कांग्रेस पनि तालमेलको प्रयासमा


१८ आश्विन २०७४, बुधबार

काठमाडाैं : एमाले र माओवादी केन्द्रको नयाँ चुनावी गठबन्धन बनेपछि कांग्रेसले पनि लोकतान्त्रिक शक्तिसँग तालमेलको प्रयास गर्ने संकेत गरेको छ । मंगलबार सभापति देउवा, रामचन्द्र पौडेल, प्रकाशमान सिंह, विमलेन्द्र निधि, पूर्णबहादुर खड्का, ज्ञानेन्द्रबहादुर कार्की, डा. प्रकाशरण महतसहितका नेताबीच यस विषयमा अनौपचारिक कुराकानी भएको थियो ।

Nepali Congress senior leaders कांग्रस नेपाली

बुधबारको कार्यसम्पादन समिति बैठकले विकसित राजनीतिक घटनाक्रमबारे थप छलफल गर्ने भएको छ । ‘हामी पनि अब पार्टीलाई थप एकताबद्ध गर्दै निर्वाचनमा होमिन्छौँ,’ महतले भने, ‘लोकतान्त्रिक शक्तिबीचको एकतालाई जोड दिन्छौँ । यस्ता शक्तिबीच तालमेलको प्रयास गर्छौं ।’ 

कांग्रेसले एमाले, माओवादी केन्द्र र नयाँ शक्तिबीचको नयाँ तालमेललाई अस्वाभाविक भनेको छ । आफूसँग लगातार दुईपटकसम्म सत्तागठबन्धन र स्थानीय तहको निर्वाचनमा केही ठाउँमा चुनावी तालमेल गरे पनि दसैँको माहोलमा रातारात माओवादी र एमालेबीच भएको सहमतिलाई कांग्रेसले अस्वाभाविक भएको निष्कर्ष निकालेको हो ।

एमाले र माओवादी केन्द्रबीच समझदारीपत्रमा हस्ताक्षर हुने भएपछि प्रधानमन्त्री एवं पार्टी सभापति शेरबहादुर देउवाको सरकारी निवास बालुवाटारमा कांग्रेसका शीर्ष नेताको बैठक बसेको थियो । ‘एमाले, माओवादी र नयाँ शक्तिबीचको नयाँ तालमेललाई हामीले अस्वाभाविक रूपमा लिएका छौँ ।

यस विषयमा हामी बुधबार कार्यसम्पादन समितिको बैठक बसेर थप छलफल गर्छौं,’ नेता डा. प्रकाशशरण महतले भने, ‘कांगेस–माओवादी गठबन्धन समसामयिक मुद्दामा आधारित थियो । संविधानको कार्यान्वयन गर्नेदेखि निर्वाचन गराउनेसम्म हामी इमानदार भएर लागेका थियौँ । प्रचण्डजीले नै यो विषयलाई बहसमा ल्याउनुभएको थियो । गठबन्धनमा उदारताको साथ अघि बढ्यौँ । प्रचण्डले पनि असन्तुष्टि जनाउनुभएको थाहा छैन ।’

एमालेसँगको गठबन्धनबाट माओवादीलाई फाइदा नहुने निष्कर्ष कांग्रेसको छ । ‘कांग्रेससँगको गठबन्धनले माओवादीले सफलता हात पारेको थियो,’ महतले भने, ‘अब एमालेले जतिसुकै प्रतिशत दिन्छु भने पनि उसको सहायक हुने, एमालेको डोमिनेसनमा माओवादी बस्नुपर्ने देखिएको छ ।’

नयाँ पत्रिका दैनिकबाट

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७