को हुन् मन्त्री बाँस्कोटासँग करोडौं कमिसन डिल गर्ने मिश्र ?


८ फाल्गुन २०७६, बिहीबार
Gokul Baskota and Bijaya Misra

काठमाडौं, ८ फागुन : सरकारका प्रवक्ता तथा सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुलप्रसाद बाँस्कोटा सेक्युरिटी प्रेसको कमिसन प्रकरणमा मुछिएका छन् । मन्त्री बाँस्कोटाले सेक्युरिटी प्रिन्टिङमा स्वीस एजेन्ट बिजयप्रकाश मिश्रसँग बार्गेनिङ गरेको अडियो विभिन्न सञ्चार माध्यममार्फत सार्वजनिक भएको हो ।

गत पुस २१ गते बसेको संसदको सार्वजनिक लेखा समितिको बैठकमा सेक्युरिटी प्रिन्टिरबारे भएको छलफलमा विज्ञ बनेर सांसदहरुसँग छलफल गर्न पुगेका मिश्रले नै अडियो सार्वजनिक गरेका हुन् । उनले स्वीस कम्पनीका नेपाली एजेन्टकारुपमा मन्त्री बाँस्कोटासँग करोडौं कमिशनको डिल गरेको थिए ।

जापानबाट फर्किएका लमजुङका मिश्र स्वीसका विभिन्न कम्पनीसँग नेपाली एजेन्टका रुपमा प्रस्तुत हुँदै आएका थिए । केही समय अगाडि उनी नेपालीहरुलाई जापान पठाउने काम गर्थे । उनी माथि मानव तस्करीको समेत आरोप लाग्ने गरेको छ । उनी अहिले विभिन्न स्रोत मार्फत शक्ति केन्द्रसँग सम्बन्ध बनाएर एजेन्टका रुपमा बार्गेनिङ गर्नेतिर सक्रिय रहेको बताइन्छ ।

आफू संलग्न स्वीस कम्पनीले ७५ करोड रुपैयाँ कमिशन दिँदा पनि सञ्चारमन्त्री प्रिन्टरको भाउ बढाएर पनि ४ अर्ब भन्दा बढी झिक्न भनेको अडियो भाइरल छ । मिश्रले कम्पनीबाट प्राप्त हुने ७५ करोडमध्ये ५५ करोड रुपैयाँ कमिशन दिँदा पनि सञ्चारमन्त्रीले जर्मन कम्पनीबाट प्रिन्टर ल्याउन खोजेको रिसमा उक्त अडियो सार्वजनिक गरेका छन् ।

उजुरीकर्ता मिश्रलाई समितिले सेक्युरिटी प्रिन्टिङ विज्ञका रुपमा समेत छलफलमा राखेको छ । यसमा सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का सांसदहरुले भने आपत्ति जनाएका थिए । एउटै व्यक्तिलाई अनेक रुपमा समितिमा बोलाइएकोबारे सांसद सूर्य पाठकले कारण नै मागेका थिए ।


के हो सेक्युरिटी प्रिन्टिङ प्रेस ?
बैंक नोट, पासपोर्ट, स्मार्ट कार्डलगायतका कुरा नेपालमै छाप्नका लागि ल्याउन लागिएको सेक्युरिटी प्रिन्टिङ प्रेस । वर्तमान सरकारले १० भदौ २०७६ मा ५० यसका लागि अन्तराष्ट्रिय बोलपत्र आह्वान गरेको थियो । २० कात्तिक २०७६ मा जीटुजी मोडेलमा सुरक्षण मुद्रणसम्बन्धी उपकरण खरिद गर्न सञ्चार तथा सूचना प्रविधि मन्त्रालयलाई सैद्धान्तिक सहमति प्रदान गरिएको थियो ।

२१ कात्तिक २०७६ मा सुरक्षा उपकरणका लागि खुलाइएको बोलपत्र आह्वान गरिएको थियो । २७ कात्तिक २०७६ मा मन्त्रालयले सुरक्षण मुद्रण केन्द्रलाई यसबारेमा जानकारी मागेको थियो ।

५ मंसिर २०७६ मा सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले सुरक्षण मुद्रणसम्बन्धी प्राप्त प्रस्ताव अध्ययन गरेर उपयुक्त प्रस्ताव पेश गर्न सुरक्षण मुद्रण केन्द्रलाई निर्देशन दिएको थियो । केन्द्रले प्राप्त प्रस्ताव अध्ययन गरेर सिफारिस सहित प्रस्तावलाई ६ पुसमा मन्त्रालयमा पेश गरेको थियो ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७