कोराेनाबाट ज्यान गुमाउनेको संख्या २४ सय नाघ्यो, ७७ हजार बढी संक्रमित

कोरोनाले इरान र दक्षिण कोरियामा महामारीको रुप लिंदै, कोरियाका नेपाली सुरक्षित


१२ फाल्गुन २०७६, सोमबार
korona3

बेइजिङ, १२ फागुन । विश्वका लागि चिन्ताको रुपमा फैलिइरहेको कोरोना (कोभिड–१९) भाइरसको संक्रमणबाट हालसम्म दुई हजार चार सय भन्दा बढीको ज्यान गइसकेको छ । यस्तै कोरोनाबाट ७७ हजार भन्दा बढी मानिस प्रभवित रहेको जनाइएको छ ।

चीनको बुहानबाट शुरु भई फैलिएको कोरोनाले इरान र दक्षिण कोरियामा महामारीको रुप लिन थालेको छ । इरानमा कोरोना भाइरसका कारण आठ जनाको मृत्यु भएको छ । ४३ जनामा भाइरसको संक्रमण देखिएको इरानी अधिकारीहरुले बताएका छ्न् ।

भाइरसको संक्रमण बढ्दै गएपछि इरानले सीमामा कडाइ गर्नुका क्वारेन्टाइनको व्यवस्था गरेको छ । तीव्र गतिमा फैलिइरहेको महामारीको संक्रमण रोक्नका लागि टर्की, पाकिस्तान, अफगानिस्तन र अर्मेनियालगायतका देशहरुले सीमामा कडाइ गर्नुका साथै नागरिकहरुलाई आवतजावत नगर्न सचेत गराएका छन् ।

गत बुधबार इरानको क्युम शहरमा पहिलो पटक देखा परेको भाइरसको संक्रमण फैलन थालेपछि अधिकारीहरुले त्यसको नियन्त्रणका लागि विभिन्न उपायहरु अपनाइरहेको समाचारमा जनाइएको छ ।

भाइरसको संक्रमण बढ्दै गएपछि इरानका शिक्षण संस्थाहरु बन्द गराइएको छ भने सर्वसाधारणको बढी जमघट हुने स्थानमा मानिसको उपस्थिति ह्वातै घटेको छ ।
संक्रमितहरुको उपचारका लागि इरानले २० भन्दा बढी स्वास्थ्य संस्थाहरुको व्यवस्था गरेको समाचारमा जनाइएको छ । तर स्वास्थ्यकर्मीहरुले भने अस्पतालमा उपकरणको अभावका कारण उपचार प्रभावित भएको जनाएका छन् ।

दक्षिण कोरियामा कोरोना भाइरसको कारण आइतबारसम्ममा पाँच जनाले ज्यान गुमाएका छन् भने ५५६ जनामा संक्रमण भएको पुष्टि भएको दक्षिण कोरियन समाचार द कोरिया हेरल्डमा उल्लेख छ ।

त्यस्तै स्वास्थ्यउपमन्त्री किम गा लिपका अनुसार ६ ३९ जनाले स्वास्थ्य परीक्षण गराइ रिपोर्ट कुरिरहेका छन् भने १८ जना उपचारपछि निको भई घर फर्किएका छन् । उपमन्त्री किमले कोरोना गम्भीर चरणमा प्रवेश गरेका भन्दै नागरिकहरुलाई सजग रहन अपील गरेका छन् ।

तर अहिलेकै अवस्थामा कोरियामा रहेका नेपालीहरु आत्तिहाल्न नपर्ने कोरियामा रहेको नेपाली दूतावासका श्रम सहचारी डिल्लीराम बास्तोलाले बताएका छन् । कोरियामा ४२ हजारको हाराहारीमा नेपाली रहेका छन् ।

बास्तोला भन्छन्, ‘नेपाली काम गर्ने कम्पनीले सुरक्षाका उपाय अपनाएका छन्, बाहिर निस्कन दिएको छैन, कोरोना भाइरसबाट बच्नको लागि आबश्यक सुरक्षा उपायको बारेमा कक्षा पनि भइरहेकोले प्राप्त जानकारी अपनाएमा आत्तिहाल्नु पर्ने अवस्था छैन, तर सचेत रहन भनेका छौं, सचेत रहनु हुन्छ ।’

दूतावासले विज्ञप्ति निकालेर कोरोना भाइरसको शंका लागेमा कोरियाको सार्वजनिक स्वास्थ्य संस्थाहरुमा गई स्वास्थ्य परीक्षण तथा उपचार गर्न आग्रह गरेको छ । बिरामीको कानुनी हैसियतबारे केही नसोध्न कोरियाको अध्यागमन विभागले अस्पतालहरुलाई निर्देशन दिएकोले ढुक्क भएर परीक्षण गर्न दूतावासले आग्रह गरेको छ ।

दूतावासले कोरोना संक्रमण बढिरहेको देगु लगायत आसपासका क्षेत्रमा रहेका नेपालीहरुलाई विशेष सतर्कता अपनाउन भनेको छ । कोरियन सरकारले धार्मिकस्थल तथा भीडभाड हुने ठाउँमा नजान, अनिवार्य मास्कको प्रयोग गर्न, पञ्जा लगाउन, कुनै पनि काम गरिसकेपछि साबुन पानीले हात धुन, बाहिरबाट आएका मानिससँग हात नमिलाउन भनेको छ । अहिले सरकारले काम गर्ने कम्पनी होस् या विद्यालय लगायत हरेक कार्यालयमा सुरक्षित हुनका लागि विभिन्न कक्षाहरु पनि सञ्चालन गरिंदैछ ।

सार्वजनिक यातायात चढ्दा र झर्दा केमिकलले अनिवार्य हात धुने व्यवस्था गरिएको छ । मोबाइलमार्फत सरकारले हरेक घण्टा सुरक्षित रहने उपायहरु पठाईरहेको छ । यसैबीच दक्षिण कोरियामा पनि कोरोनाले महामारीको रुप लिएको जनाइएको छ । गत डिसेम्बरमा चीनको हुबेइ प्रान्तको वुहान शहरबाट फैलिएको कोरोनाका कारण चीनपछि सबैभन्दा बढी इरानमा प्रभाव परेको छ ।

यसैबीच विश्व स्वास्थ्य संगठन डब्लूएचओले कोरोनाको संक्रमण फैलिइरहेका बेला अमेरिकाले इरानमाथि लगाएको प्रतिवन्धका कारण रोग नियन्त्रणमा समस्या हुनसक्ने भन्दै चिन्ता व्यक्त गरेको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७