चीनबाट नेपाली ल्याएको वाइड बडी जहाजले थाल्यो नियमित उडान


६ फाल्गुन २०७६, मंगलवार
korona widebody scaled

काठमाडौं, ६ फागुन । चीनको हुवान प्रान्तको वुहान शहरबाट नेपालीलाई ल्याएको राष्ट्रिय ध्वजावाहक नेपाल वायु सेवा निगम (नेपाल एयरलाइन्स) को वाइड बडी ए–३३० जहाजले आजदेखि नियमित उडान गर्ने भएको छ ।

वुहानबाट १७५ जना नेपालीलाई काठमाडौं ल्याएको सो वाइड बडी जहाजले अन्तराष्ट्रिय सुरक्षा मापदण्डअनुरुप ४८ घण्टा क्वारेन्टाइनको समय पार गरेपछि नियमित उडानमा फर्किएको हो ।

उक्त जहाजबाट कोरोना भाइरस फैलिएको वुहानबाट यही फागुन ४ गते बिहान नेपालीलाई स्वदेश ल्याइएको थियो । जहाजको क्वारेन्टाइनको अवधि आज बिहान सकिएपछि दिउँसो सरसफाइ गरेर उडानयोग्य बनाइने छ ।

चीनबाट नेपाली ल्याएको वाइड बडी जहाजले आजदेखि नियमित उडान शुरु गर्ने तयारी गरेको निगमका प्रवक्ता अर्चना खड्काले जानकारी दिइन् । ‘जहाजको सबै प्रक्रिया पूरा गरेर आज रातिदेखि नियमित उडानमा राखेका छौं, जहाजको आवश्यक सरसफाइलगायत सबै मापदण्ड पूरा गरेपछि पुनः उडान शुरु गरिने छ’, उनले भने ।

निगमको निर्धारित तालिकाअनुरुप वाइड बडी जहाजले आज राति १०ः३० बजे दोहाका लागि उडान भर्नेछ । जहाजलाई विश्व स्वास्थ्य सङ्गठनको मापदण्डअनुसार सबै प्रक्रिया पूरा गरिन नियमित उडानमा ल्याउन लागिएको निगमले जनाएको छ । जहाजलाई विमानस्थलको उत्तरपूर्वतर्फको ‘रिमोर्ट पार्किङ वे’ मा राखिएको छ ।

वाइड बडी विमान दुई चिकित्सक, दुई नर्स, तीन पाइलट, सात क्रुमेकर, एक इन्जिनीयर, एक प्राविधिक र एक डिस्पास्चर गरी १७ जना सहितको टोली शनिबार चीनको वुहान गएको थियो । सो स्थानबाट १७० विद्यार्थी, दुई बालबालिका, दुई पर्यटक र एक कामदारसहित १७५ जनालाई लिएर जहाज आइतबार बिहान ३ बजेर ३६ मिनेटमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण भएको थियो ।

वुहानबाट फर्किएका सबैलाई भक्तपुरको खरिपाटीस्थित नेपाल विद्युत् प्राधिकरणको तालीम केन्द्रमा निर्माण भएको क्वारेन्टाइनमा राखिएको छ भने जहाजका विमानचालक (पाइलट) सहित सबै सदस्यलाई पनि क्वारेन्टाइनका लागि नगरकोटमा राखिएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७