युएई र कुवेतले मलेसियामा हुने एशिया कप छनोट खेल्ने


१५ फाल्गुन २०७६, बिहीबार
UAE cricket team

काठमाडौं, १५ फागुन । युएई र कुवेतले मलेसियामा हुने एसिया कप छनोट खेल्ने भएका छन् । ओमानमा भइरहेको एसीसी वेस्टर्न रिजन टि-२० को फाइनलमा  पुगेपछि उनीहरुले एशिया कप छनोट खेल्ने पक्का भएको हो ।

बुधबार भएको सेमिफाइनलमा कुवेतले बहराईनलाई ८७ रनले हरायो । पहिले ब्याटिङ गरेको कुवेतले २० ओभरमा ४ विकेट गुमाउँदै २१० रन बनाएको थियो । कुवेतका लागि राभिजा सन्द्रारुवा शिल्भाले सर्वाधिक ६७ रन बनाए । यस्तै उसमान पटेलले ५८ रन जोडे भने अफसल अस्रफले अविजित ४५ रन बनाए ।


जवाफमा बहराईन १७ ओभरमा १२३ रनमा अलआउट भयो । बहराइनमा फियज अहमदले सर्वाधिक ३० रन बनाए । कुवेतका मोहमेद अस्लाम नवफरले ४ र मुहम्मद अन्सरले ३ विकेट लिए ।

यस्तै अर्को सेमिफाइनलमा युएईले कतारलाई २८ रनले हरायो । पहिले ब्याटिङ गरेको यूएईले १८।४ ओभरमा सबै विकेट गुमाएर १२२ रनमा अलआउट भएको थियो । युएईका चिराग शुरीले सर्वाधिक ३८ रन बनाए । कतारका इकवाल हुसेन चौधरिले ४ र मुहम्मद नदिमले ३ विकेट लिए ।

मध्यम लक्ष्य पछ्याएको कतार २० ओभरमा ९४ रनमा अलआउट भयो । कतारलाई अलआउट गर्न युएईका मुहम्मद जुनैदले ४ र जाहुर खानले ३ विकेट लिए । यस्तै अहेमद राजाले २ विकेट लिए । कतारका लागि तमुर सज्जादले सर्वाधिक २९ रन बनाए ।

वेस्टर्न रिजनबाट छनोट भएका दुई टिमले इस्टर्न रिजनबाट छनोट भएका दुई टिमसहित ४ टिम सम्मिलित एसिया कप छनोट खेल्नेछ । इस्टर्न रिजनमा नेपालसहित हङकङ, मलेसिया, सिंगापुर र थाइल्याण्डले प्रतिस्पर्धा गर्नेछ । राउण्ड रोविन लिगमा हुने प्रतियोगिता यही फेब्रुअरी २९ देखि थाइल्याण्डमा हुँदैछ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७