उपचार नपाउँदा अपाङ्गता भएका बालक खोरमा बन्धक


९ फाल्गुन २०७६, शुक्रबार
balak

विराटनगर, ९ फागुन । छेउमा कोही पुग्दा मुस्कुराउँछन्, बोली आउँदैन । खुला ठाउँमा रमाउन खोज्छन् । पाउँदैनन् । १० वर्षीय जगतबहादुर राउतका लागि बाँसको भाटाले बनाइएको खोर नै संसार हो ।

उनी दिनभर त्यहीं थुनिन्छन् । राति निदाएपछि ओछ्यानमा लगेर सुताइन्छ । उज्यालो नहुँदै खोरभित्र थुनिन्छन् । हजुरबा–हजुरआमा उनलाई खोरमा थुनेर काममा लाग्छन् । फर्कंदा बालक कपडामा दिसा पिसाब गरेर खेलाइरहेका हुन्छन् ।

अपांगता भएका मोरङ बेलबारी–२ का जगत टुक्रुक्क बस्न सक्दैनन् । वरपर घस्रिएर मात्रै पुग्न सक्छन् । खाना अर्कैले खुवाई दिनुपर्छ । स्मरणशक्ति कमजोर छ । ७० वर्षीय हजुरबुवा दिलबहादुर राउतले नाति जन्मिएको ६ महिनापछि दाहिने आँखा बन्द भएको जानकारी दिए । जगतको दाहिने खुट्टा र देब्रे हात पनि चल्दैनन् ।

घस्रिएर जहाँ पनि जान थालेपछि खोरमा थुन्नुपरेको दिलबहादुरले बताए । उनी चटपटे बेचेर परिवार चलाउँछन् । हजुरआमा इन्द्रमाया सामान्य काम गर्छिन् । सुकुम्बासी रहेका दिलबहादुर र इन्द्रमाया ऐलानी जग्गामा टहरो बनाएर बसेका छन् । टहरो स्थानीय बासिन्दाले बनाई दिएका हुन् । पानी खाने कल नारी विकास नामक संस्थाले गाडिदिएको छ ।

राउत परिवार भोजपुरको दावाँबाट संखुवासभा खाँदबारीस्थित चेवा हुँदै २०३२ सालमा झापाको महारानी झोडा झरेको थियो । २०५७ सालमा इलामको लक्ष्मीपुर पुग्यो । चार वर्षदेखि बेलबारीमा बस्दै आएको यो परिवार गरिबीको चपेटामा छ । पैसा नहुँदा दिलबहादुरले नातिको उपचार गराउन सकेका छैनन् ।

उनका दुई छोरा छन् । जेठा छोरा अर्जुनकी पत्नी कल्पना अर्कैसँग गइन् । उनका १६ वर्षीय छोरा आयुष कक्षा ९ मा पढ्छन् । ‘बुहारीले छाडेर हिँडिन्,’ दिलबहादुरले भने, ‘सधैं मदिरा पिएर हिँड्ने जेठाको केही भर छैन ।’

दिलबहादुरका कान्छा छोरा गुञ्जनसँग २०६४ सालमा बिहे गरेकी जुनु राईले २०६६ सालमा जगतलाई जन्माइन् । उनले पनि ६ वर्षअघि दोस्रो बिहे गरिन् । ‘बुहारीले छाडेपछि छोरो बराल्लियो । कहाँ जान्छ र के गर्छ थाहा हुँदैन’, दिलबहादुर भन्छन्, ‘कहिलेकहीं रक्सी पिएर आइपुग्छ ।’

उमेर बढ्दै गएकाले नातिलाई आफूहरूले उचाल्न पनि नसक्ने उनी बताउँछन् । दिलबहादुरले भने, ‘चाल नपाउने भएकाले कपडामा दिसा पिसाब गरेर खेलाउन थाल्छ ।’

बल्लतल्ल डेढ लाख रुपैयाँ जुटाएर भारतको सिलिगुडीसम्म लगेर औषधि उपचार गरे पनि नातिलाई निको नभएको दिलबहादुरले बताए । उनले भने, ‘थप पैसा नभएकाले बाँकी उपचार गर्न सकिएन ।’ अन्नपूर्ण पोष्टबाट

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७