अनलाईनमा खोज्दै उनको रिपोर्ट हेरें । त्यहाँ त मेरो भनाई भन्दा उल्टो अर्थ लाग्ने गरि भाँचकुच पारेर राखिएको रहेछ । कतिसम्म भने ‘उनले यस्तो ठानेका रहेछन’ भन्ने भाषामा विल्कुल गैर जिम्मेवारीपूर्ण ढंगले आफ्नो स्रोतलाई उडाउन खोजेको बुझिने गरि लेखेको रहेछ । मैले सम्पादक वसन्त वस्नेतलाई फोन गरेर के गर्देको यार भनेर आफ्नो चित्त दुःखाई विसाएं । उनले त्यसलाई हल्का फुल्का ढंगले लिए र म हेर्छु भनेर फोन राखे । त्यसपछि उनले फोन गरेका छैनन । वसन्तले भने अनुसार मेरो भनाईमा छेडखानी गर्ने गोकर्ण अहिले कान्तीपुर दैनिकमा सरेका छन् ।

माघ पहिलो साता नेकपा सचिवालयले अग्नी सापकोटालाई सभामुख चयन गर्ने निर्णय गर्यो । सात गते उनले सभामुखमा उमेद्वारी दिए । काठमाण्डौको एउटा तप्का खुलेर अग्नीको उमेद्वारीको निर्णय विरुद्ध लाग्यो । यहि मेलोमा हिमाल साप्ताहिकबाट सइन्द्र राइ (जर्नालिष्ट) ले फोन गरे । उनले अग्नीलाई सभामुख बनाउने सफलता पछि नेकपामा प्रचण्ड बलियो भएका हुन ? भन्ने प्रश्नको वरपर रहेर सोधेका थिए । मैले नेकपामा अहिले नै त्यस्तो शक्तिको आँकलन गर्न नमिल्ने भन्दै कहिले प्रचण्ड र ओली मिलेको र कहिले प्रचण्ड र माधव नेपाल मिलेकोले  कोही शक्तिशाली र अर्को कमजोर भन्न मिल्ने गरि धु्रविकरण देखिएको छैन भन्ने भनाइ राखेको थिएँ । पार्टी बाहिरका अरु राजनीतिक शक्तिहरुसंगको सवालमा भने ओलीको भन्दा प्रचण्डको सम्वन्ध अलि सहज र स्विकार्य रहेको देखिन्छ भनेको थिएँ ।

समाचार आउँदा प्रचण्ड जताततै ठिक्क पार्न सक्ने स्वभावको (वेसारे अर्थ लाग्ने) भएको भन्दै आफ्नो पत्रिकाको स्वार्थ अनुसार आसय वँग्याएर आफ्नै भषामा आएको रहेछ । प्रचण्ड बलियो भएको भन्ने तर्कमा मलाई घुसाउन खोजिएको पनि । मैले सइन्द्रलाई सम्पर्क गर्न फोन गरें उठाएनन । पत्रिकाको कार्यालयमा फोन गरेर सम्पादक किरण नेपाललाई आफ्नो चासो व्यक्त गरें । पत्रिकाले लेखेको कुरालै नै मलाई कुनै अप्ठेरो पर्ने त होइन तर मसंग कुरा गरिसके पछि मैले नभनेको कुरा भनेको जस्तो बनाएर किन लेखेको भनेर आपत्ती जनाएँ । उनले त्यसलाइ गम्भिरतापूर्वक लिएनन । बरु म सइन्द्रलाई नै तपाईसंग कुरा गर्न लगाउँछु भने । १५ दिन भयो होला सइन्द्रले फोन गरेको पनि छैन किरणले खै गरेको पनि छैनन ।

२ फव्रुअरीका दिन इमेज च्यानलबाट राम दाहालको फोन आयो । पुरानो चिनजानको साथि । गफिदै जाँदा एउटा बाईटका लागि कुरा गर्न चाहेको भनेर अनुरोध गरे । झट्ट हुन्न भन्न नसक्ने स्वभाव पनि छ मेरो । तैपनि म तर्किन खोज्दै थिएँ उनले जता भएपनि भेट्न पठाउँछु भनेर जोड बल गरे । मेरो शहर झर्ने काम थियो । कुपण्डोलमा रोमन आचार्यले भेटेर कुरो गरे । जम्मा सात साढेसात मिनेट जतिको रेकर्ड भएको रहेछ । उनको जिज्ञासा एमसिसिको घटनाले नेकपामा महाकाली सन्धिको जस्तो अवस्था आउँने त हैन भन्ने थियो । मैले त्यस्तो हुँदैन, अहिले केही प्रश्न र विवाद भएपनि झलनाथ खनालको नेतृत्वमा समिति बनाएकै एमसिसि पास गर्नलाई हो भन्ने अर्थ लाग्ने गरि बोलेको थिएँ । प्रधानमन्त्रीले संसदमा सरकारको बहुमत भएकोले सहजै पास हुन्छ भन्ने ठानेर पार्टी नेतृत्वलाई आयोजनाबारे विश्वासमा लिन पर्याप्त समय नदिएको हुनसक्छ भन्दै यो आयोजना स्विकार गर्दा नेपाललाइ फाइदा हुन्छ संसदबाट पास पनि हुन्छ भन्ने आसयको कुरा गरेको थिएँ ।

 

म टिभी न्युज त्यतिसारो हेर्दिन । त्यो समाचार पनि कस्तो आयो कस्तो दियो भन्ने चासो राखिन । समाचारकोे अनलाईन भर्सनमा राखिएको स्किृप्ट हेरेको एउटा साथिले खै गर्यो । खोजेर हेरें । रोमनसंग भिडियो रेकर्ड पनि मागेर सुनें । मेरो भनाइ र स्कृप्टको लेखाइका विच कुनै तालमेल देखिन्न । त्यसमा पत्रकार प्रतिक प्रधानका भनाई पनि छन् । शिर्षक राखिएको छ एमसिसि अस्विकार गर्ने उपाय खोज्दै कार्यदल गठन गरिएको विश्लेषकको टिप्पणी । त्यसभित्र ओलीको दम्भको पारो घटेको विश्लेषक सुवेदीको ठम्याई छ भन्ने वाक्य पनि छ । मेरो भनाई र यो शिर्षक तथा पछिल्लो वाक्यका विच कुनै आइनो साइनो छैन । मैले इमेजका जगदिश खरेललाई यसबारे जिज्ञासा राखें । उनले आफु नेपालगञ्ज भएको र आएपछि बुझ्ने भनेर बताएका थिए् । त्यसै दिन साँझ रोमनले फोन गरेर आफ्नो गल्ती महसुस गरे । तर जे सार्वजनिक रुपमा जानु थियो त्यो गैसक्यो र उनले मसंग निजी रुपमा गरेको कुरा सार्वजनिक हुने भएन ।

आमसञ्चार र जर्नालिजमा सिद्धान्तहरुले यसरी स्रोतसंग कुरा गरिसके पछि उसका मतहरु जस्ताको तस्तै नराख्नु वेइमानी मान्छन होला । मैले नभनेका कुरा भनेको भनेर छापिएपछि त्यसले सार्वजकि वृत्तमा मेरो व्यक्तित्व या पहिचान उल्टोपाल्टो बनाएर पेश गर्छ

 

यी माथिको केही उदाहरण नेपालको पत्रकारितामा कसरी स्रोतहरुलाई समेत दुरुपयोग गरिन्छ, कसरी पत्रकारितालाई मिसनले जिते पछि त्यसले घटनाहरुलाई उल्टोपाल्टो पारेर पस्किन्छ भन्ने विषयमा मैले भोगेका सन्दर्भ हुन । यस अघि पनि मैले यस्ता घटना भोगेको छु ।

आमसञ्चार र जर्नालिजमा सिद्धान्तहरुले यसरी स्रोतसंग कुरा गरिसके पछि उसका मतहरु जस्ताको तस्तै नराख्नु वेइमानी मान्छन होला । मैले नभनेका कुरा भनेको भनेर छापिएपछि त्यसले सार्वजकि वृत्तमा मेरो व्यक्तित्व या पहिचान उल्टोपाल्टो बनाएर पेश गर्छ । मप्रतिको आम धारणा यस्ता कुराबाट प्रभावित हुन्छ । माथिका उदाहरणले मेरो मान हानी भएको या अपमान भएको मैले महशुस गरें । यो अक्षम्य गल्ती गर्ने छुट कसैलाई पनि हुनुहुन्न ।

यो लेख पत्रकार या सम्पादकहरुलाई लज्जित बनाउन लेखिएको होइन, म त्यस्तो हैसीयत पनि राख्दिन । बरु पछिल्लो समय आम सञ्चारका साधनहरुले खोजेको र स्रोत बनाउन चाहेको विषयलाई हल्का ढंगले लिएर आफुले आफैलाई मुर्ख बनाउन समय खर्च गर्न पुगेछु भनेर पस्चाताप लागेकोले लेखिएको हो । हामीकहाँ एउटा उखान छ नदुःखेको कपाल डोरी लाएर दुःखाउनु । म पनि यसरी नै डोरी लगाउँदै कपाल दुःखाउँदै आएको रहेछु ।

हरी रोकाले आग्रह गरे भन्दैमा वक्तत्व नपढी स्विकार नगरेको भए त्यो घटनामा म उल्लु ठहरिने थिइन । पत्रिका र टिभीवालाले आग्रह गरे भन्दैमा जान्ने भएर प्रतिक्रिया नदिएको भए यसरी जोकर बनाइने थिइन । मैलाई उपयोग गरेर मेरै विचार र मान्यता खण्डित हुने गरि समाचार बनाउने, जागिर पकाउने, पत्रिका र टिभी चलाउने, कुरा उठाउँदा निर्लज्जसंग लाज पचाएर हाँस्ने र आफ्नो स्रोतको खिल्ली उडाउने पत्रकारिता देखेर दया लागेर आउँछ । यी ‘मास कम्युनिकेशन एण्ड जर्नालिजम’वालाहरुका लागि स्रोत बनेर हुस्सु बनेको चाल पाएपछि आफु देखेर हासो उठ्न थालेको छ । फुलेको यो छोटो कपालमा डोरी लगाएर आफ्नै टाउको दुखाउने हुस्सु पना मबाट अव सकेसम्म दोहोरिने छैन ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७