सर्वेन्द्र गए ठाकुर आए, प्रहरीमा उस्तै प्रलय


८ फाल्गुन २०७६, बिहीबार
Nepal police

काठमाडौं, ८ फागुन । प्रहरी सेवा प्रभावकारी भएन भनेर आलोचना गर्ने राजनीतिक नेतृत्वले पनि अझै बुझ्न सकेन कि, यो सेवाभित्रका कानुनी जटिलतामै सबभन्दा बढी खोट छ ।

भर्खरै नेपाल प्रहरीको ९० टोलीले संगठनको दुई वर्षे नेतृत्व अवसर पूरा गर्‍यो । सर्वेन्द्र खनाल, पुष्कर कार्की, ठूले राई, केदार रिजाल, पिताम्बर अधिकारीहरु मात्रै घर गएनन्, उनीहरुसँगै मुख्यालयका सबै विभाग, सातै प्रदेशदेखि नेतृत्व तहमा रहेका अधिकृतले एकै दिन अवकास पाए । पदस्थापित भएका छन्, त्यही टोलीको वैकल्पिक सूचीमा नाम निकालेर पाँच महिनापछि भर्ना भएका ठाकुरप्रसाद ज्ञवाली ।

सर्वेन्द्र गए, ठाकुर आए । तर, संगठनलाई पुगेको क्षति निकै ठूलो छ । प्रदेश प्रहरीका नेतृत्व खाली छन् । चुनावको बेला डाक्टरले फौज चलाउनु परेझैं हेड क्वार्टरका विभागहरु रित्तै छन् । एक हप्ता भयो, ती जिम्मेवारीमा कसैलाई पठाइएको छैन । अर्को केही हप्ता कोही पठाइने स्थिति पनि देखिँदैन ।

फलतः प्रहरीको प्रभावकारी सेवा प्रभावित हुन्छ । यसो हुनुको सबभन्दा ठूलो रोग हो, ३० वर्षे सेवा अवधि । सर्वेन्द्रहरुको ब्याचले जागिर खाएको ३० वर्ष पूरा गरेर अवकास हुँदा संगठनको एउटा लेयर नै रित्तो भयो । अवकासको शर्त सेवा अवधि नबनाएर उमेर हद तोकिएको भए त्यो टोलीबाट सबै, एकैचोटी लाइन लागेर घर जाँदैन थिए । एउटा आज जान्थ्यो, अर्कोले दुई महिनापछि अवकास पाउँथ्यो ।

यसरी पदहरु रिक्त पारेर, हेड क्वार्टरदेखि प्रदेश प्रहरीसम्म सुनसान पारेर हिंड्नुपर्ने अवस्था हुन्थेन । अनि, पाँच महिना आइजिपी भएर हेडक्वार्टरमा फोटो टाँस्ने रहर राज्यले पूरा गरिदिनुपर्ने बाध्यता पनि आउँदैन थियो ।

अब प्रहरीमा नयाँ ऐन नआई बढुवा नगर्ने भनिएको छ । यदि गरिएछ नै भने पनि एआइजी बढुवा गर्नका लागि बैठक बस्नुपर्‍यो । त्यसले योग्यता तय गर्न सात–आठ दिनको समय लिन्छ । सिफारिस सूची प्रकाशित गरेर सात दिने उजुरीको म्याद दिनुपर्‍यो । यसरी एउटा दर्जामा बढुवा गर्न १५ दिन लाग्छ । अहिले प्रहरीमा एआइजी, डिआइजी, एसएसपी र एसपीको दरबन्दी पदपूर्ति नगरी नहुने स्थिति छ ।

एउटा दर्जालाई १५ दिनका दरले समय दिने हो भने पनि बढुवा गर्दैमा १५ चौको ६० दिन जान्छ । बढुवा पाएर काम थाल्दाथाल्दै अर्को एक महिना बित्छ । तेस्रो महिनाबाट आइजिपीसँग ती बढुवा पाएका हाकिमहरुको सुरताल मिल्न थाल्छ । एक महिना काम गरेपछि आइजिपी रिटायर्ड हुन एक महिना बाँकी हुन्छ ।

रिटायर्ड हुने बेलाको हाकिमलाई टेरोस् कसले ? भनेको सुनोस् कसले ? माघ २८ गते घर गएका हाकिमहरुले विभागीय प्रमुख, एकेडेमी, प्रदेशको नेतृत्व सम्हालेका थिए र ती सबै रिक्त छन् । यसरी सबै ठाउँ एकैचोटी खालि हुँदा त्यसले संगठन सञ्चालन र भविष्यमा पार्ने प्रभाव गम्भीर छ । त्यसमाथि आइजिपीका व्याची जम्मा दुई जना छन्, तारिणीप्रसाद लम्साल र सूर्यप्रसाद उपाध्याय ।

अनि अहिलेको आइजिपी पाँच महिनामा जाने भएपछि आइजिपी हुने ब्याचका शैलेश थापाक्षेत्री, प्रद्युम्न कार्की, निरजबहादुर शाही, हरिबहादुर पालहरु हिजो अस्तिबाटै एआइजी बन्ने दौडधुपमा छन् । त्यही ब्याचबाट १६ जना एसएसपी डिआइजी हुन बाँकी छन् ।

विश्वराज पोखरेल र अघिल्लो व्याचका १६ जनासहित धीरजप्रताप सिंह, उत्तमराज सुवेदीहरु पनि मारमा परेका छन् । यदि ३० वर्षे सेवाअवधि हट्यो भने सबैले उमेरको हदले काम गर्न पाउँछन् । पदावधिले जाने अवस्था हुन्छ । आइजीको पदावधि चार वर्ष हुन्छ । त्यसो हुँदा ठाकुर ज्ञवालीले चार वर्ष आइजिपी चलाउँछन् ।

एकैचोटी २२–२५ जना घर जाने अवस्था हुँदैन । उमेर जहिले पुग्छ वा बढुवा मितिका आधारमा पदावधि जहिले पुग्छ, त्यसपछि रिटायर्ड होइन्छ । त्यसो गर्दा उमेर भएका मान्छेले एआइजी, आइजी बन्ने मौका वा समय पाउँछन् । अहिले प्रहरीमा त्यस्ता उम्मेदवार प्रशस्तै छन् तर सेवा अवधिका कारण उनीहरुसँग त्यो समय नभएको खबर जनआस्था साप्ताहिकले छापेको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७