अदालतमा यी १४ प्रश्नको सामना गरे डा. केसीले


२५ पुष २०७४, मंगलवार
kc
?????????????????????????????????????????????????????????

काठमाडौं: त्रिवि शिक्षण अस्पतालका प्रा. डा. गोविन्द केसीलाई सोमबार बेलुका सर्वोच्चको आदेशमा अनस्थलबाटै प्रहरीले पक्राउ गरी टेकु लगेको थियो । डा.केसीलाई मंलबार बिहानै अदालतमा हाजिर गराइएको थियो । डा.केसीले सर्वोच्च अदालतका न्यायाधीश ओमप्रकाश मिश्र र केदारप्रसाद चालिसेको इजलासमा १४ प्रश्नको साना गरेका छन् । अदालतले लिएको बयानमा डा. केसीले आफूले नभई प्रधानन्यायाधीश गोपाल पराजुलीले अदालतको अवहेलना गरेको बयान दिएका छन् । उनले अदालतमा सोधेको प्रश्नको सामना यसरी गरेका छन् । उनले सामना गरेको प्रश्न

kc
फाइल तस्बिर

प्रश्न १ः हजुरको बाजे, बुबाको नाम थर वतन र हजुरको नाम थर बतन र पेसा व्यवसाय खुलाई दिनुहोस् ?
उत्तर: मेरो हजुरबुबाको नाम नरबहादुर, बुबा उदयबहादुर र मेरो नाम डा। गोविन्द केसी हो । पेसाले चिकित्सक हुँ । वर्ष ६१ को भएँ ।

प्रश्न २ः हजुरको स्वास्थ्य स्थिति के कस्तो छ रु कुनै शारीरिक र मानसिक रोग छ छैन रु आज इजलाससमक्ष बयान दिन सक्नुहुन्छ या हुँदैन ?
उत्तर: म हिजोदखि अनसनमा रहेको हुँदा मुटुको धड्कनमा आफूलाई महसुस हुने बढेको छ । छाती दुखेको छ । अरू कुनै शारीरिक र मानसिक रोग छैन । बयान दिन सक्छु ।

प्रश्न ३ः तपाईँ आज यस सर्वोच्च अदालतमा किन उपस्थित हुनु भएको हो ?
उत्तर: मलाई पक्राउ गरेर उपस्थित गराइएको छ । कुन कानुनअन्तर्गत के अपराधमा पक्राउ गरेर ल्याइएको हो मलाई थाहा दिइएको छैन र पनि तपाईँले सोधेको प्रश्नको जवाफ दिन तयार छु ।

प्रश्न ४ः हजुरले आफ्नो कुनै कानुन व्यवसायी यस मुद्दामा राख्नु भएको छ छैन ?
उत्तर: छ

प्रश्न ५ः यस प्रतिवेदनमा पेस भएको समाचार सामाग्री तथा प्रेस विज्ञप्ति देखाई सोधिन्छ, यो व्यहोरा तपाईँको हो होइन ? तपाईँले भन्नुभएको कुरा अशिष्ट, अमर्यादित र अदालतको अवहेलनाजनक हो भन्ने तपाईँलाई लाग्छ लाग्दैन ? बताई दिनुहोस् ।
उत्तर: अनलाइन र सेतोपाटीलगायतका खबर पत्रिकाका बारेमा म भन्न सक्दिनँ र प्रेस विज्ञप्ति मिति २०७४।९।२४ मा मैले नै प्रेषित गरेको हो । यो विज्ञप्ति अदालतको अवहेलना हुनेगरी अशिष्ट, अमर्यादित तवरले प्रकाशित गरेको होइन । अदालतप्रति सम्मान छ । अदालतको अवहेलना गरेजस्तो मलाई लाग्दैन ।

प्रश्न ६ः तपाईँले के कति आधार र कारणबाट यस्तो अभिव्यक्ति दिनुभएको हो ?
उत्तर: श्री सर्वोच्च अदालतका समान्नित प्रधानन्यायाधीश श्री गोपालप्रसाद पराजुलीले गर्नुभएको कतिपय निर्णय र कार्यहरूले न्यायको मानमर्दन भएकाले मैले प्रेस विज्ञप्ति प्रकाशित गरेको हुँ ।

प्रश्न ७ः तपाईँले सवाल ६ को जवाफमा सम्माननीय प्रधानन्यायाधीश गोपाल पराजुलीले गर्नुभएको कतिपय निर्णय र कार्यहरूले न्यायालयको मानमर्दन भएको भन्नुभयो । यसको पुष्टि गर्ने आधारहरू केही छ ? खुलाई दिनुहोस् ।
उत्तर: यसमा मैले भन्नुपर्दा प्रेस विज्ञप्तिमा (पाना ४० उल्लेख भएका मुद्दाहरू नै मेरा आधार र कारण प्रष्ट्याउन पर्याप्त छन् । सो का अलावा पाना २ को मिति २०७४।९।२५ को दस्ताबेजको विवरण पेस गरेको छु, त्यसले वास्तविकता प्रष्ट्याउनेछ । अनलाइनबाट प्राप्त ३ प्रति नागरिकता समेतको प्रतिलिपि पेस गरेको छु । सोलाई आधार मानी पाउँ । सो नागरिकता सम्माननीय प्रधानन्यायधीशको हो ।

प्रश्न ८ अदालतले संविधान कानुन र न्यायका मान्य सिद्धान्त अनुसार न्याय सम्पादन गर्दछ भन्ने तपाईँलाई थाहा छ छैन ? अदालतको आदेश फैसलाप्रति घृणा सिर्जना गर्ने अभिव्यक्तिले अदालतको अवहेलना हुने र सजाएँ समेत हुन्छ भन्ने तपाईँलाई थाहा छ छैन ? खुलाई दिनुहोस् ।
उत्तर: अदालतको अवहेलनामा सजाएँ हुन्छ भन्ने विषयमा मलाई थाहा छ । सही न्याय सम्पादन गर्ने न्यायाधीशहरुलाई म सम्मान गर्दछु । अदालतलाई घृणा हुने अभिव्यक्ति मैले दिएको छैन ।

प्रश्न ९ः तपाईँले आफ्नो प्रेस विज्ञप्तिमा भ्रष्ट र माफिया प्रधानन्यायधीश भनी उल्लेख गर्नुभएको छ । यो अदालतप्रति घृणा सिर्जना गर्ने र अदालतको अवहेलना हुनेखालको हैन र ? हजुरको यस्ता शब्दले अदालतको सम्मान हुन्छ ?
उत्तर: यसको जवाफका लागि आधार र कारणसहित कागजात सावाल ७ मा पेस गरेको छु । त्यसैलाई आधार मानी पाऊँ । गलत निर्णय र कार्य गर्ने न्यायाधीशको बारेमा बोल्दा अदालतको अवहेलना होइन सम्मान मिल्छ ।

प्रश्न १०ः तपाईँले अदालतको आदेश र फैसलाप्रति चित्त नबुझे मर्यादित ढङ्गले असहमति व्यक्त गर्न सकिने अवस्थामा अदालतप्रति जनमानसमा भ्रम पर्ने गरी अशिष्ट र लाञ्छनायुक्त अभिव्यक्ति प्रकट गर्नुका कारण के हो ? प्रस्ट पार्नु हुन्छ कि ?
उत्तर: मैले अदालतप्रति सम्मान व्यक्त गर्दछु । मैले पेस गरेको प्रकरण ७ अर्थात् जवाफमा पेस गरेका कागजात नै पर्याप्त छ, मैले भावननाले बगेर बोलेको होइन । मेरो प्रयासले अदालत र जनमानसमा राम्रो प्रभाव परोस् भनी भनेको हुन्छ । अशिष्ट र लाञ्छनायुक्त छैन ।

प्रश्न ११ः तपाईँ नागरिक समाजको अगुवा भन्नुहुन्छ । अदालतको आदेश वा फैसलाउपर पुनरावेदन, पुनरावलोकन गराउनेतर्फ तपाईँले के गर्नुभयो ? के तपाईँले सम्बन्धित निकायमा अनुरोध गर्नुभयो ?
उत्तर: म नागरिक समाजको अगुवा भनेर कहिले पनि भनेको छैन । म सामान्य सचेत नागरिक हुँ । म मुद्दाको पक्ष विपक्ष नभएकाले पुनरावेदन र पुनरावलोकन लगायतका कानुनी प्रक्रियामा जाने कुरा भएन । सचेत नागरिक भएकाले स्वास्थ्य आलोचना मात्र गरी अदालत लगायत समाज घच्घच्याएको हुँ ।

प्रश्न १२ः के तपाईँको चाहना अदालतको मुद्दामा तपाईँले नै भनेवमोजिम फैसला हुनुपर्छ भन्ने हो ? होइन भने सर्वोच्च अदालतको आदेश फैसलाप्रति किन असहिष्णु हुनुभएको हो ? खुलाई दिनोस् ।
उत्तर: न्याय सम्पादन राम्रो हुनुपर्दछ । न्याय सबैले पाउनुपर्दछ । मेरो पक्षमा मात्र फैसला हुनुपर्दछ भनी मैले भन्न खोजेको होइन । न्यायमा विकृतिहरू भित्रिएको देखेर शुद्धीकरणको लागि बोलेको हुँ । सही फैसला आएको भए आलोचना गर्नुपर्ने थिएन । फैसलाको आलोचना गर्नु अदालतको अवहेलना होइन ।

प्रश्न १३ः मुलुकमा लोकतन्त्र र विधिको शासन स्थापित गराउन महत्त्वपूर्ण भूमिका खेलिरहेको न्यायपालिका विरुद्ध अमुख मुद्दामा भएको आदेशका कारण अनर्गल अभिव्यक्ति दिनु हुँदैन भन्ने दायित्वबोध तपाईँलाई छ छैन ?
उत्तर: मुलुकमा लोकतन्त्र र विधिको शासन स्थापित गराउनु नै यो मेरो प्रयास हो । मैले दिएका अभिव्यक्ति अनर्गल होइन । तीन करोड नेपालीलाई प्रत्यक्ष असर पर्नेगरी संविधानप्रदत्त स्वास्थ्य रहेर जिउन पाउने नैसर्गिक अधिकारमा हनन हुने फैसला भएकाले मैले सबैलाई सचेत गराउन खोजेको मात्र हुँ । मैले न्यायपालिकाविरुद्ध बोलेको होइन । लोकतन्त्र र विधिको शासन स्थापित गराउनु नै मेरो यो अभिव्यक्ति हो र सचेत नागरिकको दायित्व पनि हो ।

प्रश्न १४ः यस सवाल १ देखि १४ सम्म पढीबाची सुनाइन्छ कि यसविषयमा तपाईँको अरू भन्नु केही छ कि ?
उत्तर: मेडिकल कलेज सम्बन्धी सुधारको लागि मैले विगत डेढ दशकदेखि गर्दै आएको प्रयास हो । स्वास्थ्य र चिकित्सा क्षेत्रका लागि आन्दोलन जारी राखेको छु । स्वास्थ्य र चिकित्सा मा भएको सम्मानित सर्वोच्च अदालतको आदेशले माफियाहरूले प्रश्रय पाउने र सुधारको साटो विकृति आउने देखी मैले प्रेस विज्ञप्तिसमेत निकाली अनसन बस्नु परेको हो । यो बयानको क्रममा समेत अनसनमा छु । मलाई सुधारको प्रयास गर्दा गर्दै यसरी एक्कासि प्रहरीको सहयोग लिई अदालत समय बयानका लागि ल्याइएको छ । यस अदालतबाट भएको आदेशमा निजी मेडिकल कलेजले प्रश्रय पाउने, गुणस्तरहीन स्वास्थ्यकर्मी उत्पादन हुने र स्वास्थ्य क्षेत्रमा विकृति विसंगति आई ३ करोड नेपालीको स्वास्थ्य र जीउधनप्रति खेलबाड भइरहेकाले यस्तो आदेश गर्ने न्यायाधीशविरुद्ध लड्नु मेरो कर्तव्य हो । मेरो भनाइ गलत निर्णय दिने न्यायाधीशविरुद्ध हो, न्यायलयविरुद्ध होइन ।

गरिमामय पदमा रहेको प्रधानन्यायाधीशले न्याय सम्पादन गर्दा जनतालाई न्यायको अनुभूति दिन सक्ने न्याय सम्पादन र न्याय प्रशासनको नेतृत्व निश्पक्ष ढङ्गले सञ्चालन गर्नुपर्ने आर्दशवादी, अनुकरणीय व्यक्ति हुनुपर्नेमा नागरिकतासम्बन्धी विवाद, चूडामणिसम्वन्धी राजस्व छली, आयल निगम, एनसेल, भूमाफिया र नातावादसम्बन्धी लगायतका क्रियाकलाप गर्दा न्यायपालिकाको आस्था, गरिमा र स्वाधीनतालाई चुनौती दिएका कारणले निजबाटै अदालतको अवहेलना भएकाले निजउपर अदालतको अवहेलनामा कारबाही हुनुपर्ने हो । म उपर लगाएको आरोप झुठ्ठा हो । मैले अदालतको अवहेलना गरेको छैन । निज सम्माननीय प्रधानन्ययाधीश गोपाल पराजुलीलाई न्यायिक छानबिनको दायरामा ल्याई कारबाही गरी न्यायालयको गरिमाको वृद्धि हुन्छ । अदालत जनताको आस्थाको केन्द्र बन्छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७