गोदावरीको २७ सहकारी झोलामा


६ फाल्गुन २०७६, मंगलवार
sahakari 1

ललितपुर, ६ फागुन । गोदावरी नगरपालिकाभित्र सञ्चालन भएका १२८ सहकारीमध्ये २७ सहकारी हाल झोलामा रहेका छन् ।

त्यस्ता सहकारीले महिनाको एक पटक कार्यालय खोल्ने तथा साधारणसभा गरे पनि जानकारी नदिने र सम्पर्कमा नरहने गरेका छन् । नगरपालिकाभित्र सञ्चालित १२८ मध्ये एउटा सहकारीको कार्यक्षेत्र प्रदेशमा पुगेको सहकारी शाखा प्रमुख श्रीकष्ठ घिमिरेले बताए ।

उनले भने, ‘गत आर्थिक वर्ष २०७५–७६ भित्र गोदावरीमा रहेका कूल सहकारीमध्ये ६१ बचत तथा ऋण, ४५ कृषि, १७ बहुउद्देश्यीय, एक–एकवटा दुग्ध, पर्यटन र साझा सहकारी रहेका छन् ।’ गोदावरीमा सञ्चालित यी सहकारीका सञ्चालकलाई सहकारी ऐन, सहकारी विनियमावली, सम्पत्ति शुद्धीकरण र लेखा परीक्षणका बारे कमै जानकारी भएको उनले बताए ।

गोदावरीमा सहकारी शिक्षाको तालीम शुरु

गोदावरी नगरपालिका–१ गोदामचौर र २ विशङ्खुमा आजदेखि सहकारी शिक्षासम्बन्धी तालीम शुरु भएको छ । शाखाले सहकारी साक्षारतासम्बन्धी जानकारी दिने उद्देश्यका साथ उक्त एक दिने तालीम शुरु गरेको हो ।

तालीममा शाखा प्रमुख र सहकारी विज्ञले सम्पत्ति शुद्धीकरण, सहकारी एकीकरण, कोपोमिक्स र सहकारी नेतृत्व तथा व्यवस्थापनबारे शिक्षा दिने घिमिरेले बताए । उनले भने, ‘यस तालीममा हामीले यी दुई वडाका अध्यक्ष, उपाध्यक्ष, सचिव र कोषाध्यक्षलाई अनिवार्य रुपमा उपस्थित भनेका छौँ ।’ शाखाले बाँकी रहेका अन्य वडाका सहकारी सञ्चालक र प्रतिनिधिलाई समय मिलाएर तालीम दिने घिमिरेले बताए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७