मुना हत्याको नयाँ तथ्य सार्वजनिक गर्दै प्रहरी, हत्या सहजै ‘अपत्यारिलो’

घरमा पत्नी भए, नभएको, को आयो, को गयो मोवाइलमै हेर्थे अर्जुन काकी


प्रकाशित मिति : 20 February, 2020 2:38 pm

काठमाडौं, ८ फागुन । डेढ साताअघि पूर्व सचिव अर्जुन कार्कीकी पत्नी मुना सानेपा हाइटस्थित घरभित्रै मृत फेला परिन् । घटना अनुसन्धानका क्रममा फेला परेका केही नयाँ तथ्यसहित प्रहरीले विवरण सार्वजनिक गर्दैछ ।

गम्भीर प्रश्न छ–कामदार विजय एक्लैले त्यो काम कसरी गरे ? नाइलनको पासो लाग्दा डोरी चुँडिई भुँइमा बज्रिएर विजयले प्राण त्यागे भनिएको छ । सबैभन्दा गम्भीर अनुसन्धानको पाटो त यो छ कि, सिसिटिभी फुटेजमा विजयले मुनामाथि टाउकोमा निरन्तर हानेको देखिन्छ तर एउटा जिउँदो मान्छेलाई कसैले नीलो प्लाष्टिकको पिर्काले मात्रै हान्दा ज्यान जान्छ कि जाँदैन ? प्लाष्टिकको पिर्काकै भरमा त मान्छे बेहोस पनि हुँदैन, रक्तमुछेल हुनु टाढाको कुरा ।

अनि, २३ वर्षको युवकले ४८ वर्षकी महिलालाई पछाडिबाट डोरीले कसेर लडाउन र एक्लै घाँटी थिचेर मार्न कत्तिको सम्भव होला ? त्यसरी नै नियत खराब गर्दा मारिन लागेको मान्छेले चूपचाप घाँटी थापेको पक्कै थिएन । होहल्ला, रोदन, चित्कार वा हारगुहार गरिएको हुनुपर्छ । त्यत्रो हल्ला हुँदा छिमेकी कहाँ थिए ?

यदि त्यस्तो हल्ला भएन भने निर्मला पन्त प्रकरणमा झैं भोकल कर्ड (घाँटीबाट आउने आवाज) अवरोध गरिएको हुनुपर्छ । तर, त्यो काम एक्लो मान्छेबाट, त्यसमा पनि त्यो विषयको तालिम वा ज्ञान नभएको व्यक्तिबाट हुन सक्दैन । प्रहरी अनुसन्धानको अर्को पाटो छ, घटना हुनुभन्दा एक महिनाभित्र पूर्वसचिव कार्की, मृतक मुना र कामदार विजयको मोबाइलमा भएका संवाद, एसएमएस आदान–प्रदानको विवरण, जुन आउने क्रममै छ ।

कार्कीले घरको सिसिटिभी फुटेज आफ्नो मोबाइलमा हेर्ने गरी जडान गरेका थिए । घरमा पत्नी भए, नभएको ? को आयो, को गयो ? जस्ता सबै कुरा आफ्नै मोबाइलबाट हेर्थे । विजयको पछिल्ला दिनको मानसिक परिवर्तनप्रति कुनै आशंका थियो कि ! वा त्यस दिनको स्थिति के हो ? विजय पछिल्लो समय घर सरसफाइ गर्ने कामदारमा मात्र सीमित थिएनन् । उनी मुनाका व्यक्तिगत ड्राइभर पनि थिए ।

अपराध महाशाखाबाट अनुसन्धानरत एक प्रहरीले भनेका छन्, ‘धारिलो हतियार वा बिष्फोटक पदार्थ (बन्दुक) को प्रयोगबाट गरिएको हत्या थियो भने एक्लो संलग्नता पत्यारिलो हुन्थ्यो तर, मुनाको हत्या सहजै पत्यारिलो छैन जसरी दुनियाँ अझै पनि दरबार हत्याकाण्डमा बाबु, आमासहित काका, फूपू र भाइबहिनीलाई दीपेन्द्रले मारेको भन्नेमा अझै विश्वस्त छैन ।’ प्रहरीले कम्तिमा १३ औं पुण्यतिथिका दिनसम्म घटनाका थप तथ्य बाहिर नल्याउने नीति बनाएको बुझिन्छ ।

घटना नेपाली समाजमा श्रृंखलावद्ध रुपमा भइरहेका छन् । १० वर्षयता बाबुले छोरी बलात्कार गर्ने, शिक्षकले विद्यार्थी मार्नेदेखि कामदारबाट सिध्याइने घटनाका लामो फेहरिस्त छन् । समाज यस प्रकारको अपराधतर्फ कसरी प्रवृत्त भयो ? यसका केही आयाम यस्ता छन्–
यस्ता घटनाका उद्गम हुन्, सामाजिक भेदभावका कारण भएका संगठित हिंसा ।

पहिला सामुदायिक, राजनीतिक वा निश्चित विषयमा आधारित भएर हिंसात्मक गतिविधि भयो । उदाहरणका लागि माओवादीको १२ वर्षे जनयुद्ध । अहिले त्यस्ताखाले संगठित हिंसा अन्त्य भइसकेका छन् । तर, तिनले समाजलाई छाडेका हिंसाका शिक्षा, शैली, क्रुरपना भने समाजमा जिउँदै रहे ।

फलतः त्यस्ता हिंसा व्यक्तिगत र पारिवारिक तहमा सर्‍यो । संगठित हिंसालाई राजनीतिक वा अरु कुनै पृष्ठभूमिमा जोडेर आन्दोलन बनाउने गरियो । अहिले पनि सांसद रेशम चौधरीलाई फसाइएको कैलालीको टीकापुर घटनालाई राजनीतिक घटना भन्दै उनको पार्टी राजपाले रिहाइको माग गरिरहेको छ ।

त्यस्ता घटनाले आपराधिक मनोवृत्ति भएका मानिसलाई कसरी प्रेरित गरिरहेको हुन्छ भन्ने कुरा घरेलु हिंसाका पछिल्ला घटना हेर्दा बुझ्न सकिन्छ । नत्र, एउटा सोझो चौधरीले १२ वर्षदेखि एउटै घरमा बसेकी आमा समान महिलालाई हत्या गर्ने र आफ्नै पनि जीवनलीला समाप्त पार्ने हिम्मत गर्दैनथ्यो । चाहे, पूर्वराजदूत केशव झासँग वर्षौं सँगै बसेका पालेले नै मालिकको हत्या गर्थे ।

अर्कातिर विदेशी टेलिभिजन च्यानलहरुमा मान्छे मारेका सिरियल र विश्व घटनाहरुका दृश्य सहज भएका छन् । हुर्कंदो उमेरका बालबालिकाको दिमागलाई पब्जी गेमलगायत ती दृश्यले त्यस्तै मानिस बन्न प्रेरित गरिरहेका छन् । ती दृष्य प्रकारान्तरमा अपराधका रुपमा अभिव्यक्त हुन्छन् ।

यही बिन्दूबाट कोही मान्छे परपीडक बन्दै जान्छ र अपराध गरेर मजा लिने मनोवृत्तिले घर बनाउँछ । आममानिसको मात्र कुरा हैन, सशस्त्र प्रहरीको डिआइजी भइसकेर पनि रञ्जन कोइरालाले त्यस्तो काम गरे । आफ्नै पत्नीलाई हात्तीगौंडास्थित घरमा मारेर मकवानपुरको टिष्टुङ पुर्‍याई जलाए ।

उनलाई अपराध गर्ने तरिका, त्यसपछिको परिणाम पनि थाहा थियो । तर, अपराध अनुसन्धानलाई ज्ञान र सीपका रुपमा ग्रहण गर्नुपर्ने दिमागले ज्ञान र सीपमा मात्र सिमित राखेन, मनोवृत्तिकै रुपमा ग्रहण गरिरह्यो । फलस्वरुप शिक्षित, शहरिया जीवनमा जन्मिएका र हुर्किएका मान्छेले पनि त्यस्तो नारकीय गतिविधि गरे ।

यससँगै अर्को भयावह घटना छन्, बलात्कारका । यौनकुण्ठा र यौनबारेको अतिरिक्त मानसिकताले मान्छेलाई बलात्कारीसम्म बनाउँछ । यौन प्राप्तिका निम्ति जस्तोसुकै हिंस्रक बन्न तयार हुने र त्यस्तो मनोवृत्तिको विकास भएपछिका उपज हुन् ती घटना । तर, त्यस्तो मनोवृत्तिलाई पूर्णता दिने काम परिस्थितिजन्य विषयमा आधारित हुन्छन् ।

जस्तो कि, विजय चौधरी कामदार नभएको भए मुनामाथि आक्रमण गर्दैन थिए वा त्यस्तो सहज मौका पाउँदैन थिए । अनुमान छ, मुनासँग लामो समयदेखिको रिसले क्रमशः हिंस्रक रुप लिँदै गयो । यौन सन्तुष्टिका लागि गरेको प्रयास असफल भयो वा विजयलाई मुनाले गर्ने गरेको गालीले चोट पु¥यायो ? यीमध्ये जेसुकै होस्, हिंसा वा अपराधका पछाडि मनोवैज्ञानिक पक्ष नै कारक हुन्छ । मान्छे कुन मनोविज्ञानमा प्रवृत्त छ यो कुरामा उसले गर्ने गतिविधि आधारित हुन्छ ।

उनले दुई चार दिन, दुई चार महिनाअगाडि यस्तो गर्छु भनेर सोचेका हुन सक्छन् । अपराधको अनिवार्य तत्व तीनवटा छन् । पहिलो हो, अफेन्डर (पीडक), दोस्रो हो, भिक्टिम (पीडित) र तेस्रो हो, सर्कमस्ट्यान्सेज (परिस्थिति वा अवसर) । मानिसमा हिंसाग्रस्त मानसिकता वा मनोविज्ञान बनिरहेको हुन्छ । तर, त्यो दृष्यमा हत्तपत्त प्रकट हुँदैन ।

त्यस्तो भएपछि मान्छेले मान्छेलाई मार्ने कुरा वा आफूले आफैँलाई मार्ने कुरा मामुली बन्छ । जस्तो कि, सिन्धुलीमा प्रहरी जवानले गत हप्ता प्रेमिकाले भ्यालेन्टाइनका दिन ‘आइ लभ यु’ नभनेकै झोँकमा पेटमा गोली हानी आत्महत्याको प्रयास गरे । यसलाई इम्पल्स (अर्थात आवेग भनिन्छ । मनोवैज्ञानिक परिपक्वता भएन, कुनै सोच आयो कि व्यवहारमा उतारिहाल्ने कुराले त्यस्तो घटना गराउने मनोविद्हरुले बताउने गरेको खबर जनआसथा साप्ताहिकले छापेको छ ।

प्रतिक्रिया दिनुहोस्