कोरोनाबाट ज्यान गुमाउनेको संख्या दुई हजार नाघ्यो, संक्रमित ७५ हजार पुगे

एकै दिन १३२ को गयो ज्यान, भाइरसबाट बिरामी र वृद्धवृद्धा बढी जोखिममा


७ फाल्गुन २०७६, बुधबार
korona virous

काठमाडौं, ७ फागुन । कोभिड–१९ (कोरोना) भाइरसबाट ज्यान गुमाउनेको संख्या दुई हजार नाघेको छ । कोरोना भाइरसबाट ७५ हजार बढी मानिस संक्रमित भइसकेका छन् ।

कोरोनाबाट चीनमा दुई हजार एक जना र चीन बाहिरका देशमा चार जनाको ज्यान गएको समाचार संस्था सीएनएनले जनाएको छ । चीन बाहिर फिलिपन्स, हङकङ, जापान र फ्रान्समा एक–एक जनाको ज्यान गएको छ ।

गएको २४ घण्टामा मात्र १३२ जनाले ज्यान गुमाएका छन् । केही दिनदेखि ज्यान गुमाउनेको संख्या घटिरहेको भए पनि मंगलबार ज्यान गुमाउनेको संख्या फेरि बढेको जनाइएको छ ।

यसैबीच चीनको सेन्टर अर्फ डिजिज कन्ट्रोल एन्ड प्रिभेन्सनको अध्ययनअनुसार संक्रमितमध्ये ८० प्रतिशतभन्दा धेरै बिरामी तथा वृद्धवृद्धा रहेको देखाएको छ । अध्ययनले स्वास्थ्यकर्मी पनि उच्च जोखिममा रहेको देखाएको छ ।

अध्ययनमा धेरैजसो संक्रमित मानिसमा मध्यमस्तरको संक्रमण भएको पाइएको पनि बीबीसीले जनाएको छ । यस्तै कोरोना भाइरसलाई लिएर संयम रहन विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ) ले आग्रह गरेको छ ।

भाइरसको धेरैजसो पीडितमा हलुका खालको सङ्क्रमण देखिएको भन्दै विश्व स्वास्थ्य सङ्गठनले सबै देशलाई संयम रहन आग्रह गरेको हो । यसअघि सङ्क्रमण फैलिएको ’सार्स’ र ’मेर्स’ जस्ता भाइरस भन्दा कोरोना कम ’प्राणघातक’ रहेको पनि विश्व स्वास्थ्य संगठनले जनाएको छ ।

चीनसँगै अन्य २६ देशमा पनि फैलिएको कोरोनाको संक्रमण रोक्न विभिन्न देशले चीनबाट फर्किएका नागरिकमाथि कडा निगरानी राख्नुका साथै कम्तिमा दुई साता क्वारेन्टाइनमा राख्ने व्यवस्था गरेका छन् । ती देशहरुले चीनसँगको व्यापारिक तथा अन्य सम्बन्धलाई तत्कालका लागि बन्द गराएका छन् ।

यसैबीच संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरसले कोरोनाको संक्रमण नियन्त्रणमा रहे पनि खतरा बाहिर भने नरहेको बताएका छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७