द्वन्द्वको मारले पछि परेको ‘जोगबुढा’ विकासको पाइला बढाउँदै


६ फाल्गुन २०७६, मंगलवार
jogbudha

डडेलधुरा, ६ फागुन । भौगोलिक विकटता, नदी तथा खहरे खोलाका कारण समस्यामा ग्रसित डडेल्धुराको भित्री मधेश क्षेत्र ‘जोगबुढा’ पछिल्लो समय विकासको पथमा लम्कँदै गएको छ ।

द्वन्द्वकालमा सबैभन्दा बढी मारमा परेको भित्री मधेश क्षेत्र मुलुकको अवस्था फेरिएसँगै यहाँको अवस्थामा पनि परिवर्तन आएको महसुस स्थानीयवासीले गर्न थालेका छन् । स्थानीय तहमा जनप्रतिनिधिले काम शुरु गरेपछि सडक, नदी तथा खहरे खोलाको व्यवस्थापनमा तटबन्ध निर्माणदेखि, सिँचाइ, खानेपानी, शिक्षा, स्वास्थ्य तथा यातायातको क्षेत्रमा दु्रत गतिमा विकास भइरहेकोप्रति स्थानीयवासी हर्षित छन् ।

परशुराम नगरपालिकामा पर्ने भित्री मधेश क्षेत्रको विकासमा सङ्घीय सरकारदेखि स्थानीय सरकारको भूमिका बढ्दै गएको स्थानीय महादेव नाथले बताए । ‘२०२७ सालमा हामी यहाँ आउँदा विकासका नाममा केही पनि थिएन’, परशुराम नगरपालिका–६ बण्डका ८२ वर्षीय उनले भने, ‘विगत हेर्दा अहिले गाउँमा धेरै विकास हुँदै गएको छ ।’

सादनी खोला र महाकाली नदी किनारको परशुरामको पश्चिम क्षेत्रमा रहेको वडा नंं ६ र ७ सबैभन्दा बढी नदी कटानको समस्या भोग्दै आएको उनले गुनासो पोखे । ‘बिजुलीदेखि खानेपानीसम्मको व्यवस्था गाउँमा राम्रै भएको छ’, उनले भने, ‘शाखा सडकहरु खुल्ने काम पनि तीव्र गतिमा हुँदा यातायातको पहुँच बढेको छ ।’

उनले स्थानीय सादनी खोला र महाकाली नदीमा थप तटबन्ध आवश्यक रहेको बताए । ‘वर्षातमा त नदी तथा खबरे खोलामा बाढी आउँदा बस्तीबाट निस्कनै पाइँदैन’, उनले भने, ‘सादनी खोलामा पक्की पुल बन्ने योजनाले गाउँमा खुशीयाली छाएको छ ।’

अर्का स्थानीयवासी धने नाथले महाकाली करिडोरको कामलाई गति दिन माग गरे । ‘सादनीबाट कञ्चनपुरको ब्रह्मदेव दूरीका हिसाबले धेरै नजीक छ’, उनले भने, ‘पैदल यात्रा गर्दा तीन घण्टा समय लाग्छ ।’ सादनी, कुणा र बण्ड क्षेत्रका स्थानीयवासी अझै दैनिक उपभोग्य समान खरिदका लागि महाकाली नदीमा किस्ती तरेर भारतको टनकपुर बजार पुग्ने गरेको उनले बताए ।

सात वर्षअघि रङ्गुन र पुन्तरा नदीको बाढीले परशुराम नगरपालिका–६ का सिमलखेत, ठण्डाजाला, सरगौडा, बसगोइरा र पटरेनी गाउँका ५९ परिवार पूर्णरुपमा घरवारविहीन भएका थिए । तीन सयभन्दा बढी परिवार प्रभावित भएका थिए । डडेल्धुरा सदरमुकाम अमरगढीबाट करीब एक सय किलोमिटरको दूरीमा रहेको जोगबुढा कञ्चनपुरको भीमदत्तनगरबाट भने ३९ किलोमिटरको दूरीमा पर्छ ।

ठेक्का भएको तीन वर्ष बितिसक्दा पनि दैजी–जोगबुढा सडकखण्ड निर्माण नहुँदा स्थानीयवासी दुःखी छन् । बजेट अभाव र सङ्घ तथा प्रदेश सरकार कस्को स्वामित्वमा जाने भन्ने अन्योल रहँदा उक्त सडक केही समय अलपत्र परेको थियो ।

परशुराम नगरपालिका–९ का व्यवसायी हरिष बमले दैजी–जोगबुढा सडकखण्ड निर्माणमा भएको ढिलाइका कारण स्थानीयवासीले लामो दूरीको यात्रा सहनु परेको बताए । ‘एक घण्टामा भीमदत्तनगर पुग्ने अवस्था हुँदाहुँदै पनि २७ किलोमिटर सडक निर्माण केही समय प्रक्रियागत कारणले रोकियो’, उनले भने, ‘भीमदत्तनगर जान, बुडर हुँदै अत्तरियाबाट लामो बाटो प्रयोग गर्नुपर्ने बाध्यता अझै यथावत् छ ।’

उनले उक्त सडक निर्माणले केही समययता गति पाएको बताए । ‘कच्ची सडक भएकाले यातायातहरु जोखिम मोलेर चलाइरहेका छन्’, बमले भने, ‘पक्की सडक स्तरोन्नतिका लागि अहिले थालनी भएको छ ।’

परशुराम नगरपालिकाकै जनसंख्याको हिसाबले ठूलो वडा हो वडा नं ९ । कञ्चनपुरसँग सीमाना जोडिएको सो वडामा सडक सञ्जाल विस्तारदेखि खानेपानी, बिजुली लगायतका पूर्वाधार विकास हुने क्रम बढिरहेको छ ।

परशुराम नगरपालिकाका कार्यकारी अधिकृत तारानाथ पनेरुले नगरपालिका पनि बजेटसहित सडक, खानेपानी, शिक्षालगायत क्षेत्रको विकासमा अग्रसर रहेको जानकारी दिए । ‘ठूला आयोजनामा प्रदेश र सङ्घीय सरकारको पनि धेरै लगानी छ ।’ उनले भने, ‘यहाँको धार्मिक पर्यटकीय क्षेत्रको विस्तारदेखि राउटे समुदायको सहयोगसम्म नगरपालिकाको ध्यान पुगेको छ ।’

झण्डै ४४ हजार जनसंख्या रहेको जोगबुढामा पहाडी जिल्ला दार्चुला, बैतडी, बझाङलगायत जिल्लाका नागरिकको पनि बसोबास रहेको छ । चालू आवमा रु ५५ करोड ८७ लाख रकम विनियोजन गरेको परशुराम नगरपालिकाको आन्तरिक स्रोतबाट रु १९ करोड ५० लाख सङ्कलनको लक्ष्य लिएको छ ।

त्यसैगरी कृषि र आयमूलक व्यवसायमा लाग्ने किसानको सुविधाका लागि आवश्यक अनुदानदेखि तालीमसम्मको व्यवस्थापनमा नगरपालिकाको ध्यान दिएको छ । परशुराम नगरपालिका नगरप्रमुख भीमबहादुर साउँदले रु ५३ करोडको लागतमा डोटीको बुडरदेखि जोगबुढासम्म ३० किलोमिटर सडक कालोपत्र भइरहेको बताए ।

‘सङ्घीय सरकारको बजेटबाट उक्त सडक निर्माण हुँदैछ’, उनले भने, ‘अबको एक वर्षभित्र सडक कालोपत्र भइसक्छ ।’ हाल प्रदेश सरकारलाई हस्तान्तरण गरिएको उक्त सडक लामो समय सङ्घीयमा रहने कि प्रदेशमा आउने भन्ने विषयमा अन्योलता हुँदा काम प्रभावित भएको जनाइएको छ ।

त्यसैगरी दैजी–जोगबुडा सडक कालोपत्र काम पनि अगाडि बढेको उनले जानकारी दिए । ‘अहिले लिप्नासम्मको सडक निर्माण हुँदैछ’, उनले भने, ‘उक्त सडक पनि अन्योलताकै कारण ढिलाइ भएको हो ।’ त्यसैगरी जोगबुढादेखि गाइबादेसम्मको पाँच किलोमिटर सडक पनि कालोपत्र भइरहेको उनले जानकारी दिए । ‘द्वन्द्वकालमा सबैभन्दा बढी चपेटामा जोगबुढा क्षेत्र पर्दा विकासमा पछाडि परेको हो’, साउदले भने, ‘अबको विकास ग्रामीण बस्तीबाट हुनुपर्छ भनेर हामी अगाडि बढेका छौं ।’

त्यसैगरी सङ्घीय बजेटमै गुरुयोजनासहित आलिताल गाउँपालिकाको मौरीदेखि परशुरामका विभिन्न वडासम्म कटान गर्दै आएको रगुन खोलामा करीब १४ किलोमिटर तटबन्ध निर्माणको काम भइरहेको छ । ‘रगुन खोलाको तटबन्धका लागि पनि करीब रु ७५ करोडभन्दा बढी लगानी हुँदैछ’, नगर प्रमुख साउदले भने, ‘तटबन्ध नहुँदा विगतमा केही वडाका बस्ती विस्थापित भए अहिले पुनस्र्थापित हँुदैछ ।’

त्यसैगरी परशुराम नगरपालिका क्षेत्रमा ठूला तथा साना गरी सातवटा पक्की पुलको निर्माण कार्य समेत अघि बढेको छ । ‘सादनी खोलामा रु ४० करोड पुल निर्माणका लागि बोलपत्रमा गइसक्यो’, उनले भने, ‘यहाँका १२ वटै वडा कार्यालय पनि आ–आफ्नै भवनमा जाँदैछन्, केही गइसके ।’
त्यस्तै नगरप्रमुख साउदले अँध्यारो मुक्त परशुराम नगरपालिका बनाउने योजना सुनाए । उनले ३३ केभी विद्युत् जडानका लागि पहल भइरहेको बताउँदै विद्युतको सबस्टेशन समेत बनाउने जानकारी दिए ।

महाकाली करिडोर काम शुरु भइरहेको बताउँदै उनले आफूले शिक्षा, स्वास्थ्य र कृषिमा विशेष जोड पनि दिएको बताए । ‘अबको तीन वर्षभित्र यहाँका दुर्गम बस्तीसम्म सडक पुगिसक्छ’, उनले भने, ‘सिँचाइ क्षेत्रमा पनि ठूलो लगानी गरिएको छ ।’

गुरुयोजनासहित परशुराम धामको विकास

मुलुकका चारधाम मध्येको एक महत्वपूर्ण धाम हो, जोगबुढाको पर्शुराम धाम । यहाँको पर्शुराम नगरपालिका–५ परिगाउँस्थित महाकाली नदी किनारमा अवस्थित पर्शुराम धामको विकासका लागि नगरपालिका गुरुयोजनासहित अघि बढेको छ ।

jogbudha 1

नगरप्रमुख साउँदले पहिलो चरणमा धामको संरक्षणका लागि महाकाली नदीको तटबन्ध, स्नानघाट, विभिन्न देवीदेवताका मन्दिर धर्मशाला र धामभित्र सडक निर्माण भइरहेको जानकारी दिए । ‘दोस्रो चरणमा रु ५० करोडको योजनासहित धामको विकासका लागि अग्रसर हुँदैछौं’, उनले भने, ‘यसमा सङ्घीय र प्रदेश सरकारसित सहयोग र सहकार्यमै काम हुन्छ ।’

उनले भौतिक पूर्वाधार बनाउनाका साथै धामको प्रचारप्रसारलाई पनि प्राथमिकतामा राखिएको बताए । यहाँ हरेक माघे सङ्क्रान्तिका दिनमा ठूलो मेला लाग्ने गर्दछ । साथै धाममा शुभ कार्य विवाह, व्रतबन्ध समेत गर्ने गरेका छन् । धामको विकास गर्न सके भित्री मधेश क्षेत्रले विकासमा फड्को मार्न सक्ने विश्वास जनप्रतिनिधिले लिएका छन् ।

अक्षयकोष स्थापना गरेर शिक्षामा लगानी

पर्शुराम नगरपालिकाका नगरप्रमुख भीमबहादुर साउदले व्यक्तिगत लगानीमा दर्जनौँ विद्यालयमा लाखौँको अक्षयकोष स्थापना गरेर शिक्षामा सबैको पहुँच पुर्‍याउन पहल गरिरहेका छन् । उनले भित्री मधेशका २२ वटा सामुदायिक विद्यालयमा रु एक लाखभन्दा बढीका दरले अध्यक्षकोष स्थापना गरिसकेको बताए ।

गरिब, जेहेन्दार, अल्पसंख्यकका बालबालिकालाई अध्ययनमा सहयोग गर्ने उद्देश्यले अक्षयकोष स्थापना गरिएको नगर प्रमुख साउदको भनाइ छ । ‘अरू विद्यालयमा पनि क्रमिक रुपमा अक्षयकोष स्थापना गर्दै जाने योजनामा छु’, उनले भने, ‘नगर क्षेत्रमा ६४ वटा सामुदायिक विद्यालय रहेका छन् ।’ अक्षयकोष स्थापनासँगै भित्री मधेश क्षेत्रमा शैक्षिक गतिविधि तीव्र हुन थालेका भागेश्वर मावि सलुन शिक्षक करवीर बोहराको भनाइ छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७