आठ स्थानीय तहमा मात्रै वाणिज्य बैंकका शाखा खुल्न बाँकी


६ फाल्गुन २०७६, मंगलवार
rastra bank

काठमाडौं, ६ फागुन । सबै स्थानीय तहमा बैंकिङ पहुँच पुर्‍याउने सरकारको लक्ष्य करिब–करिब पूरा हुने भएको छ ।

नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको चालू आर्थिक वर्षको गत पुस मसान्तसम्मको विवरणमा अब आठ स्थानीय तहमा मात्रै वाणिज्य बैंकका शाखा खुल्न बाँकी रहेको छ ।

कूल ७५३ स्थानीय तहमध्ये हालसम्म ७४५ स्थानीय हतमा वाणिज्य बैंकका शाखा खुलेका छन् । केन्द्रीय बैंकका अनुसार प्रदेश नं १ का कूल १३७ स्थानीय तहमध्ये गत पुस मसान्तसम्म १३६ स्थानीय तहमा वाणिज्य बैंकका शाखा खुलेका छन् ।

सो प्रदेशमा एक स्थानीय तहमा मात्रै शाखा खुल्न बाँकी रहेको छ । प्रदेश नं २ का कूल १३६ स्थानीय तहमध्ये अब एक स्थानीय तहमा मात्रै बैंकका शाखा खुल्न बाँकी छ । सङ्घीय राजधानी समेत रहेको वाग्मती प्रदेशका कूल ११९ स्थानीय तहमध्ये ११७ स्थानीय तहमा बैंकका शाखा खुलेका छन् ।

सो प्रदेशका दुई वटा स्थानीय तहमा बैंकका शाखा खुल्न बाँकी छ । गण्डकी प्रदेशका कूल ८५ स्थानीय तहमध्ये ८४ स्थानीय तहमा बैंकका शाखा खुलेका छन् । अब एक स्थानीय तहमा मात्रै शाखा खुल्न बाँकी छ ।

सबै स्थानीय तहमा बैंकिङ पहुँच पुर्‍याउनेमा प्रदेश नं ५ अग्रस्थानमा रहेको छ । सो प्रदेशका कूल १०९ वटै स्थानीय तहमा वाणिज्य बैंकका शाखा खुलेका छन् । केन्द्रीय बैंकका अनुसार कर्णाली प्रदेशका कूल ७९ स्थानीय तहमध्ये ७८ तहमा बैंकका शाखा पुगेका छन् । सुदूरपश्चिम प्रदेशका कूल ८८ स्थानीय तहमध्ये ८६ तहमा बैंकका शाखा खुलेका छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७