गगन थापाले भने–डा. केसीलाई पक्रिने भए हामी सबैलाई पक्रिनुस्


२५ पुष २०७४, मंगलवार
kc 1

काठमाण्डौं : अदालतको अपहेलना गरेको आरोपमा सर्वोच्चको आदेश अनुसार पक्राउ परेका डा. गोविन्द केसीलाई बयानमा लागि सर्वोच्च अदालतमा उपस्थित गराइएको छ । ba
मंगलबार विहान ९ बजे प्रहरीले केसीलाई अदालतमा उपस्थित गराएको हो । सोमबार न्यायाधीश डम्बरबहादुर शाहीको एकल इजलासको आदेश अनुसार केसीलाई गए राति अनसनस्थलबाटै पक्राउ गरिएको थियो । अदालतमा केसीको बयान हुनेछ । बयना नसकिएमा निरन्तर राख्न इजलासले आदेश दिन सक्ने छ ।

चिकित्सा शिक्षा सुधारका लागि भन्दै पटक पटक अनशनमा बस्दै आएका केसीले पछिल्लो पटक गत आइतबार सर्वोच्चले गरेको एक फैसलाको आलोचना गर्दै प्रधानन्यायाधीश गोपाल पराजुली भ्रष्ट रहेको भन्दै बर्खास्त गर्न माग गरेका थिए। चार वर्षअघि आइओएमको डीनबाट हटाइएका डा. शशी शर्मालाई प्रधानन्यायाधीश पराजुली समेतको इजलासले पुनर्वहालीको आदेश गरेपछि केसीले उक्त आदेशविरुद्ध अनसन शुरु गरेका थिए । अनसन शुरु गरेकै दिन केसीले मिडियामा दिएका अभिव्यक्तिकै आधारमा सर्वोच्च प्रशासनले केसीविरुद्ध टिप्पणी उठाइ अपहेलना मुद्दा दर्ता गरेको थियो । सोमबारकै पुरक पेशीमा मुद्दाको सुनुवाइ गरी १७ घण्टाभित्र अदालतमा बयानका लागि हाजिर गराउन लिखित आदेश गरेको थियो ।

यसैबीच नेपाली कांग्रेसका चर्चित युवा नेता गगन थापाले जनताको पक्षमा बोल्दा डा. गोविन्द केसीलाई मानहानीको मुद्धा लाग्ने भए आफूहरु सबैलाई पक्रेर देखाउन प्रधानन्यायाधिशलाई चुनौति दिएका छन् ।

प्रहरीले सोमबार साँझ पक्राउ गरेका डा. केसीको समर्थनमा मंगलबार विहान माइतीघर मण्डलामा आयोजना गरिएको प्रदर्शनमा बोल्दै नेता थापाले डा. केसीको अभिव्यक्ति सर्वोच्च अदालतको मानमर्दन गर्न नभई मान जोगाउनका लागि भएको दावी गरेका छन् । उनले भने–आम नेपालीको स्वास्थ्य सरोकारको विषयमा बोल्ने डा. केसीलाई पक्राउ गरिन्छ भने यहाँ भेला भएका हामी सबैलाई पक्रेर देखाउनुस् ।’ सम्मानित अदालतप्रति आफूहरुको सम्मान रहे पनि न्यायाधीशको भ्रष्ट प्रवृत्तिका कारण न्यायालयमाथि सधैं प्रश्न उठ्ने गरेको गगनको भनाई थियो ।

तत्कालीन राजा ज्ञानेन्द्रको शासनकालको स्मरण गर्दै उनले अदालत बाहिरको नाराकै कारण आफूहरुलाई राजद्रोहको मुद्दा नलागेको बताएका छन् । ‘अदालतमा बहस चलिरहेका बेला मैले भनेको थिएँ, बाहिर ज्ञाने चोर देश छोडको नारा लागिरहेको छ । त्यसमा बहस गरिरहनु भएका सुवास नेम्वाङले ‘गगनलाई मानहानी लाग्छ भने बाहिरका सबैलाई लगाउनुस्’ भनेपछि हामीलाई तारेखमा छाडिएको थियो’–उनले भने । केसीलाई तत्काल रिहा गर्न माग गर्दै थापाले उनले उठाएका मागबारे गम्भीर छानबिन गर्नुको सट्टा जनताको पक्षमा आएको बोलीलाई थुन्ने प्रयास गर्नु अनुचित हुने बताए । अहिले डा. केसीको पक्राउको विरोधमा देशभर विरोधका स्वर सुनिन थालेका छन् ।

यता डा. केसीले भने आफू जनताको न्यायको पक्षमा रहेकाले आफूलाई जेल हालिए त्यहिंभित्र अनसन शुरु गर्ने बताइरहेका छन् । प्रहरी प्रवक्ता मनोज न्यौपानेले भने आफूहरुको काम सर्वोच्चको आदेश पालना गर्ने मात्र भएको र अन्य कार्वाहीको विषय सर्वोच्च अदालतकै हातमा रहने बताएका छन् । प्रधान न्यायाधिश गोपाल पराजुलीको राजीनामा माग गर्दै डा. केसी सोमबार दिउँसो ४ बजेदेखि अनसनमा बसेका थिए । उनलाई अनसनस्थलबाटै अनामनगर प्रहरीको टोलीले पक्राउ गरेको थियो ।

पाँच बुँदे माग राख्दै १४ औं पटक अनसन थालेका डा. केसीले पराजुलीको राजीनामालाई पहिलो माग बनाएका छन् । साथै उनीमाथि छानविन गरेर कार्बाही गर्नुपर्ने बताएका छन् । चिकित्सा शिक्षा आयोग गठन, आईओएमका डीनमा जेपी अग्रवाललाई कायमै राख्नु पर्ने तथा शशी शर्माका साथै त्रिवि पदाधिकारीलाई बर्खास्त गर्नुपर्ने उनका माग छन् । अनसन बस्नुअघि पत्रकार सम्मेलन गर्दै डा. केसीले प्रधानन्यायाधीश पराजुली भ्रष्ट र माफिया भएको आरोप लगाएका थिए । ‘हाम्रो न्यायालय न्याय दिने होइन, न्यायको किनबेच गर्ने, भ्रष्ट र अपराधीहरुसँग मिलेमतो गरेर तिनीहरुको संरक्षण गर्ने तथा इमान्दारहरुलाई दण्डित गर्ने गिरोहको नियन्त्रणमा छ’–उनले पत्रकार सम्मेलनमा भनेका थिए ।

केसीको समर्थनमा डा. भट्टराई, गगन थापा, रविन्द मिश्रदेखि सर्वसाधरणसम्म

अदालतको अपहेलना मुद्दामा पक्राउ परेका डा. गोविन्द केसीको समर्थनमा ‘सोलिडारिटी फर डा. केसी एलाइन्स’ ले विरोध प्रदर्शन गरेको छ । विरोध प्रदर्शनमा नयाँ शक्ति नेपाल पार्टीका संयोजक डा.बाबुराम भट्टराई, साझा विवेकशील पार्टीका संयोजक रवीन्द्र मिश्र, नेपाली कांग्रेसका गगन थापालगायत कलाकार र सर्वसाधरणहरुको पनि उपस्थित थिए । एलाइन्सले सर्वोच्च नजिकै माइतीघर मण्डलामा बिहान ८ बजे विरोध प्रदर्शन गरेको हो ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७