बाँस्कोटा पद गुमाउने नवौं मन्त्री, कसले कसरी गुमाए पद ?


९ फाल्गुन २०७६, शुक्रबार
Gokul Baskota 2 6npirBbbkb
फाइल फोटो

काठमाडौं, ९ फागुन । पदीय मर्यादाविपरीत काम गरेको अभियोगमा पद गुमाउने गोकुलप्रसाद बाँस्कोटा पहिलो मन्त्री होइनन् ।

२०६२–६३ को जनआन्दोलनपछि विभिन्न विवादमा परी पद गुमाउने मन्त्रीमा बाँस्कोटा नवौं हुन्। पछिल्लो प्रतिनिधि र प्रदेशसभा निर्वाचनपछि आफ्नै अभिव्यक्तिका कारण पद गुमाउने उनी दोस्रा मन्त्री हुन् ।

२०७४ फागुनमा केपी शर्मा ओली दोस्रो पटक मुलुकको कार्यकारी प्रमुखको जिम्मेवारी सम्हालेपछि कानुन मन्त्रालयको जिम्मेवारी पाएका शेरबहादुर तामाङले यसअघि पदबाट राजीनामा गरेका थिए ।

२०७४ को चैत २ गते मन्त्रीको जिम्मेवारी सम्हालेका उनले २०७५ को साउन ४ मा बंगलादेशमा पढ्ने छात्राबारे दिएको अभिव्यक्ति विवादमा आएपछि ६ गते पदबाट राजीनामा दिएका थिए । शेरबहादुर देउवा नेतृत्वको सरकारमा सहभागी राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका नेता दिलनाथ गिरी प्रधानमन्त्रीसँग विवाद गरेपछि २०७४ पुस १७ गते सहरी विकासमन्त्रीको जिम्मेवारीबाट मुक्त भए ।

सुशील कोइराला नेतृत्वको सरकारमा कृषिमन्त्रीको जिम्मेवारी पाएका तत्कालीन नेकपा एमालेका नेता हरि पराजुली विवादमा तानिए । धान दिवसका अवसरमा आयोजित रोपाइँ कार्यक्रममा महिलामाथि अशिष्ट व्यवहारपछि उनले पदबाट राजीनामा गरे ।

कोइराला नेतृत्वकै सरकारमा ऊर्जामन्त्रीको जिम्मेवारी पाएकी तत्कालीन एमाले नेत्री राधा ज्ञवाली पनि आर्थिक अनियमितताको आरोप लागेपछि बर्खास्तगीमा परिन् । तत्कालीन एमाले नेता पुरुषोत्तम पौडेलले अख्तियार दुरूपयोग अनुसन्धान आयोगको पत्रपछि खेलकुदमन्त्रीबाट राजीनामा दिएका थि ए। पौडेलले पनि कोइराला नेतृत्व सरकारमै मन्त्री थिए ।

माओवादी नेता प्रभु साह २०६८ भदौ ११ गते गठित बाबुराम भट्टराई नेतृत्व सरकारमा भूमिसुधारमन्त्री बनेका थिए । विश्व हिन्दू संघका अध्यक्ष काशीनाथ तिवारीको हत्याकाण्डमा मुछिएपछि साहले असोज २९ गते पदबाट राजीनामा गर्नुपरेको थियो ।

भट्टराई सरकारका रक्षामन्त्रीको जिम्मेवारी पाएका शरतसिंह भण्डारी असोज ९ गते राजधानीमा आयोजित एक कार्यक्रममा तराईका २२ जिल्लाका जनताले छुट्टिने निर्णय गरे संविधान, कानुनले रोक्न सक्दैन भन्ने जस्ता अभिव्यक्ति दिएपछि विवादमा आएका उनले १२ गते पदबाट राजीनामा दिनुपरेको थियो ।

२०६३ माघ १ मा अन्तरिम संविधान जारी भएपछि सरकारमा सहभागी तत्कालीन माओवादीका नेता मातृकाप्रसाद यादव सरकारमा सहभागी भए । गिरिजाप्रसाद कोइराला नेतृत्वको सरकारमा वन मन्त्रालयको जिम्मेवारी पाएका यादव साउन १७ गते बाहिरन पुगे । नागरिक दैनिकबाट

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७