दुई विधेयक विधायन व्यवस्थापन समितिमा


६ फाल्गुन २०७६, मंगलवार
samsad1

काठमाडौं, ६ फागुन । राष्ट्रियसभाको बैठकले ‘भ्रष्टाचार निवारण (पहिलो संशोधन) विधेयक, २०७६’ र ‘योगमाया आयुर्वेद विश्वविद्यालय विधेयक, २०७६’ लाई दफावार छलफलका लागि विधायन व्यवस्थापन समितिमा पठाएको छ ।

आजको बैठकमा भ्रष्टाचार निवारणसम्बन्धी विधेयकलाई प्रधानमन्त्री केपी शर्मा ओलीका तर्फबाट नव नियुक्त कानून न्याय तथा संसदीय मामिलामन्त्री शिवमाया तम्बाहाङ्फेले तथा योगमाया आयुर्वेद विश्वविद्यालय विधेयकलाई अर्थमन्त्री डा. युवराज खतिवडाले दफावार छलफलका लागि विधायन व्यवस्थापन समितिमा पठाइयोस् भनी प्रस्ताव प्रस्तुत गरेका थिए ।

बैठकमा राष्ट्रियसभाका सचिव राजेन्द्र फुयाँलले प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त ‘पारमाणविक विधेयक, २०७५’लाई टेबल गरेका थिए । बैठकको शुरुमा भने राष्ट्रियसभाका अध्यक्ष गणेश तिमिल्सिनाले मन्त्रिपरिषद् पुनः गठनसम्बन्धी प्राप्त पत्रको व्यहोरा पढेर सुनाएका थिए ।

बैठकमा न्याय परिषद् र न्याय सेवा आयोगको वार्षिक प्रतिवेदन २०७५–७६ लाई सभासमक्ष पेश भएको छ । प्रधानमन्त्री ओलीका तर्फबाट कानूनमन्त्री तुम्बाहाङ्फेले उक्त प्रतिवेदन पेश गरेका थिए । राष्ट्रियसभाको अर्काे बैठक यही फागुन ८ गते दिउँसो १ बजे बस्ने भएको छ ।

राष्ट्रियसभाद्वारा शोकप्रस्ताव पारित
राष्ट्रियसभाले पूर्व सांसद भागवत ज्ञवालीको निधनप्रति शोक प्रस्ताव पारित गरेको छ ।
आजको बैठकमा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले प्रस्तुत गर्नुभएको उक्त शोक प्रस्तावलाई सर्वसम्मतिले पारित गर्दै दिवङ्गत आत्माको चिरशान्तिको कामनासहित एक मिनेट मौनधारण समेत गरिएको छ ।

पूर्व सांसद ज्ञवाली विसं २०४८ को प्रतिनिधिसभा सदस्यमा नेपाली कांग्रेसका तर्फबाट गुल्मी जिल्ला क्षेत्र नं २ बाट निर्वाचित भएका थिए । नेपाली कांग्रेस गुल्मीका प्रथम जिल्ला सभापति ज्ञवालीको ७५ वर्षको उमेरमा आज बिहान ललितपुरस्थित अल्का अस्पतालमा उपचारका क्रममा अल्सर रोगबाट निधन भएको थियो ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७