सेनाका १० प्रतिशतलाई शान्ति मिसनमा पठाइने


१४ फाल्गुन २०७६, बुधबार
un mission mahila 2

काठमाडौं, १४ फागुन । नेपाली सेनाका १० प्रतिशत जनशक्तिले शान्ति मिसनको अवसर पाउने भएका छन् ।

रक्षा मन्त्रालयले नेपाली सेनाको १० प्रतिशत जनशक्तिलाई संयुक्त राष्ट्र संघको शान्ति मिसनमा खटाउने तयारी थालेको जनाएको छ । उपप्रधानमन्त्री एवं रक्षा मन्त्री इश्वर पोखरेलले बुधबार मन्त्रालयमा दुई वर्षे कार्यकालको प्रगति सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा संयुक्त राष्ट्रसंघको शान्ति सेनामा १० प्रतिशत सेना खटाउने विषयमा छलफल भइरहेको जानकारी गराएका छन् ।

उनले विदेशी मिसनमा जाँदा नेपाली सेनाले पनि नेतृत्व तहमा जिम्मेवारी पाउने विषयमा समेत राष्ट्रसंघसँग छलफल भइरहेको बताएका छन् । संयुक्त राष्ट्रसंघ शान्ति सेनामा नेपालबाट पाँच हजार एक सय सैनिक अधिकृत र जवानहरुको सहभागिता छ ।

नेपाली सेनालाई शान्ति मिसनमा पठाउँदा नेता तथा मन्त्रीका आफन्तले प्राथमिकता पाउने गरेको उल्लेख गर्दै त्यसको अन्त्य गर्नका लागि ‘शान्ति सेना छनौट कार्यविधि’ तयार गरिएको मन्त्री पोखरेलले जानकारी गराएका छन् ।

सेनाले ऐतिहासिक किल्ला, स्तम्भहरुको रक्षा गर्ने कामको शुरुवात समेत गरेको भन्दै पोखरेलले बताएका छन् । दुई वर्षको अवधिमा रक्षा मन्त्रालयले नीतिगत तथा कानुनी सुधारतर्फ उल्लेख्य कामहरु गरेको उनले बताए ।

राष्ट्रिय सुरक्षा नीति २०७३ लाई परिमार्जन गरी राष्ट्रिय सुरक्षा नीति २०७५ पारित भएको, राष्ट्रिय सुरक्षा विधेयकलाई अगाडी बढाइएको, सैनिक ऐन २०६३ मा रहेका नमिल्दा कुराहरुलाई संशोधनलगायतका नीतिगत सुधारका कामहरु भएको पोखरेलको भनाइ छ ।

सुरक्षा सम्बन्धी उच्च अध्ययन अनुसन्धान प्रतिष्ठानको रुपमा ‘नेशनल डिफेन्स युनिर्भ्सिटी’ स्थापना गर्ने प्रकृया अगाडी बढाउँदै त्यसका लागि संस्थागत संरचना निर्माणको कम सुरु भइसकेको र पूर्वाधार विकासको काम अगाडि बढाउन लागिएको जानकारी मन्त्री पोखरेलले दिएका छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७