प्रधानमन्त्रीले ६९ औं जन्मदिन जन्मथलोमा मनाउने


७ फाल्गुन २०७६, बुधबार
kp oli 7

काठमाडौं, ७ फागुन । प्रधानमन्त्री केपी शर्मा ओलीले ६९ औं जन्मदिन आफ्नै जन्मथलो तेह्रथुमको आठराई गाउँपालिका–४ सल्लेमा मनाउँदै छन् । ओली २००८ फागुन ११ गते इवाको सल्लेमा जन्मिएका हुन् ।

‘६९ औं जन्मदिनको अवसरमा जन्मथलो जान लाग्नु भएको हो । अन्य कार्यक्रम पनि छन्,’ प्रधानमन्त्री ओलीका प्रेस सल्लाहकार सूर्य थापाले सुनाए । ओलीले बिक्री भइसकेको आफ्नो जन्मघर पनि केही वर्षअघि किनिसकेका छन् ।

२०२४ सालमा ओलीका पिता मोहनप्रसाद साढे ११ हजार रुपैयाँमा सो घर बिक्री गरेर झापा झरेका थिए। सोही घर र घर रहेको ३० रोपनी जग्गा ओलीले २०७२ मा साढे १० लाख रुपैयाँमा किनेका थिए । बुबा मोहनप्रसादकै आग्रहमा उनले घर र जग्गा किनेका हुन् ।

प्रधानमन्त्री ओलीको झापाको दमकमा पनि घर छ । प्रधानमन्त्री ओलीको हालको स्थायी ठेगाना भने भक्तपुरको बालकोट हो । प्रधानमन्त्री ओली दोस्रो पटक मिर्गौला प्रत्यारोपणको तयारीमा छन् । पछिल्लो समय उनी नियमित डायलासिस गराइरहेका छन् । मंगलबार मात्र उनको एन्जियोग्राफी गरिएको थियो ।

सरकार सञ्चालनको व्यस्तता, नियमित डायलासिस र दोस्रो मिर्गौला प्रत्यारोपणअघिका स्वास्थ्यपरीक्षणका बीच पनि उनले जन्मस्थलमै गएर जन्मदिन मनाउने इच्छा देखाएका हुन् । प्रधानमन्त्रीको सचिवालयका सदस्य इन्द्र भण्डारीले त्यसदिन पाँचथर र तेह्रथुममा खानेपानी तथा सडक आयोजनाको शिलान्यास गर्ने कार्यक्रम रहेको थापाले जानकारी दिएका छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७