सर्‍यो प्रधानमन्त्रीको संसद सम्वोधन


२ फाल्गुन २०७६, शुक्रबार
samsad

काठमाडौं, २ फागुन । आज (शुक्रबार) तय भएको प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभालाई सम्वोधन गर्ने कार्यक्रम सरेको छ ।

संघीय संसद राष्ट्रियसभा सदस्य दुर्गाप्रसाद उपाध्यायको निधनका कारण प्रधानमन्त्रीको सम्वोधन अर्को वैठकसम्मका लागि सारिएको स्रोतले जानकारी दिएको छ । सरकारको २ वर्ष पुगेको अवसरमा उनले यसबीच भए गरेका कामको बारेमा संसदमार्फत जानकारी गराउने कार्यक्रम रहेको थियो । आजको बैठक स्थगित हुने भएपछि प्रधानमन्त्रीले अर्को बैठकमा मात्रै आफ्ना धारणा राख्ने भएका छन् ।

संघीय संसद राष्ट्रियसभा सदस्य दुर्गाप्रसाद उपाध्यायको निधनको सूचना कांग्रेसले संसद सचिवालय र सभामुख अग्नि सापकोटालाई जानकारी गराएको छ । कांग्रेस संसदीय दलकी सचेतक पुष्पा भुषालले सांसद उपाध्यायको शुक्रबार बिहान निधन भएको जानकारी गराइएको बताइन् ।

उनले कार्यव्यवस्था परामर्श समितिमा पनि उक्त कुरा राख्ने जानकारी दिइन्। बहालवाला सांसदको निधन भएकाले शुक्रबार २ बजेका लागि बोलाएको बैठक शोक प्रस्ताव पारित गरेर स्थगित हुने जानकारी सभामुख निकट स्रोतले जानकारी दिएको छ ।

संसद सचिवालयका सचिव गोपलानाथ योगीका अनुसार बहालवाला सांसदको निधनमा शोक प्रस्ताव पारित गरेर संसद बैठक स्थगित गर्ने निर्णय यसअघि भएको थियो । ‘बहालवाला सांसदको निधनमा संसद बैठक बसेर शोक प्रस्ताव पारित गर्ने र स्थगित गर्ने कार्यव्यवस्था परामर्श समितिले यसअघि नै निर्णय गरेको छ । पूर्व सांसदको निधनमा भने संसद बैठकको अन्तिममा शोक प्रस्ताव पारित गरेर स्थगित गर्ने चलन छ,’ उनले भने ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७