भिल्लाकाे देशमा मणिको नियति भोग्दै म्याग्दीको पर्यटन


५ फाल्गुन २०७६, सोमबार
myagdi

म्याग्दी, ५ फागुन । प्रशस्तै पर्यटकीय सम्भावना भएर पनि ठोस योजना र आवश्यक लगानीको अभावमा म्याग्दीको पर्यटन क्षेत्र फस्टाउन सकेको छैन ।

स्थलमार्गका लागि मुस्ताङको प्रवेशद्वार, अन्नपूर्ण संरक्षण क्षेत्रको आकर्षकस्थल, प्राकृतिक सौन्दर्य र हिमाली दृष्य नियाँल्ने आँखिझ्याल मानिएको म्याग्दीमा पर्यटकलाई आकर्षित गर्ने दर्जनौँ स्थलहरु भए पनि सरोकारवालाको वेवास्ता र लगानीकर्ताहरुको अभावका कारण पर्यटकीय सम्भावनाले युक्त दर्जनौं ठाउँ अझै पनि ‘भिल्लाका देशमा मणि’ को नियति भोग्न बाध्य भएका छन् ।

राउन्ड अन्नपूर्णको आकर्षक गन्तव्य मानिएको घोडेपानी, पुनहिल, भुरुङ तातोपानी, प्राकृतिक चिकित्सालयका रुपमा चर्चित सिङ्गा तातोपानी कुण्ड, संसारकै गहिरो अन्धगल्छी, रुप्से झरना, धौलागिरि र अन्नपूर्ण आधार शिविर तथा ढोरपाटन सिकार आरक्षलगायत केही स्थानमा केही वर्षयता सामान्य रुपमा भौतिक पूर्वाधार निर्माण भए पनि जिल्लाका अन्य पर्यटकीयस्थलहरु दशकौं अघिकै अवस्थामा रहेका स्थानीयवासीले बताएका छन् ।

म्याग्दीमा संसारकै सातौं अग्लो हिमाल धौलागिरि पहिलो (आठ हजार १६७ मिटर), अन्नपूर्ण पहिलो (८,०८१) मिटर, गुर्जा, मानापाथीलगायत विभिन्न ११ वटा हिमाल रहेका छन् । यी हिमालको आधार शिविरसम्म पुग्नका लागि न व्यवस्थित पदमार्ग छ न त होटल, रेष्टुरेन्ट तथा होमस्टेको नै उचित प्रबन्ध रहेको छ ।

म्याग्दीका ६ वटै स्थानीय तहका अधिकांश बस्तीबाट हिमश्रृङ्खला र हिमसौन्दर्यको दर्शन गर्न सकिने भए पनि स्थानीय सरकारले हिमाल दर्शनका लागि आवश्यक योजना र लगानीतर्फ कुनै कुनै चासो नदेखाएको पर्यटन व्यवसायीले बताएका छन् ।

पछिल्लो पटक पहिचान गरिएका धौलागिरि आइसफल, धौलागिरि सेञ्चुरी, अन्नपूर्ण धौलागिरी सामुदायिक पदमार्ग, गुरिल्ला, खोप्रा, खयर, बयली, गुर्जा, पश्चिम धौलागिरी, टोड्के, लभ्लीहिल, मोहरेडाँडा, करबाकेलीलगायत पर्यटकीयस्थलमा भौतिक पूर्वाधार र प्रचारप्रसारको आवश्यकता रहेको धौलागिरि पर्यटन परिषद् म्याग्दीका अध्यक्ष अमर बानियाँले बताए ।

संसारको सातौं अग्लो आठ हजार १६७ मिटर उचाइ भएको धौलागिरी पहिलोदेखि, अन्नपूर्ण पहिलो (८,०८१), गुर्जा (७,१९३), मानापाथीलगायत हिमाल म्याग्दीको सौन्दर्य बढाउने ‘चार चाँद’ हुन् । प्राकृतिक सुन्दरताको अनुपम उदाहरणका रुपमा वर्णन गरिने अन्नपूर्ण र धौलागिरि चक्रिय पदमार्गमा समेटिए पनि म्याग्दीले पर्यटनबाट अपेक्षाकृत लाभ लिन सकेको देखिँदैन ।

‘प्रकृतिले म्याग्दीलाई दिएको उपहारलाई पर्यटकीयस्थलका रुपमा विकास गरेर समुदाय र देशको आर्थिक विकासमा रुपान्तरण गर्नुपर्छ’, धौलागिरी पर्यटन विकास परिषद्का अध्यक्ष अमर बानियाँले भने, ‘पर्यटकीयस्थलको पहिचान, पूर्वाधार निर्माण, प्रचारप्रसार र प्रवर्धनको आवश्यकता छ ।’

सडक विस्तारसँगै पुराना पदमार्ग विस्थापित भएपछि पर्यटक आगमन निराशाजनक रुपमा घटिरहेको छ । पुराना पदमार्गको संरक्षण तथा नयाँको पहिचानमा पनि स्थानीय सरकारले ध्यान दिन नसकेको पर्यटन व्यवसायी बाबुराम आचार्यले बताए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७