कोरोना त्रास : सहकर्मीको मृत्यु भएपछि दक्षिण कोरियाका नेपालीमा असुरक्षा महसुस

कोरोना फैलिने क्रम तीब्र, सातको मृत्यु, ७६३ जना संक्रमित


१२ फाल्गुन २०७६, सोमबार
korona korea 2

सोल, १२ फागुन । कोरियाको थेगुमा आफूसँगै काम गर्ने एक कोरियन नागरिकको कोरोना भाइरसका कारण मृत्यु भएपछि अहिले सो कम्पनीमा काम गर्ने नेपाली त्रासमा छन् ।

गत शनिबार कोरोना भाइरसका कारण कोरियास्थित एक मोटर पार्टस् कम्पनीका कोरियन चालकको मृत्यु भयो । सँगै काम गरिरहेका कोरियन साथीको कोरोना भाइरसका कारण ज्यान गएपछि सोही कम्पनीमा काम गर्ने १६ जना नेपाली अहिले स्वदेश त्रासमा छन् । उनीहरु स्वदेश फर्किन चाहिरहेका छन् । आफ्नै सहकर्मीको कोरोना भाइरसका कारण मृत्यु भएपछि उनीहरुले आफूलाई असुरक्षित महसुस गर्न थालेका हुन् ।

एक कामदारले थेगुबाट मेसेन्जर कुराकानीमा भने, ‘यदि उहाँबाट अरुलाई पनि सरेको छ भने हामीलाई पनि सर्ने खतरा हुन्छ ।’ सहकर्मीको मृत्यु भएपछि काममा फर्किने कि नफर्किने भनेर आफूहरु अन्योलमा रहेको उनले बताएका छन् । कम्पनीले काममा आउन आग्रह गरेपछि १६ जना फर्किने–नफर्किनेबारे एअर्कासँग परामर्श गरिरहेका छन् ।

कम्पनीले भने आफ्नो एक कामदारको मृत्यु भए पनि काम रोकेको छैन । अहिले मृत्यु हुने व्यक्तिसँग धेरै सम्सर्गमा रहेका केही कोरियन कामदारलाई ‘सेल्फ क्वारेन्टाइन’ मा बस्न भनिएको छ । नेपाली कामदारलाई पनि कम्पनीले सकेसम्म बाहिर नजान आग्रह गरेको छ । साथै कुनै शंका लागेमा तुरुन्त सम्पर्क गर्नलाई ‘टोल फ्री’ नम्बर दिइएको छ ।

कम्पनीले नेपालीहरुलाई ‘सेल्फ क्वारेन्टाइन’ मा बस्न भनेको छैन । उनीहरु पहिल्यै जसरी एउटा कोठामा तीनजना बस्दै आएका छन् । उनीहरुले स्वदेश फर्किन चाहेको भन्दै सियोलस्थित नेपाली दूतावासलाई खबर गरेका छन् । दूतावासले छलफल गरेर खबर गर्ने जानकारी गराएको ती कामदारले जानकारी गराएका छन् । थेगुमा रहेका सात हजार नेपालीहरु अहिले त्रसित अवस्थामा छन् ।

उनीहरु अहिले बाहिर हिंडडुल गर्दा, काम गर्दा वा कोठामा बस्दा समेत मास्क र पञ्जाको प्रयोग गर्न थालेका छन् । कोरियामा रहेका नेपाली अहिले आफ्नै साथीबाट संक्रमण सर्ला कि भन्ने चिन्तामा रहनु पर्ने अवस्था रहेको जनाइएको छ । एकले अर्कोबाट असुरक्षित महसुस गनुपर्ने अवस्था रहेको कोरियाका नेपालीको भनाई छ ।

बढ्दै संक्रमण

दक्षिण कोरियामा प्राणघातक कोरोना भाइरसको प्रकोपलाई रोक्न राष्ट्रपतिले ‘अभूतपूर्व, शक्तिशाली’ कदमहरूको लागि आह्वान गरेका छन् । तर पनि यस भाइरसबाट सङ्क्रमितको संख्या बढेको सोमबार प्राप्त समाचारमा जनाइएको छ ।

केही दिनदेखि सङ्क्रमितहरुको संख्या बढ्दै गएकोमा दक्षिण कोरियामा आइतबार थप १६१ जनामा थप सङ्क्रमण देखिएको छ । दक्षिण कोरियामा कुल सङ्क्रमितको संख्या ७६३ पुगेको सोमबार जनाइएको छ । त्यसैबीच कोरोना भाइरसबाट थप दुई जनाको मृत्यु भएपछि यस प्रकोपबाट मृत्यु हुने व्यक्तिको संख्या सात पुगेको अधिकारीहरुले जानकारी दिएका छन् ।

चीनमा मृत्यु हुनेको संख्या दुई हजार ५९२

कोरोना भाइरसको सङ्क्रमणबाट चीनभरी मृत्यु हुने व्यक्तिको संख्या दुई हजार ५९२ पुगेको चिनियाँ स्वास्थ्य अधिकारीहरुले सोमबार जनाएका छन् ।

गत वर्षको अन्त्यमा चीनको हुबेई प्रान्तको उहान सहरबाट शुरु भएको यस भाइरसका कारण मृत्यु हुने व्यक्तिको संख्या वृद्धि भए तापनि सङ्क्रमितको संख्यामा भने कमी आएको चिनियाँ सरकारले जनाउँदै आएको छ । तर गत चार दिनदेखि यस रोगबाट ज्यान गुमाउने व्यक्तिको संख्या लगातार करिब १०० रहेको जनाइएको छ । पछिल्लो चार दिनदेखि ज्यान गुमाएका यी व्यक्तिहरु सबै हुबेइ प्रान्तका रहेका छन् ।

भाइरसको शुरुवात भएको प्रमुख स्थानका रूपमा रहेको हुबेई प्रान्तमा यस भाइरसबाट बढी नागरिक प्रभावित छन् । यस भाइरसबाट ८० प्रतिशत सङ्क्रमित र मृत्यु हुने व्यक्तिमा ९५ प्रतिशत हुबेइ प्रान्तको रहेका छन् । दक्षिण कोरियाली राष्ट्रपति मुन जाय–इनले कोरोना भाइरस नियन्त्रणका लागि देशभरी सबैभन्दा उच्च सतर्कता अपनाइएको बताएका छन् ।

सङ्क्रमित हुनेको संख्या एकाएक अत्यधिक तीब्र गतिमा बढ्न थालेपछि सतर्कता बढाइएको उनले आइतबार जानकारी दिएका थिए । आगामी केही दिन सङ्क्रमणकालीन अवस्था रहने भएकाले नियन्त्रण तथा उपचारमा पर्याप्त ध्यान दिनुपर्ने उनको भनाइ छ ।

राष्ट्रपति मुनले भाइरस नियन्त्रणका लागि अपनाउनुपर्ने उपायका बारेमा छलफल तथा तयारी भइरहेको पनि जानकारी दिए । ‘सरकारले भाइरस नियन्त्रणका लागि पर्याप्त गृहकार्य र सतर्कता अपनाएको छ, ती सबै काम विज्ञको सुझावका आधारमा गरिएको छ’, उनले भने ।
इरानमा १२ जनाको मृत्यु
इरानमा फैलिएको कोरोना भाइरसका कारण सोमबारसम्ममा मृत्यु हुनेको व्यक्तिको संख्या १२ पुगेको संसदका एक प्रवक्ताले बताएका छन् ।

संसदको बन्द सत्रमा सरकारी अधिकारी असादुल्लाह अब्बासीको भनाई उद्धृत गर्दैै अर्ध सरकारी समाचार संस्था इस्नाले भाइरसको सङ्क्रमण ४७ जनामा देखिएको जनाएको छ ।

अफगानिस्तान, बहराइन र कुवेतमा पनि सङ्क्रमण
एएफपीका अनुसार अफगानिस्तान, बहराइन र कुवेतमा कोरोना सङ्क्रमित व्यक्ति फेला परेको छ । कुवेतमा फेला परेका सङ्क्रमित तीन व्यक्ति इरानबाट आएको स्थानीय स्वास्थ्य अधिकारीहरुले बताएका छन् । रासस–एपी

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७