गरिबी घटाउँछौं भन्ने लघुवित्त कम्पनी गरीबलाई नै शोषण गरी अकुत नाफा कमाउँदै

१४ करोडमा खुलेको लघुवित्तको मुनाफा ६ महिनामै साढे २२ करोड, विपन्नबाट १९ प्रतिशत ब्याज


८ फाल्गुन २०७६, बिहीबार
laghu bitta

काठमाडौं, ८ फागुन । गरिबी निवारण गर्ने उद्देश्यले खुलेका लघुवित्त कम्पनीहरूले गरिबलाई शोषण गरी अकुत नाफा कमाउने गरेका छन् ।

गत आर्थिक वर्ष ०७५–७६ मा सेयर बजारमा सूचीकृत ४९ वटा लघुवित्त संस्थाले नाफा औसतमा आठ गुणा (सात सय प्रतिशत)ले बढाएका छन् । यति धेरै नाफा वृद्धि अन्य कुनै पनि व्यापारिक क्षेत्रमा सम्भव हुँदैन, जब कि लघुवित्त त गरिब जनताको सेवा गर्ने उद्देश्यले खोलिएका हुन् ।

यीमध्ये कतिपय भर्खरै सञ्चालनमा आएका नयाँ संस्थाको नाफा त १५ हजार प्रतिशतसम्मले बढेको देखिन्छ । स्पर्श, स्वाभिमान, नयाँ नेपालजस्ता लघुवित्तको नाफा एकै वर्षमा हजारौं गुणाको वृद्धि भएको छ ।

१४ करोड चुक्तापुँजी भएको जीवन विकास लघुवित्त वित्तीय संस्थाले ६ महिनामै आफ्नो पुँजीभन्दा करिब दोब्बर नाफा गर्‍यो । यो लघुवित्तले प्रकाशित गरेको वित्तीय विवरणअनुसार पहिलो ६ महिनामा कम्पनीले २२ करोड ५९ लाख रुपैयाँ नाफा गरेको छ । ६ महिना अवधिमै चुक्तापुँजीको तुलनामा एक सय ६१ प्रतिशत नाफा आर्जन गर्दा उसले एक वर्षमा त साढे ४३ करोड नाफा र्पुयाउने देखिन्छ ।

यो संस्थाले गरिबको शोषण कुन तहमा गरेको होला भनेर अनुमान लगाउन सकिन्छ । जीवन विकासले वाणिज्य बैंकहरूबाट लिएको सापटी र निक्षेपसमेत गरी कुल आठ अर्ब ३४ करोड रुपैयाँ विपन्नलाई ऋण दिएर त्यति नाफा कमाएको हो ।

लघुवित्त कम्पनी खोलेर गरिबको शोषण गरी उच्च नाफा आर्जन गर्दै लाभांश खाने प्रयोजनले लगानीकर्ताले लघुवित्तमा लगानी गरेको देखिन्छ । लघुवित्त संस्थाले एकै वर्षमा ८० प्रतिशतसम्म प्रतिफल दिएर लगानीकर्ताको भने राम्रै सेवा गर्ने गरेका छन् ।

हालसम्म लाभांश घोषणा गरेका संस्थाले यस वर्ष लगानीकर्तालाई अधिकतम ८० प्रतिशतसम्म लाभांश दिएका छन् । १५ करोड ९ लाख रुपैयाँ चुक्तापुँजी भएको नेसनल माइक्रोफाइनान्सले आव ०७५–७६ मा १३ करोड १४ लाख ५४ हजार रुपैयाँ आम्दानी गरी लगानीकर्तालाई ८० प्रतिशत लाभांश प्रदान गरेको हो ।

राष्ट्र बैंककै तथ्यांकअनुसार १० वटा संस्थाले ४० प्रतिशतभन्दा बढी लाभांश दिएका छन् । सात वटाको लाभांश दर ३० भन्दामाथि ४० प्रतिशतभन्दा कम र ११ वटा संस्थाको २० प्रतिशतभन्दा माथि ३० प्रतिशतभन्दा कम छ । यही कारण आकारमा साना भए पनि यी संस्थाको सेयरमूल्य वाणिज्य बैंकहरूको भन्दा अत्यधिक छ ।

अहिले अधिकांश यी कम्पनीको मूल्य पाँच सयमाथि छ भने अधिकतम एक हजार नौ सयसम्म छ । लघुवित्त संस्थाहरूको प्रतिकित्ता सेयर आम्दानी ८७ रुपैयाँसम्म छ, यसको अर्थ सय रुपैयाँको सेयरले एक वर्षमा ८७ रुपैयाँ आम्दानी गर्छ भन्ने हो । नयाँ पत्रिका दैनिकबाट

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७