प्रभावकारी बन्दै सूचना बोर्ड, सात महिनामा ८४ लाई १० हजार जरिवाना


७ फाल्गुन २०७६, बुधबार
Traffic

काठमाडौं, ७ फागुन । दुई महिनायता ट्राफिक प्रहरीले ट्राफिक नियम उल्लंघन गरे ‘१० हजारसम्म जरिवाना गरिने’ लेखिएका सूचना बोर्ड उपत्यकाका विभिन्न सडकमा राखेको छ । नागढुंगा–त्रिपुरेश्वर, माइतीघर–पुतलीसडक, माइतीघर–बानेश्वर–तीनकुनेलगायत सडकमा यस्ता बोर्ड देख्न सकिन्छ ।

महानगरीय ट्राफिक प्रहरी महाशाखाका अनुसार उपत्यकाका दुई सय स्थानमा यस्ता बोर्ड राखिएको छ । महाशाखा प्रमुख एसएसपी भीमप्रसाद ढकालले भने, ‘यस्ता बोर्डले ट्रफिक व्यवस्थापन सहज बन्दै गएको छ ।

चालकहरू होसियार भएका छन् नियम उल्लंघन गर्ने केही कारबाहीमा पनि परेका छन् ।’ महाशाखाका प्रवक्ता एसपी जीवनकुमार बस्नेतका अनुसार सवारीचालकमा मात्रै होइन पदयात्रुमा पनि सूचना बोर्डले सकारात्मक प्रभाव परेकोे छ ।

सवारी तथा यातायात ऐन २०४९ अन्तर्गत ट्राफिक नियम उल्लंघन गर्नेलाई १० हजारसम्म जरिवानाको व्यवस्था छ । यही व्यवस्था नागरिकसम्म पुर्‍याउन सूचना बोर्ड राखिएको महाशाखाको भनाइ छ । थप आठ सय सूचना बोर्ड राख्ने तयारी गरेको महाशाखा प्रमुख ढकालले बताए ।

यस्तो अवस्थामा १० हजार जरिवाना
साउनदेखि माघसम्म ८४ जनालाई १० हजारसम्म जरिवाना गरेको महाशाखा प्रमुख ढकालले बताए । उनका अनुसार सवारीसाधनको पार्टपूर्जा परिवर्तन (मोडिफाइड) गरे, रङ परिवर्तन गरे, फरक नम्बर प्लेट राखेमा यस्तो जरिवाना हुन्छ ।

तर, महाशाखालाई भने तीन हजारसम्म मात्रै जरिवाना लिने अधिकार रहेको उनको भनाइ छ । तीन हजारभन्दा बढीको जरिवाना गर्नुपरे महाशाखाले यातायात व्यवस्था विभागमा पठाउँछ ।

महाशाखाले ट्राफिक नियम उल्लंघन गर्नेहरूबाट जरिवानास्वरूप वार्षिक सरदर ३० करोड राजस्व संकलन गर्दै आएको छ । चालू आर्थिक वर्ष साउनयता महाशाखाले १९ करोड राजस्व संकलन गरिसकेको छ । आर्थिक वर्ष ०७१–७२ मा १४ करोड, ०७२–७३ मा १५ करोड, ०७३–७४ मा ३५ करोड ०७४–७५ मा २९ करोड र ०७–७६ मा ३१ करोड राजस्व उठाएको थियो ।

उपत्यकामा दैनिक २२ सय कारबाहीमा
ट्राफिक प्रहरीले उपत्यकामा मात्रै ट्राफिक नियम उल्लंघन गरेको आधारमा दैनिक २२ सयजनालाई कारबाही गर्दै आएको छ । अधिकांशबाट जरिवानास्वरूप पाँच सयदेखि तीन हजारसम्म लिने गरिएको छ ।

‘सवारी तथा यातायात ऐन, २०४९ अनुसार ट्राफिक प्रहरीले तीन हजारभन्दा बढी जरिवाना लिन पाउँदैन,’ महाशाखा प्रमुख ढकालले भने, ‘तर, मोडिफाइड गरिएका सवारी गुडाउनेलाई भने सातदेखि १० हजारसम्म जरिवाना तिराउने गरेका छौँ ।’

सूचना बोर्डको उद्देश्य १० हजार नै तिराउने होइन
प्रवक्ता, महाशाखा एसपी जीवनकुमार श्रेष्ठ
उपत्यकाका विभिन्न स्थानमा राखिएका सूचना बोर्डको उद्देश्य नागरिकलाई १० हजार नै तिराउने भन्ने होइन । चालकलाई सचेत बनाउनुका साथै ट्राफिक व्यवस्थापन सहज, दुर्घटना न्यूनीकरण गराउनु हो । उद्देश्यअनुसार नै सडक प्रयोगकर्तालाई सचेत बनाइएको छ । नयाँ पत्रिका दैनिकबाट

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७