देशभर न्यून चापीय प्रणालीको प्रभाव, मेघ गर्जनसहित वर्षा

काठमाडौंमा अपरान्हपछि बर्षा


९ फाल्गुन २०७६, शुक्रबार
kathamandu

काठमाडौं, ९ फागुन । नेपालमा पश्चिमी न्यून चापीय प्रणालीको प्रभावका कारण देशभरको मौसम बदली भएको छ ।

न्यून चापीय प्रणालीको प्रभावका कारण देशको पश्चिम भेगका केही स्थानहरुमा मेघ गर्जनसहित वर्षा भइरहेको जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ । देशभरकै मौसममा सामान्य बदलीको अवस्था रहेको जनाइएको छ ।

काठमाडौंमा अपरान्तहपछि बर्षा
नेपालमा पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव शनिबारसम्म नै देखिने मौसमविदले जानकारी दिएका छन् । ‘अहिले पश्चिमी भेगमा मेघ गर्जनसहित वर्षा भइरहेको छ’, मौसमविद् प्रतिभा मानन्धर भनिन्, ‘काठमाडौंमा पनि आज अपराह्नपछि हल्का वर्षाको सम्भावना देखिन्छ ।’

पश्चिमी न्यूनचापीय प्रणालीको प्रभाव मध्य क्षेत्र हुँदै विस्तारै पूर्वतिर सरिरहेको समेत उनले जानकारी दिएकी छन् । उनका अनुसार शनिबारसम्म मौसम बदली रहने छ । तर, आइतबार वर्षाको सम्भावना अहिलेसम्मको स्थितिमा देखिएको छैन ।

कस्तो रहला आगामी तीन दिनको मौसम ?
शुक्रबार दिउँसो
मौसम पूर्वानुमान महाशाखाका अनुसार शुक्रबार दिउँसो देशभर सामान्यदेखि पूर्ण बदली रहनेछ ।
पश्चिमी भेगका धेरै र मध्य तथा पूर्वी भू–भागका केही स्थानहरुमा मेघ गर्जन र चट्याङसहित वर्षाको सम्भावना रहेको छ ।
पश्चिम तथा मध्य क्षेत्रका उच्च पहाडी तथा हिमाली भू–भागका धेरै स्थानहरुमा र पूर्वी उच्च पहाडी तथा हिमाली भू–भागका केही स्थानहरुमा हल्का हिमपातको सम्भावना रहेको देखिन्छ ।
शुक्रबार राति
शुक्रबार राति देशभर आंशिकदेखि सामान्य बदली रहने जनाइएको छ ।

पहाडी भू–भागका थोरै स्थानहरुमा मेघ गर्जनरचट्याङसहित वर्षा र उच्च पहाडी तथा हिमाली भू–भागका केही स्थानहरुमा हल्का हिमपातको समेत सम्भावना रहेको देखिन्छ ।
शनिबार दिउँसो
शनिबार दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रही मध्य तथा पूर्वी भू–भागका थोरै स्थानहरु र पश्चिमी पहाडका एकरदुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ ।
उच्च पहाडी तथा हिमाली भू–भागका केही स्थानहरुमा हल्का हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ ।
शनिबार राति
शनिबार राति पहाडी भेगमा आंशिक बदली रही बाँकी भेगको मौसम सामान्यतया सफा रहने जनाइएको छ ।
आइतबार
आइतबार दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रहने महाशाखाले शुक्रबार बिहान जारी गरेको मौसम पूर्वानुमान बुलेटिनमा उल्लेख छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७