बजारमा छ्याप्छ्याप्ती ग्याँसका अवैध सिलिन्डर


१३ फाल्गुन २०७६, मंगलवार
gass
सांकेतिक तस्वीर

नेपालगञ्ज, १३ फागुन । नेपालमा भित्र्याउन प्रतिबन्ध गरिएका साना ग्याँसका सिलिन्डर नेपालगञ्जको बजारमा खुलेआम बिक्री हुने गरेको छ । भारतसँग सीमा जोडिएको क्षेत्र भएकाले बाँकेका स्थानीय बजारमा अवैध रुपमा भित्र्याइएका साना ग्याँसका सिलिन्डरहरु बिक्री वितरण हुँदै आएको छ ।

नेपालमा साना सिलिन्डर ल्याउन नपाइने भएकाले त्यसको गुणस्तर परीक्षण र प्रमाणीकरण हुँदैन । सोमबार जिल्ला प्रशासनको नेतृत्वमा रहेको संयुक्त बजार अनुगमन समितिले ग्याँस बिक्रेतालाई लक्षित गरी अनुगमन गरेको छ । ‘उपभोक्तालाई तोकेबमोजिमको मापदण्डअनुसार ग्यास बिक्री भए–नभएको अनुगमन गरिएको हो’, वाणिज्य कार्यालय नेपालगञ्जका प्रमुख कृष्ण पौडेलले भने ।

संयुक्त बजार अनुगमन समितिले शुक्रबार पाँचवटा ग्यास बिक्रेताको पसल अनुगमन गरेको थियो । ‘अनुगमनमा तीन वटा पसलले मापदण्ड विपरीत साना ग्याँसका सिलिन्डर बिक्री गरेको पाइएको छ’, वाणिज्य कार्यालयका प्रमुख पौडेलले भने, ‘उनीहरुलाई प्रतिफर्म रु २० हजारका दरले जरिवाना गरेका छौं ।’

पुनः अनुगमन गरी निर्देशन पालना गरे–नगरेको ‘फलोअप’ पनि गर्नेछौं’, उनले भने । अनुगमनका क्रममा नेपालमा अनुमति प्राप्त ग्याँसका सिलिन्डरहरु तोकिएको तौलबमोजिम नै भेटिएको पौडेलले बताए । ‘अधिकांश ग्याँस पसलले तौल गर्ने तराजु नराखेको पाइएकाले राख्न निर्देशन दिएका छौं’, उनले भने ।

नेपालमा अनुमति नभएका साना ग्याँस सिलिन्डरको प्रयोग गर्नु जोखिमपूर्ण हुने पौडेलले बताए । ‘उपभोक्ताले पनि साना ग्याँस सिलिन्डरको प्रयोग गरी जोखिम लिनु उचित होइन’, उनले भने ।

भारतले अघोषित नाकाबन्दी लगाएका बेला बजारमा साना ग्याँसका सिलिन्डर अवैध रुपमा भित्रिएका थिए । नेपालमा ग्याँसको अभाव भएपछि त्यतिबेला उपभोक्ताहरुले भारतीय बजारमै पुगेर पनि साना सिलिन्डर खरिद गरी ल्याएका थिए । अभावका कारण नियामक निकायले समेत नेपालगञ्ज बजारमा अवैध सिलिन्डर बिक्रीमा चासो देखाएको थिएन । साना सिलिन्डरहरु उपभोक्ताले खाना पकाउन र बत्ती बाल्नका लागि प्रयोग गर्दै आएका छन् ।

साना सिलिन्डरमा ग्याँस भर्ने व्यवस्था नेपालमा छैन । व्यवसायीहरुले अवैध रुपमा ठूलो सिलिन्डरबाट सानो सिलिन्डरमा ग्यास भर्दै आएका छन् । ठूलो सिलिन्डरबाट सानोमा ग्याँस भर्दा दुर्घटनाको जोखिम समेत रहने गर्छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७