जनप्रतिनिधि हुनु त यस्तो पो, आफ्नो सुविधाको पैसाले उपाध्यक्षले किनिन् दुई एम्बुलेन्स


१२ फाल्गुन २०७६, सोमबार
roshi vdc

काभ्रे, १२ फागुन । रोशी गाउँपालिकाकी उपाध्यक्ष लक्ष्मी बर्तौलाले आफूलाई सवारीसाधन खरीद गर्न छुट्याइएको बजेटले दुई एम्बुलेन्स खरिद गरेकी छिन् । गाउँपालिकाको कार्यपालिका बैठकबाट पारित गरी एम्बुलेन्स खरिद गरिएको जनाइएको छ ।

वडा नम्बर ५ र ११ मा रहने गरी दुवै वडास्थित एम्बुलेन्स सञ्चालन समितिका अध्यक्षलाई आइतबार कार्यक्रममा संविधानसभा सदस्य तीर्थ लामाले हस्तान्तरण गरेका छन् । सरकारद्वारा कर छुटसहित २१ लाख पाँच सय २० रुपैयाँमा दुई एम्बुलेन्स खरिद गरिएको हो ।

ती एम्बुलेन्सबाट रोशी गाउँपालिकाको ३५ हजार बासिन्दाका साथै नमोबुद्ध नगरपालिका, महाभारत गाउँपालिका, तेमाल गाउँपालिका तथा छिमेकी जिल्ला सिन्धुलीको सुनकोशी गाउँपालिकाका बासिन्दा लाभान्वित हुने छन् ।

उपाध्यक्ष बर्तौलाले आफ्नो सुविधा भन्दा पनि पालिकावासीको आवश्यकता मध्यनजर गरी एम्बुलेन्स खरिद गरिएको बताइन् । गाउँपालिकाले उपाध्यक्षलाई गाडी खरिद गर्न गत आर्थिक वर्षमै २६ लाख रकम रुपैयाँ छुट्याएको थियो । गाउँपालिका अध्यक्ष दलबहादुर लामाले उपाध्यक्षले उदाहरणीय काम गरेको बताए ।

बर्तौलाले गाउँपालिकाको उपाध्यक्ष निर्वाचित भएदेखि नै गाउँपालिकाको कुनै पनि सवारीसाधन प्रयोग गरेकी छैनन् । ‘अध्यक्षको गाडी अहिलेसम्मा दुई पटक मात्रै चढेको छु, मैले निर्वाचित भएदेखि नै घरबाट गाउँपालिका कार्यालय आउन जान सार्वजनिक यातायात प्रयोग गर्दै आएको छु,’ उनले भनिन् ।

भौगोलिकताले विकट एवं पहाडी भूभाग भएकाले गाउँपालिकाका बासिन्दाले समयमै उपचार पाउन् भन्ने उद्देश्यले आफ्नो सवारी बजेटबाट एम्बुलेन्स खरिद गर्न लगाएको उनले बताइन् । ’म जनताको सेवा गर्न निर्वाचित भएकी हुँ, म जहाँ पनि हिँडेर पुग्न सक्छु, तर गर्भवती र बालबालिका तथा वृद्धवृद्धाका लागि समयमै उपचार होस् भन्ने चाहेर आफ्नो गाडीलाई छुट्याइएको रकमबाट एम्बुलेन्स खरिद गर्न लगाएकी हुँ,’ उनले भनिन् ।

उनले आफूलाई आउने इन्धन खर्चलाई पनि सामाजिक सेवामै खर्चिएकी छिन् । उनलाई वार्षिकरुपमा इन्धनबापत आउने तीन लाख रुपैयाँ टुहुरा तथा अपाङ्गता भएका व्यक्तिलाई सहयोग गरेकी हुन् । हालसम्म १४ विद्यालयका ४८ टुहुरा तथा अपाङ्गता भएका बालबालिकालाई उनीहरुको शिक्षामा सहयोग पुगोस् भन्ने उद्देश्यले जनही छ हजार दुई सय ५० रुपैयाँ सहयोग गरेको उनले बताइन् ।

गाउँपालिकाको शिक्षा शाखामार्फत गाउँपालिकामा अवस्थित ६९ सामुदायिक विद्यालयबाट थप टुहुरा तथा अपाङ्गता भएका बालबालिकाको तथ्याङ्क उपलब्ध भयो भने ती बालबालिकालाई क्रमैसँग सहयोग उपलब्ध गराइने बर्तौलाले बताइन् ।

गाउँपालिकाको न्यायिक समिति अध्यक्षलगायत विभिन्न नौ वटा समितिको संयोजकका रुपमा रहेकी गाउँपालिका उपाध्यक्ष बर्तौलाले कुनै पनि बैठकका भत्ता समेत लिन्नन् । यसअघि पाँचखाल नगरपालिकाले गत आर्थिक वर्षमा १४ वडाध्यक्षलाई सवारीसाधन खरिदका लागि छुट्याइएको बजेटबाट गत असारमा दमकल खरिद गरेको थियो ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७