कान्ति लोकपथ निर्माण ६० प्रतिशत सकियो


६ फाल्गुन २०७६, मंगलवार
road scaled

काठमाडौं, ६ फागुन । सरकारले पहिलो प्राथमिकता (पिवान) मा राखेको आयोजना कान्ति लोकपथको निर्माण झण्डै ६० प्रतिशत सम्पन्न भएको छ । आयोजनाको अवधि एक वर्ष बाँकी रहँदा झण्डै ४० प्रतिशत काम बाँकी रहेको हो ।

आगामी वर्षसम्म सम्पन्न गर्ने गरी सबै खण्डको ठेक्का सम्झौता भइसकेको कान्ति लोकपथ आयोजनाले जनाएको छ । मकवानपुर जिल्लाभन्दा ललितपुर जिल्लामा भौगोलिक बनावट कठिन भएकाले काम गर्न सहज नभएको उनको भनाइ छ ।

आयोजनाअन्तर्गत झण्डै ४६ किमी सडक कालोपत्र भइसकेको छ । अहिले सहज ठाउँमा मात्रै कालोपत्र अघि बढेको उनले बताए । उनले भने, ‘विगतका वर्षहरुमा पहिरो गइरहेका ठाउँमा अहिले पहिरो व्यवस्थापनकै काम भइरहेको छ ।’

ललितपुरको सातदोबाटोदेखि मकवानपुरको हेटौंडासम्मको सडकको लम्बाइ झण्डै ९० किलोमिटर रहेकामा झण्डै ७९ किमी मात्रै आयोजनाले निर्माण गरिरहेको छ । ११ किमी सहरी सडक भएकाले काठमाडौं उपत्यका सडक विस्तार आयोजनाले निर्माण गरिरहेको छ ।

टिकाभैरवदेखि आयोजनाले हेर्ने अधिकांश स्थानमा ठूलाठूला पहिरो र चट्टान रहेको छ । यी ठाउँमा चट्टान काट्ने, मोड सुधारलगायत काम भइरहेको प्रमुख झाले बताए । उनले भने, ‘यी काम सकिएपछि नै ती ठाउँमा कालोपत्र हुनेछ ।’

यस सडकमा ठाउँठाउँमा गएको पहिरोका कारण गत वर्षाको समयमा झण्डै रु ३० करोड क्षति भएको सडक विभागले जनाएको छ । असार र साउन महिनाको वर्षा र त्यसका कारण भएको पहिरोले क्षति पुर्‍याएको सडकमा अहिलेसम्म पनि मर्मतका काम भइरहेको छ । विभिन्न स्थानमा माथिबाट आएको पहिरोका कारण सडक अवरुद्ध भएको थियो भने कतिपय स्थानमा पहिरोले ट्रयाक नै बगाएको थियो ।

ललितपूरतर्फ भालुखोला नजिकका स्थानमा र मकवानपूरतर्फ ठिङ्गनमा गरी झण्डै चार सय मिटर सडकमा पहिरोले ट्राक बगाएको थियो । सडकमा दुईतीन घर परेकामा तीनको मुआब्जा दिने प्रक्रियाअघि बढेको प्रमुख झाले जानकारी दिए । त्यसबाहेक यस सडकमा सडकको अधिकार क्षेत्र (राइट अफ वो) मा ठूलो समस्या रहेको छैन । सडकको उपलब्धता र त्यहाँको आवश्यकतानुसार सातदेखि ११ मिटर चौडाइको सडक निर्माण भइरहेको हो ।

उनले भने, ‘कम्तीमा दुई लेन चौडाइ हुने गरी निर्माण भइरहेको छ ।’ सडकमा तीन पुल निर्माण सम्पन्न भइसकेको छ । विसं २०१६ मा नेपाली सेनाले सो सडकको निर्माण शुरु गरेकामा लामो समयसम्म यो सडक सरकारको प्राथमिकतामा परेको थिएन ।

निर्माण शुरु भएको छ दशकपछि लोकपथ अन्तिम चरणमा पुगेको छ । विसं २०७२–७३ पछि सडक सरकारको प्राथमिकतामा परेसँगै सडकको स्तरोन्नतिको काम तीव्र गतिमा अघि बढिरहेको छ ।

सरकारले यो सडकलाई पहिलो प्राथमिकता (पिवान) मा राखेसँगै योजना कार्यालयको स्थापना भएको हो । सरकारले एक दशकयता वर्षेनी सडकका लागि बजेट विनियोजन गर्दै आएको छ । यो सडकमा निर्माण शुरु हुँदा लम्बाइ ९२ किलोमिटर रहेको थियो । चौडाइ कम हुँदा लम्बाइ बढी देखिएको र अहिले ९० किलोमिटर पुगेको छ । नब्बे किमीमध्ये ७९ किलोमिटर ललितपुरमा र २८ किलोमिटर मकवानपुर जिल्लामा पर्छ ।

मकवानपुरतर्फ डेढ किलोमिटर र ललितपुरतर्फको चार किलोमिटर सडकलाई फराकिलो बनाउन ढुङ्गा विस्फोटन गर्न आवश्यक रहेको बताइएको छ । यो सडकमा गत वर्षदेखि नै अहिले सवारीसाधन आवतजावत गर्न थालिसकेका छन् ।

सडक चौडा र नाली बनाउने तथा कालोपत्रको काम भइरहेको छ । निर्माणाधीन यो सडकलाई हेटौंडाबाट मुग्लिन हुँदै काठमाडौँसम्मको २२६ किलोमिटर लम्बाइको हेटौंडाबाट पालुङ हुँदै काठमाडौँ आउने १३६ किमी सडकको विकल्पका रुपमा समेत हेरिएको छ ।

यो सडक निर्माण सम्पन्न गर्न मकवानपुरतर्फ करिब रु ८५ करोड र ललितपुरमा रु एक अर्बभन्दा बढी खर्च लाग्ने अनुमान गरिएको थियो । प्रदेश नं ३ को राजधानी हेटौंडा तोकिएपछि पनि यो सडकको महत्व अझै बढेको छ । सङ्घीय राजधानीलाई तराई÷मधेससँग जोड्ने सबैभन्दा छोटो मार्गका रुपमा काठमाडौँ–तराई–मधेस दु्रतमार्गलाई लिइन्छ । यो सडकको विकल्पका रुपमा समेत कान्ति लोकपथलाई लिइन्छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७