अन्तर जिल्ला यु–१६ क्रिकेटको उपाधि नवलपुरलाई


११ फाल्गुन २०७६, आईतवार
cricket ballhitting wickets.jpg

पोखरा, ११ फागुन । पोखरा पल्टन गण्डकी प्रदेशस्तरीय अन्तर जिल्ला यु–१६ एक दिवसीय क्रिकेट प्रतियोगिताको उपाधि नवलपुरले जितेको छ ।

पोखरा रंगशालामा शनिबार सम्पन्न खेलमा घरेलु टोली कास्कीको ‘ए’ टिमलाई ४८ रनले पराजित गरेपछि नवलपुर लिगमा शीर्षस्थान उक्लेकोे हो । पोखरा क्रिकेट एकेडेमीद्वारा आयोजित प्रतियोगितामा सहभागि पाँच टिमबीचकोे सुुपर लिगमा नवलपुरले अपराजित रहँदै आठ अंक जोड्यो । दोस्रो स्थानमा रहेको कास्कीको छ अंक थियो ।

अन्तिम तथा निर्णायक खेलमा टस जितेर व्याटिङ्ग रोजेको नवलपुरले ४६ ओभरमा सम्पूर्ण विकेट गुमाउँदै १ सय ५६ रनको योगफल तयार गरेको थियो । जितका लागि १ सय ५७ रनको लक्ष्य पछ्याएको कास्की ३५ ओभरमा १ सय ८ रनमा समेटियो । फाइनल खेलमा ह्याट्रिक गर्न सफल नवलपुरका बलर सुशील क्षेत्री म्यान अफ द म्याच भएका थिए ।

प्रतियोगितामा बाग्लुङका सुवास भण्डारी सर्वोत्कृष्ट खेलाडी भए । प्रतियोगिताभर ११ विकेट लिएका नवलपुरका स्विकार श्रेष्ठ उत्कृष्ट बलर तथा प्रतियोगिताको एकमात्र शतक प्रहार गरेका नवलपुरकै दिपक डुम्रे उत्कृष्ट व्याट्स्म्यान भए ।

जित सँगै नवलपुरले नगद २० हजार सहित ट्रफि पुरस्कार प्राप्त गरेको छ । नेपाल क्रिकेट संघका केन्द्रीय सदस्य ऋषि गौतम, कास्की जिल्ला क्रिकेट संघका अध्यक्ष सञ्जयकान्त सिग्देल, सहयोगी फरेन लिङ्क कन्सल्ट्यान्सीका प्रमुख क्षितिज तुलाचन, आयोजक एकेडेमीका उपाध्यक्ष सन्तोष कुमार श्रेष्ठ, प्रतियोगिता संयोजक चन्द्रकुमार गुरुङ्ग (जिम्मी), प्रशिक्षक रिजन प्रजु लगायतले विजयी खेलाडीलाई ट्रफि मेडल, प्रमाणपत्र वितरण गरे ।

सर्वोत्कृष्ट खेलाडी भण्डारीलाई प्याराग्लाइडिङ्ग पाइलट सविता तामाङ्गले प्याराग्लाइडिङ्ग टिकट उपहार प्रदान गरेकी छन् । आयोजक एकेडेमीका अध्यक्ष बविन कुँवरले प्रतियोगिता सफल पार्न सहयोग पुर्‍याउने सबैलाई धन्यवाद व्यक्त गर्दै प्रतियोगितालाई आगामी वर्षमा निरन्तरता दिने प्रतिवद्धता व्यक्त गरेका छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७