केहि दिन मेघ गर्जनसहित बर्षा र हिमपात, सोमबार पानी पर्ने क्रम झन बढ्ने


१० फाल्गुन २०७६, शनिबार
kathamandu

काठमाडौं, १० फागुन । पश्चिमी न्यून चापीय प्रणालीको प्रभावका कारण नेपालको मौसममा बदली आएको छ । सोही न्यून चापीय प्रणालीको प्रभावका कारण नेपालमा केहि दिन मेघ गर्जनसहित बर्षा र उच्च हिमाली भेगमा हिमपातको सम्भावना रहेको मौसमविदहरुले जानकारी दिएका छन् ।

आज (शनिबार) पनि देशका केही ठाउँमा पानी र हिउँ पर्ने मौसमविद्ले जानकारी दिएका छन् । आज पूर्व, मध्य र पश्चिमका केही ठाउँमा पानी पर्ने मौसम पूर्वानुमान महाशाखाकी मौसमविद् गंगा नगरकोटीले जानकारी दिएकी छन् ।

हिजो (शुक्रबार) देशका विभिन्न ठाउँमा हिउँ र पानी पारेको पश्चिमी वायु पूर्व पुगेकाले आज मध्य र पश्चिमको तुलनामा पूर्वका धेरै ठाउँमा पानी पर्ने सम्भावना रहेको नगरकोटीले बताएकी छन् ।

यो प्रणाली बेलुकीदेखि कमजोर हुने भएकाले राति पहाडी क्षेत्रको मौसम आंशिक बदली भए पनि अरु ठाउँको मौसम सामान्यतया सफा नै हुने उनले बताइन् । तर भोलि (आइतबार) फेरि अर्को पश्चिमी वायु नेपाल प्रवेश गर्ने भएकाले देशभर नै बादल लागेर केही ठाउँमा चट्याङसहित पानी पर्ने सम्भावना छ ।

यसैगरी पूर्वमा न्यूनचापीय प्रणाली बन्ने र बंगालको खाडीबाट जलवाष्पयुक्त हावा नेपाल आउने देखिएकाले पर्सी सोमबारदेखि पानी पर्ने क्रम बढ्ने मौसमविद् नगरकोटीको अनुमान छ । यसैबीच शुक्रबार रातिको बर्षाका कारण काठमाडौं उपत्यकाको वायु प्रदूषणको मात्रा केहि कम भएको मौसमविदले जनाएका छन् । उपत्यकाको वायुमा मिसिएको धुलो, धुँवा र धूलोका कणहरु शुक्रबार रातिको बर्षाका कारण कम भएको जनाइएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७