१० कक्षाका विद्यार्थी चँदराले बनाए विद्युतीय गाडी, चलाएर देखाउँदा सबै दङ्ग


१५ फाल्गुन २०७६, बिहीबार
gadi

कास्की, १५ फागुन । आफ्ना छोराछोरी, विद्यालयका विद्यार्थीका हरेक सिर्जनाले विद्यालय परिवार एवं अभिभावकको मन प्रफुल्ल नहुने कुरै भएन ।

बुधबार पोखरा महानगरपालिका–२७ स्थित लिटलफ्लावर एजुकेशनल एकेडेमीका कक्षा १० मा अध्ययनरत विद्यार्थी रुपेश चँदरा खड्काले आफ्नो सिर्जना देखाएर विद्यार्थी, शिक्षक तथा अभिभावक सबैलाई दङ्ग पारे ।

विद्यालयको २७ औं अभिभावक दिवसका अवसरमा आयोजित कार्यक्रममा उनले आफैले बनाएको विद्युतबाट चल्ने गाडी (गो कार्ट) चलाएरै देखाएपछि सबैको स्यावासी मात्र पाएनन् विद्यालयले उनलाई सम्मान पनि ग–यो । उनीसँगै विद्यालयका विज्ञान शिक्षक योगराज पौडेललाई पनि कार्यक्रममा सम्मान गरियो ।

उनले बनाएको गाडी आफैले मात्रै चलाएनन् अभिभावक दिवसका प्रमुख अतिथि पोखरा महानगरपालिका–२७ का वडाध्यक्ष पूर्णकुमार गुरुङले समेत चलाए । सिकेका विषयलाई व्यवहारमा उतारेको भन्दै गुरुङले चँदराको प्रशंसा गरे ।

विज्ञान तथा प्रविधिमा रुचि राख्ने १६ वर्षीय चँदरा सामान्य परिवारका विद्यार्थी हुन् । विद्यालयमा सिकेको विषयलाई टपक्क टिप्दै त्यसलाई व्यवहारमा उतार्ने चँदरामा जिज्ञासु स्वभाव रहेको विद्यालयका प्रिन्सिपल विष्णुहरि पौडेल बताउँछन् । ‘उनी जिज्ञासु छन्, यसअघि पनि उनले डोजर, जेसिभी, हाइड्रोलिक ब्रिज, सानो गाडी आदि बनाइसकेका छन्’, पौडेलले भने ।

हरेक विद्यार्थीमा हुने सिर्जनात्मकताको विकासका लागि विद्यालय परिवार एवं अभिभावकको महत्वपूर्ण भूमिका हुने उनले बताए । विद्यालयले गुणस्तरीय शिक्षाका साथै जीवनोपयोगी व्यावहारिक शिक्षालाई प्राथमिकतामा राख्दै आफ्ना शैक्षिक कार्यक्रम अघि बढाइरहेको पौडेलले बताए ।

पर्वतको कुष्मा नगरपालिका–१ पाङ स्थायी बसोवास भई पेशा एवं व्यवसायका क्रममा चँदराको परिवार अहिले पोखरा–२७ रिठेपानीमा बस्दै आएको छ । उनका बुबा सोमबहादुर चँदराले रिठेपानीमा ग्रिल उद्योग सञ्चालन गर्दै आएका छन् । बुबाले ग्रिल उद्योग चलाएका कारण गाडी बनाउनका लागि सामग्री जुटाउन आफूलाई निकै सजिलो भएको रुपेशले बताए ।

‘झण्डै २० दिनमा तयार गरेको गाडीका सामग्री सङ्कलन गर्न मात्रै लगभग रु एक लाख २० हजार जति खर्च भएको छ’, उनले भने । आफूलाई नयाँ नयाँ सिर्जनाका लागि विद्यालय परिवारका साथै घर परिवारबाट राम्रो साथ सहयोग प्राप्त भएको उनले बताए ।

विद्यालयका विद्यार्थीको सिर्जनात्मकता आफूहरूका लागि गौरवको विषय भएको संस्थापक देवी खड्का बताउँछन् । विद्यार्थीले नयाँ नयाँ सिर्जनाका साथै विभिन्न ठाउँमा भएका प्रतियोगितामा आफूलाई अब्बल सावित गरिसकेको बताउँदै उनले उनीहरूको सिर्जनात्मकतालाई उजागर गर्दै त्यसको वातावरण निर्माणका लागि विद्यालय सधैं तयार रहेको उल्लेख गरे ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७