महराको अन्तिम सुनुवाइ आज, फैसला आजै आउने सम्भावना


४ फाल्गुन २०७६, आईतवार
mahara

काठमाडौं, ४ फागुन । बलात्कारको अभियोग लागेका प्रतिनिधिसभाका निवर्तमान सभामुख कृष्णबहादुर महरामाथिको आज (आइतबार) अन्तिम सुनुवाइ शुरु भएको छ । जिल्ला अदालत, काठमाडौंका न्यायाधीश अमराज पौडेलको इजलासमा अन्तिम सुनुवाइ शुरु भएको हो ।

अदालतका श्रेस्तेदार आनन्दप्रसाद श्रेष्ठले सम्भवतः आजै फैसला आउन सक्ने जानकारी दिए । यसअघि ३ पुसमा महरालाई थुनामा राख्ने जिल्ला अदालतको आदेश उच्च अदालत पनि सदर गरेको थियो । तर, उनको मुद्दा एक महिनाभित्र किनारा लगाउन भनेको थियो ।

संसद सचिवालयकै कर्मचारीलाई बलात्कार प्रयास गरेको आरोपमा १९ असोजमा पक्राउ परेका महरालाई जिल्ला अदालत काठमाडौंले पुर्पक्षका लागि थुनामा पठाएको छ । महरालाई १८ कात्तिकमा डिल्लीबजार कारागार चलान गरिएको थियो । पुर्पक्षका लागि थुनामा राख्ने जिल्लाको आदेशविरुद्ध महरा मंसिर ५ गते उच्च अदालतमा निवेदन दिएका थिए ।

महरामाथि १२ असोजको साँझ संसद् सचिवालयकी महिला कर्मचारीलाई बलात्कारको प्रयास गरेको आरोप लागेको थियो । आफूले प्रतिवाद गर्दा कुटपिट गरेको दाबी गर्दै उनले प्रहरी कन्ट्रोलको १०० मा फोन गरेर गुहार मागेकी पनि थिइन् । उनको फोनका आधारमा महानगरीय प्रहरी वृत्त, बानेश्वरको टोली उनको कोठामा पुगेको थियो ।

त्यसको भोलिपल्ट महराको घटना बाहिरिएको थियो । तर, महरा र उनको सचिवालयले भने आरोप अस्वीकार गरेको थियो । त्यसवेला महराले कर्मचारी समायोजनमा परेपछि आफूमाथि झूटो आरोप लगाएको दाबी गरेका थिए ।

तर महरा र पीडित महिलाको कल डिटेल रेकर्ड (सीडीआर), सीसी टीभी फुटेज लगायतको विश्लेषणबाट प्रहरीले महरा त्यो दिन सुविधानगरस्थित महिलाको घरमा पुगेको निष्कर्ष निकालेको थियो ।

१४ गते बसेको सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) सचिवालय बैठकले उनलाई सभामुख र सांसद दुवै पदबाट राजीनामा दिन सुझाएको थियो । उनको राजीनामा आएको केहीबेरमा पीडित महिलाको नयाँ भिडियो सार्वजनिक भयो ।

जुन भिडियोमा ती महिलाल महरा आफ्नो कोठामा नआएको र आफूले ओभरडोज औषधि खाएका बेला झूटो बोलेको बताएकी थिइन् । जिल्ला अदालत काठमाडौंमा पनि पीडित भनिएकी महिलाले बलात्कार नभएको दाबी गरेकी थिइन् ।

तर, उपलब्ध प्रमाणका आधारमा महरालाई कसूरदार होइनन् भनी मान्न नसकिने भन्दै पुर्पक्षका लागि थुनामा पठाउने आदेश भएको थियो । त्यसयता उनी डिल्लीबजार कारागारमा सजाय भुक्तान गरिरहेका छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७