एआइजीको तीन दरबन्दीमा कति जनाको भिडन्त, क-कसले मार्ला बाजी ?


४ फाल्गुन २०७६, आईतवार
Nepal police

काठमाडौं, ४ फागुन । प्रहरी महानिरीक्षक (आईजीपी) मा ठाकुर ज्ञवालीको नियुक्तसँगै रिक्त प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) पदका लागि भिडन्त शुरु भएको छ ।

एआईजी पदका लागि तीन जनाको दरबन्दी रिक्त छ । तीन पदका लागि अहिले सात जना डीआईजी प्रतिष्पर्धामा छन् । गृह मन्त्रालयले एआईजी बढुवाको गृहकार्य शुरु गरेको जनाए पनि बढुवा सहज नभएको स्रोतले जानकारी दिएको छ ।

निवर्तमान आईजीपी सर्वेन्द्र खनाल, तीन एआईजी पुष्कर कार्की, धिरु बस्न्यात र ठूले राईसहित १७ डीआईजी मंगलबारबाट ३० वर्षे सेवाअवधीका कारण अवकाशमा गइसकेका छन् ।

१७ डीआईजी अवकाशमा रहेको अवस्थामा आठ जना डीआईजी भने कार्यरत थिए । आठ जना डीआईजीमध्येबाटै ज्ञवाली आईजीपी बनेका हुन् । अब डीआईजीमा आईजीपीकै व्याचका तारणी लम्साल, सूर्य उपाध्याय छन् ।

तीन एआईजीका लागि सात डीआईजी प्रतिष्पर्धामा रहेका छन् । एआईजी दौडमा आईजीपीको दौडबाट बाहिरिने दुई डीआईजीसहित विशेष ब्युरोका प्रमुख डीआईजी हरिबहादुर पाल, प्रहरी प्रवक्ता डीआईजी शैलेश थापा क्षेत्री, प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) प्रमुख निरज शाही, प्रदेश २ प्रमुख प्रद्युम्न कार्की र महानगरीय प्रहरी कार्यालयको प्रमुख डीआईजी विश्वराज पोखरेल एआईजीका दाबेदार हुन् ।

तारणी लम्साल हाल सुदुरपश्चिम प्रदेश प्रहरीको प्रमुख छन् भने सूर्य उपाध्याय प्रहरी प्रधान कार्यालयमा छन् । सबैले एआईजीका लागि लविङ तीव्र पारेका छन् । यस्तो अवस्थामा नयाँ आईजीपी एआईजीमध्येबाटै हुनेछ । त्यसैले लम्साल र उपाध्यायबाहेक पाँच जना सबै एआईजी वढुवाका लागि आफूअनुकूल लविङमा दौडधुपमा छन् ।

भावि आईजीपी एआईजीबाटै हुने सम्भावनाका कारण सरकार पनि आफूअनुकूल व्यक्तिलाई एआईजी बनाउन लाग्ने अवस्था रहेको एक उच्च प्रहरी अधिकारीको दाबी छ । डीआईजी क्षत्री, पाल, शाही र कार्की एआईजीमा वढुवा नभए उनीहरुमध्येबाटै आईजीपी हुने सम्भावना न्युन हुनेछ ।

तीन एआईजीले अपराध अनुसन्धान विभाग, राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान र मानवस्रोत तथा प्रशासन विभाग सम्हाल्ने छन् । हाल डीआईजीले कमाण्ड गर्ने ५ प्रदेशमा एसएसपी मात्रै छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७