कोरोना संक्रमित जापानी पानीजहाजबाट भारतले गर्‍यो नेपालीसहित ११९ नागरिकको उद्धार


१५ फाल्गुन २०७६, बिहीबार
diamond princess img 1
Japan China Outbreak

नयाँदिल्ली, १५ फागुन । भारतले जापानको राजधानी टोकियोबाट कोरोना भाइरस संक्रमित पानी जहाज (डायमन्ड प्रिन्सेस क्रुज) मा रहेका एक नेपालीसहित ११९ आफ्ना नागरिकको उद्धार गरेको छ ।

भारत सरकारले बुधबार क्रोरोना भाइरस संक्रमण फैलिएको क्रुज जहाजमा रहेका आफ्ना नागरिकहरुको उद्धारका लागि एअर इण्डियाको विशेष विमान जापान पठाएको थियो । उक्त जहाज १२४ यात्रु लिएर बिहीबार बिहान दिल्लीको इन्दिरा गान्धी विमानस्थलमा ओर्लेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

उद्धार गरिएका यात्रुहरुमध्ये ११९ जना भारतीय र पाँच जना विदेशी नागरिक छन् । उद्धार गरिएका पाँच जनामध्ये दुई जना श्रीलंकाली र नेपाल, दक्षिण अफ्रिका र पेरुका एक–एक जना रहेको भारत सरकारले जनाएको छ ।

‘डायमन्ड प्रिन्सेस जहामा रहेका ११९ जना भारतीयका साथै श्रीलंका, नेपाल, दक्षिण अफ्रिका र पेरुका पाँच जना लिएर टोकियोबाट उडेको एअर इण्डियाको विमान दिल्लीमा अवतरण गरेको छ,’ भारतीय विदेशमन्त्री एस जयशंकरले भारतीय समयअनुसार बिहान करिब पाँच बजे ट्वीटमा उल्लेख गरेका थिए । दिल्ली ल्याइएका भारतीयमध्ये ११३ जना पानीजहाजका चालक दलका सदस्य र ६ जना यात्रु रहेको जनाइएको छ ।

दिल्लीस्थित नेपाली दूतावासले एक जना नेपाली नागरिकको उद्धार गरिएको पुष्टि गरेको छ । दूतावासका प्रवक्ता हरि ओडारीले भारतको विदेश मन्त्रालयले टोकियोबाट उद्धार गरिएकामध्ये एक जना नेपाली नागरिक भएको जानकारी गराएको बताएका छन् । ‘हामीलाई एक जना नेपाली नागरिक रहेको जानकारी आएको छ,’ प्रवक्ता ओडारीले भने । उद्धार गरिएका ती नेपालीको परिचय भने खुलेको छैन । उनलाई दिल्ली छेउको हरियाणाको मानेसरस्थित सैनिक क्याम्पमा १४ दिनको क्वारेन्टाइनमा राखिने जनाइएको छ ।

स्रोतका अनुसार भारतीय पक्षले पानीजहाजमा रहेका अन्य देशका नागरिकहरुले यदि चौध दिनको क्वारेन्टाइन अनिवार्य रुपमा बस्न तयार हुन्छन् भने उद्धार गर्ने प्रस्ताव राखेको थियो । जहाजमा रहेका एक जना नेपाली यात्रुले त्यसमा सहमति जनाए । त्यसपछि अन्य यात्रुसहित उनलाई पनि उद्धार गरेर दिल्ली ल्याइपुर्‍याइएको हो । तर, जहाजमा अरु कति नेपाली यात्रु छन् भन्ने चाहिँ खुलेको छैन ।

४ फेब्रुअरीमा पहिलो पटक उक्त जहाजमा रहेका १० जनामा कोरोना भाइरसको संक्रमण भएको पुष्टि भएको थियो । तर, समयमै ती संक्रमितहरुको उद्धार नहुँदा जहाजमा यात्रा गरिरहेका तीन हजार सात सय यात्रुमध्ये सात सयमा कोरोनाको संक्रमण देखिएको जनाइएको । यस्तै चार जनाको मृत्यु भइसकेको छ । अमेरिकाले जहाजमा रहेका आफ्ना नागरिकहरुलाई यसअघि नै उद्धार गरिसकेको थियो ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७