नेपाल ट्रष्ट प्रकरणमा मेरो कुनै संलग्नता छैन : देउवा


१४ फाल्गुन २०७६, बुधबार
deuwa

काठमाडौं, १४ फागुन । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति तथा पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले नेपाल ट्रष्टको जग्गा लिज प्रकरणमा आफ्नो कुनै संलग्नता नरहेको दाबी गरेका छन् ।

उनले बुधबार एक प्रेस विज्ञप्ति जारी गर्दै आफू प्रधानमन्त्री रहेको मन्त्रिपरिषद्बाट यससम्बन्धी कुनै निर्णय नभएको दाबी गरेका हुन् । ट्रष्ट प्रकरणमा मुर्छिपछि उनले आफू संलग्न नभएको निर्णयमा नाम जोडेर गरिएको प्रचारप्रति आपत्ति जनाएका छन् ।

‘म प्रधानमन्त्री रहेको मन्त्रिपरिषद् वा मेरो संलग्नतामा अन्य कुनै पनि निकायबाट नेपाल ट्रष्टको जग्गा लिज सम्बन्धमा कुनै निर्णय भएको छैन । मेरो सहभागिता बेगर भएको कुनै पनि निर्णयमा मेरो नाम जोडेर गरिने या गरिएका प्रचारप्रति मेरो गम्भीर आपत्ति छ’, उनले जारी गरेको विज्ञप्तीमा भनिएको छ ।

उनले ०६४ मा नेपाल ट्रष्ट ऐन जारी हुँदा ट्रष्टलाई ‘एक अविच्छिन्न उत्तराधिकारवाला स्वशासित र संगठित संस्था’ का रूपमा परिभाषित गरेको स्मरण गराउँदै बोर्डले गर्ने निर्णयमा प्रधानमन्त्रीका रूपमा आफूलाई गाँस्नु राजनीतिक र कानुनी दृष्टिले गलत रहेको जिकिर गरेका छन् ।

‘प्रथमतः ०६४ मा नेपाल ट्रष्ट ऐन जारी हुँदा ट्रस्टलाई एक अविच्छिन्न उत्तराधिकारवाला स्वशासित र संगठित संस्थाका रूपमा ऐनले नै परिभाषित गरेको थियो’, विज्ञप्तिमा भनिएको छ, ‘अतः यसको बोर्डले गर्ने या गरिएका एवं निश्चित कर्मचारी तहबाट हुने या भएका कुनै पनि निर्णयमा प्रधानमन्त्रीका रूपमा मलाई गाँस्नु राजनीतिक र कानुनी दृष्टिले समेत गलत छ ।’

सभापति देउवाले लिज प्रकरणलाई आफूले सेक्युरिटी प्रिन्टिङ प्रेस खरिद प्रकरणमा सार्वजनिक भएको ‘७० करोड’ को अडियो, नेपाल ट्रष्टअन्तर्गतकै गोकर्ण फरेस्ट रिसोर्टको लिज प्रकरणमा गरिएको गम्भीर अनियमितता एवं अन्य प्रकरणबाट ध्यान मोड्ने प्रयत्नका रुपमा लिएको पनि उल्लेख गरेका छन् ।

नेपाल ट्रष्टका अध्यक्ष एवं उपप्रधान तथा रक्षामन्त्री ईश्वर पाखरेलले बुधबार श्वेतपत्र जारी गर्दै ताहाचाल सोल्टी आउटर कम्प्लेक्सको जग्गा थामुसेर्कु ट्रेकिङलाई लिजमा दिने प्रस्ताव स्वीकृत गर्दा तात्कालिन प्रधानमन्त्री शेरबहादुर देउवा ट्रष्टको संरक्षक र गृहमन्त्री जनार्दन शर्मा अध्यक्ष रहेको उल्लेख गरिएको थियो ।

cong

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७