जुन दिन विवादरहित र शान्त पार्टी बन्छ त्यो दिनबाट पार्टी चाहिन्न : प्रचण्ड


१५ फाल्गुन २०७६, बिहीबार
Prachanda

काठमाडौं, १५ फागुन । सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले साम्यवाद नआएसम्म पार्टीमा भूमरी चल्ने र फुट्ने क्रम चलिरहेने बताएका छन् ।

बिहीबार राजधानीमा भएको नेकपाका बागमती प्रदेशका अगुवा कार्यकर्ताको प्रशिक्षण कार्यक्रममा बोल्दै प्रचण्डले पार्टीमा विवाद हुनु र भूमरी चल्नु सामान्य प्रक्रिया भएको बताएका छन् ।

उनले भने, ‘धेरैलाई लाग्न सक्छ, पार्टी शान्त भई दिए हुन्थ्यो । नेताहरू मिलेर हिंडे हुन्थ्यो । हामीलाई पनि त्यस्तै लाग्छ,’ प्रचण्डले थपे, ‘हामी एकतावद्ध हुन कोशिस गर्ने हो तर, जुन दिन विवादरहित र शान्त पार्टी बन्छ त्यो दिनबाट पार्टी चाहिन्न ।’

विवादरहित र शान्त भएपछि साम्यवाद आउँछ, त्यसपछि पार्टी चाहिन्न,’ प्रचण्डले भने । पछिल्लो समय नेकपाभित्र प्रचण्ड र अर्का अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीबीचको विवाद उत्कर्षमा पुगेको छ ।

बुधबार मात्रै प्रचण्डको प्रस्तावमा सचिवालयले उपाध्यक्ष वामदेव गौतमलाई राष्ट्रिय सभामा सिफारिस गर्ने निर्णय गरेपछि प्रधानमन्त्री ओली रूष्ट बनेका छन् । उनले अर्का नेता माधवकुमार नेपालसँग सचिवालयको उक्त निर्णय नमान्ने बताइसकेका छन् ।

उनले कुनै पनि हालतमा पार्टी विभाजन हुन नदिने पनि बताएका छन् । ‘पार्टी जमेको पोखरी जस्तो होइन । यो गडगडाएर जान्छ । पार्टीभित्र के हो भनेर धेरैलाई परेको छ । यो धेरै ठूलो मूल्य चुकाएर पसिना चुहाएर आएको नेतृत्व छ ।

त्यसैले विभाद भए पनि विभाजन र विघटन हुन दिन्नौ,’ प्रचण्डले भने । उनले भने, ‘कम्युनिष्टलाई दुष्मनका गोलीले लडाउन सकेन तर सत्तामा गएपछि कुशासन र भ्रष्टाचारले सकेको छ । एउटै गोली खर्च नभई कम्युनिष्ट पार्टी आफ्नै कारण सकिएका छन्,’ उनले भने ।

यसअघि सोही कार्यक्रममा नेकपा सचिवालय सदस्य माधव नेपालले पार्टीलाई विघटन र विभाजनको दिशामा जान नदिने बताएका थिए । नेपालले ७० वर्षको इतिहास बोकेको पार्टीको एकतालाई कसैले भत्काउन नसक्ने दावी गरेका थिए । ‘तपाईहरू यहाँ आउदा धेरै आशंका लिएर आउनु भएको छ । पत्रपत्रिकाको समाचारले दिमाग खराव भएको होला’ नेपालले भने ‘यहाँबाट जाँदा उर्जा लिएर जानु हुनेछ ।’

पार्टी एकतामा भइरहेको ढिलाइलाई धेरै पर धकेल्न नहुने समेत उनले बताएका थिए । राष्ट्रिय सभा सदस्य छनौटलाई लिएर बुधबारदेखि नेकपामा चरम विवाद देखिएको छ ।
अध्यक्ष तथा प्रधानमन्त्री केपीशर्मा ओली युवराज खतिवडालाई नै निरन्तरता दिने पक्षमा छन् भने अर्का अध्यक्ष प्रचण्डसहित माधव नेपाल र झलनाथ खनालले बामदेव गौतमलाई अघि सारेका छन् ।

राष्ट्रिय सभामा वामदेव जान्छन् कि ओलीको चाहनाअनुसार अहिलेका अर्थमन्त्री युवराज खतिवडा नै रहन्छन् भन्ने टुंगो नभइसकेका बेला आज नेकपाका दुबै अध्यक्ष एउटै मञ्चमा देखिएका छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७