बाबुरामले भने, ‘मलगायत सबै नेताको सम्पत्ति छानबिन गरौं’


१४ फाल्गुन २०७६, बुधबार
baburam bhattrai

काठमाडौं, १४ फागुन । समाजवादी पार्टी नेपालका संघीय परिषद अध्यक्ष तथा पूर्व प्रधानमन्त्री बाबुराम भट्टराईले आफूलगायत नेताको सम्पत्ति छानबिन गर्नुपर्ने बताएका छन् ।

बुधबारको प्रतिनिधिसभा वैठकमा बोल्दै उनले भने, ‘मलगायत सबैको सम्पत्ति छानबिन गरौं,’ भट्टराईले थपे, ‘हिजो हामी त साथीहरूले दिएको जडौडी लुगा, चप्पल लगाएर हिड्थ्यौं । अहिले हामी कसरी सुटेट बुटेट भएका छौं । कसरी चिल्ला कार चढेर हिडेका छौं ।’

उनले गाउँमा बुकुरो घर भएका नेताहरूको काठमाडौंमा कसरी महल ठडियो भन्नेबारे सम्पत्ति छानबिन गर्न माग गरेका हुन् । प्रधानमन्त्री केपी शर्मा ओलीको तेह्रथुमस्थित घर जन्मदिनको दिन देखिएको उल्लेख गर्दै भट्टराईले प्रधानमन्त्रीको भन्दा गोरखामा आफ्नो घर राम्रो रहेको समेत बताए ।

‘कसरी हाम्रा महल छन् ? प्रधानमन्त्रीको अस्ति तेह्रथुमको बुकुरो हेर्दा त्योभन्दा राम्रो घर गोरखामा मेरो छ,’ उनले भने, ‘गाउँमा बुकुरो भएका हामी प्रधानमन्त्रीहरू काठमाडौंमा महल बनाउने कसरी पुग्यौं ?’

उनले आफू गणितमा चासो राख्ने र अर्थमन्त्री समेत भइसकेको व्यक्ति भएकाले जसरी हिसाब गर्दा पनि बाहिर देखिने सम्पत्तिले मात्रै नेताले काठमाडौंमा महल ठड्याउन नसक्ने बताए ।
‘म गणितमा चासो राख्ने र अर्थमन्त्री पनि भइटोपलेको मान्छे हुँ ।

लाख प्रयत्न गर्दा पनि हाम्रो दृष्य कमाइले काठमाडौंमा महल बनाउने हैसियत पुग्दैन । यसको छानबिन गरौं ।’ भट्टराईले ओली सरकारको दुई वर्ष भुइँ मान्छेका लागि कौवालाई बेल पाक्यो हर्ष नि विस्मात जस्तै भएको टिप्पणी गरे ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७